Comments Add Comment

फूलबाट फूलजस्तै जिन्दगीः जापानबाट फर्केका युवकको संघर्ष कथा

पोखराका अब्बल व्यवसायी बने वसन्त बानियाँ

२९ मंसिर, पोखरा । जापान, धेरैको सपनाको गन्तव्य । नेपाली बिद्यार्थी अहिले पनि जापानी छात्रवृत्तिको चक्कर काट्छन् । २१ वर्षअघि बाटुलेचौरका वसन्त बानियाँले त्यसरी नै चक्कर लगाएका थिए ।

सन् १९९० मा उनी वर्किङ भिसामा जापान पुगे । त्यहाँ करिब तीन वर्ष बसेपछि माच्छापुछ्रेफेदी र फेवातालको आँगनमा बसेको पोखराको न्यास्रोले उनलाई असाध्यै सतायो । र, यतै डोर्‍यायो, गाउँघरको मायाले ।

जापान मोह बढ्दो क्रममा रहँदा उनी भने पोखरा फर्के । र, पोखरा विमानस्थल वरपर भेटिन थाले । उनी विमानस्थलको गेटमै उभिएर फूल बाँड्थे ।

विमानस्थलमा आउजाउ गर्नेलाई नमस्कार गर्दै एउटा भिजिटिङ कार्ड र एउटा फूल बाँड्दा धेरै जना चकित परे, चिन्दै नचिनेको मान्छेले यसरी स्वागत र विदाइ गर्दा कति खुशी पनि भए । जापानमा हुँदाखाँदाको काम छाडेर विमानस्थलमा फूल बाँडेर बस्दा झलकमान गन्धर्वको गाउँ बाटुलेचौरका बानियाँलाई धेरैले पागल पनि भने ।

‘मान्छेले के के भने भने, के के सोचे, सोचे । त्यो बेला सम्झँदा अहिले हाँसो लाग्छ र रमाइलो पनि,’ उनी मुस्कुराए । जापानमा फूल खेतीलाई उनले नजिकबाट नियाल्न पाएका थिए । र, स्वदेशमै फूल खेती गर्ने मनसुवा पलाएपछि आफ्नै आँगनमा फर्किएका थिए ।

‘फूल बेच्नु पाप हो भन्थे’

बानियाँले फूल खेती त शुरु गरे तर व्यापार भएन । त्यसपछि जुक्ति फुर्‍यो, विमानस्थलमा भिजिटिङ कार्ड र फूल बाँड्ने ।

‘विमानस्थलमा कतिलाई स्वागत गर्थें, कतिलाई विदाइको हात हल्लाउँथें,’ बानियाँले विगत सम्झे, ‘त्यतिबेला मान्छेलाई फूल बिक्री हुन्छ, यसबाट पनि गुजारा चलाउन, पैसा कमाउन सकिन्छ भनेर बुझाउनु थियो ।’

त्यतिबेलाको समाजमा फूल र गाईको दूध बेच्न नहुने मान्यताले घर गरेको थियो ।

अहिले उनको परिचय पोखराका अब्बल व्यवसायीमा परिवर्तन भएको छ । फूलबाटै उनको परिवार आत्मनिर्भर छ । र, फूल व्यापारको पाठशाला नै बनेको छ, उनको व्यवसाय ।

पारिजात नर्सरीका मालिक बानियाँले केही वर्षअघि मात्रै पोखरा न्युरोडमा फूल/माला बिक्री कक्ष खोलेका छन् । ‘कहाँ पहिले जमाना रह्यो र अब । पहिले फूल किनबेच हुँदा दंग पर्ने, अहिले फूलबिना कुनै कार्य नहुने भएको छ,’ उनी भन्छन्, ‘हरेक समारोहमा फूलको माग बढेको बढ्यै छ ।’

विगतमा उनलाई पागल भन्नेहरु नै अहिले सिक्न आउन थालेका छन् । र, उनीहरु पनि फूल खेती र व्यवसायमा आवद्ध भएका छन् ।

पोखराकै अगुवा किसान

पोखराको फूलखेतीका अगुवा किसान हुन्, उनी । ०४२ साल अघिसम्मको कुरा अर्कै थियो, केही धनी मानिसले घर सजाउन गमला र करेसाबारीमा लगाउँथे, फूल । पहिले सोखका रुपमा गरिने फूल खेती हिजोआज गतिलो व्यवसाय बन्दै गएकामा उनी खुशी छन् ।

‘ठूला होटेलहरुमा विवाह र समारोहमा विदेशबाट फूल ल्याउँथे । जापानमा फूलको राम्रो कारोबार देखेको थिएँ, बजार त आफैंले बनाउने हो, सफल हुन्छु भन्ने विश्वास थियो र भएँ पनि,’ बानियाँ भन्छन् ।

उनको बसन्त नर्सरीमा काम गरेका ९/१० जनाले अहिले पोखरामा फूल खेती गर्छन् ।

बानियाले खेती थाल्दा पोखरामा एक जना मात्रै फूल व्यवसायी थिए । उनले पनि यसलाई निरन्तरता नदिएपछि उनी नै अहिले पोखराको पहिलो फूल खेती गर्ने अगुवा किसान र नर्सरी व्यवसायी हुन् ।

‘शुरुमा फूल पनि किन्छन् भन्ने संस्कार रहेको पोखरामा अहिले फूल खरिद गर्ने संस्कारको विकास भएको छ,’ बानियाँ भन्छन्, ‘कामलाई निरन्तरता दिने हो भने बजार त विस्तारै बन्दै जान्छ ।’

एक सिजनमै करोडको फूल

फूल व्यवसायबाट आएको आम्दानीले नै आफ्ना सन्तानले देश/विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेको बानियाँ बताउँछन् । उनले मासिक एक लाख रुपैयाँभन्दा बढी नाफा कमाउने गरेका छन् ।

एक सिजनमै करोडभन्दा बढीको फूल बेच्छ, पोखरा ।

८० प्रतिशत भारतीय फूल आउने पोखरामा अहिले २० प्रतिशत मात्र आयात हुन्छ । यहीँको उत्पादनले मन जित्दै गएको छ । बानियाँले पोखराको अन्तर्राष्ट्रिय संग्रहालयमा पार्क डिजाइन तथा निर्माण गरे ।

यस्तै, पोखराको फेवा प्रिन्स होटेल, फिस्टेल लज, पातले छाँगोलगायत ठाउँका पार्क र नर्सरी निर्माण गरे । ती ठाउँमा पुग्दा जो कोहीको पनि मन रमाउँछ । युवायुवतीले फूललाई पृष्ठभूमि बनाएर सेल्फी खिच्छन् ।

अहिले उनी काठमाडौंमा पनि नर्सरी तथा पार्क निर्माणमा संलग्न हुन थालेका छन् । फ्लोरिकल्चर एसोसिएन नेपाल पोखराका संस्थापक अध्यक्ष पनि हुन् ।

उनको फूलबारीमा जैविक मल मात्र प्रयोग हुन्छ । जैविक विविधताको संरक्षण र प्रवद्र्धनमा पनि लागेका छन् ।

सपना विदेश निर्यातको

‘अहिलेलाई स्वदेशकै बजार पर्याप्त छ । विदेश निर्यात गर्न पनि सकिन्छ । त्यो सम्भावना टाढा छैन,’ उनी भन्छन् ।

फूल व्यवसायलाई निर्यातमुखी बनाउन गुणस्तर, मात्रा र निरन्तरता प्रमुख कुरा हुने उनको अनुभवले बताउँछ ।

भारतीय बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने समस्या विस्तारै हट्दैछ । तर, स्पष्ट सरकारी नीति अभाव, भण्डारणको समस्याले बाधा पु¥याइरहेको बानियाँ बताउँछन् ।

अहिलेको निर्वाचनमा पनि फूलको राम्रो व्यापार भएको उनी बताउँछन् । ‘सबै ठाउँमा दैनिक लाखौं रुपैयाँको फूल बिक्यो । खादा प्रयोग हुने ठाउँमा अचेल फूलको माला प्रयोग हुन थालेको छ,’ बानियाँ भन्छन्, ‘मौलाइरहेको फूलको व्यापारले उत्साह थपिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment