Comments Add Comment

युएईमा व्यावसायिक सम्भावनाको खोजी गर्दै झापाली समाज फुजेरा

युएई । झापाली समाज युएई, फुजेरा क्षेत्रीय समितिले युएईमा व्यावसायिक सम्भावना र चुनौतीहरु विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । झापाली समाजका फुजेरा क्षेत्रीय समितिका अध्यक्ष काशीनाथ कार्कीको अध्यक्षतामा १५ डिसेम्बर शुक्रबार सिल्भर स्पुन रेस्टुरेन्टमा अन्तर्क्रिया गरिएको हो ।

उक्त अन्तर्क्रियामा फुजेरा क्षेत्रमा थोरै पुँजीमा गर्न सकिने व्यावसायका बारेमा दुई जना नेपाली व्यावसायीहरुले आफ्नो अनुभव बाँडेका थिए ।
विगत दुई वर्षदेखि फुजेरामा फाइभ स्टार लन्ड्री व्यावसाय गरिरहेका देवराज न्यौपाने र सिल्भर स्पुन रेस्टुरेन्ट व्यावसायी विष्णु भण्डारीले नेपालीहरु लक्षित व्यावसाय गर्न सकिने आधारहरुबारे प्रस्ट्याएका थिए । स्थानीय कानुन र भाषाको ज्ञान भएको खण्डमा युएईका व्यावसाय गर्न सहज रहेको बताएका थिए ।

चुनौती बिनाको व्यावसाय नहुने भएका कारण व्यावसाय गर्न जति नै चुनौती रहे पनि उति नै सम्भावना रहेको आफ्नो अनुभव सुनाएका थिए । व्यावसायीहरुबीच प्रतिस्पर्धात्मक भावनाभन्दा सहकार्य, धैर्य र इमान्दारिताको आवश्यकता पर्ने बताउँदै लन्ड्री व्यावसायी न्यौपानेले व्यावसाय गर्दाका कठिनाइ, जरिवानाहरुबारे पनि सचेत गराएका थिए ।

रेस्टुरेन्ट व्यावसायी भण्डारीले युएईमा नेपाली रेस्टुरेन्ट व्यावसायको राम्रो सम्भावना भएको बताउँदै खानामा गुणस्तर, सफाई र कस्टमर सर्भिसमा ख्याल गर्नुपर्नेमा जोड दिएका थिए । रेस्टुरेन्ट व्यावसाय थोरै पुँजीमा पनि फुजेरा एरियामा सञ्चालन गर्न सकिने आफ्नो अनुभव बताएका थिए ।

झापाली समाज युएई फुजेरा क्षेत्रीय समितिका सल्लाहकार संयोजक खगेन्द्र कट्वालले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । समाजका क्षेत्रीय सचिव बरुण बरालले समाजका सदस्यहरुको व्यक्तित्व विकास गरी व्यावसायिक र उद्यमशीलताका लागि हरेक महिना विभिन्न पेसा र व्यावसायसँग सम्बधित व्यक्तित्वहरु यस्तै प्रकृतिका अन्तक्रिर्या कार्यक्रम आयोजना गर्ने बताए ।

कोषाध्यक्ष युवराज चौलागाईले झापाली समाजले सामाजिक काममा अतिरिक्त फरक-फरक क्षेत्रका अनुभव आदानप्रदान गरी नयाँ ढंगले अगाडि बढ्ने सोच राखेको जानकारी दिए ।

एकता, सहयोग र सहकार्यको मूलमन्त्र लिई अगाडि बढेको झापाली समाज, युएईको अभियानमा फुजेरा क्षेत्रका झापालीहरु नयाँ उत्साह र पृथक शैलीका साथ आएको बताउँदै समाजका परिकल्पनाकार तथा प्रवक्ता राम ढुंगेलले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।

झापाली समाजले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रम एकदमै नौलो र अत्यन्त ज्ञानबर्द्धक भएको र यस्तो कार्यक्रम पहिलो पटक भाग लिन पाउँदा आफू भाग्यमानी भएको अर्घाखाँची सम्पर्क समिति फुजेरा क्षेत्रीय अध्यक्ष मुकेश पन्थीले प्रतिक्रिया दिएका थिए ।

स्याङ्जा सहयोग समाज फुजेरा क्षेत्रीय उपाध्यक्ष झपिन्द्र बस्यालले कार्यक्रममा भाग दिएर नेपाली व्यावसायीहरुका बारेमा धेरै जानकारी हासिल गरेको बताए ।

सोही कार्यक्रममा झापाली समाज युएईको आजीवन सदस्य रिता पौडेल खड्काका क्यान्सर रोगबाट पीडित बुवाको सहयोगका लागि तीन सय दिराम संकलन गरिएको कोषाध्यक्ष युवराज चौलागाईले जानकारी दिएका छन् ।

कार्यक्रमको अन्त्यमा फुजेरा क्षेत्रमा रहेका धेरैभन्दा धेरै झापालीहरुलाई समाजको अभियानमा सरिक हुन अध्यक्ष काशीनाथ कार्कीले आग्रह गरे । साथै अध्यक्ष कार्कीले आगामी ५ जनवरीमा एनआरएन फुजेरा क्षेत्रले आयोजना गरेको जनचेतनामूलक वनभोज कार्यक्रममा सहभागी हुन फुजेरामा रहेका सबै सामाजिक संस्थाहरु र सर्वसाधारण नेपालीहरुलाई आहृवान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment