+
+

हरपतगञ्जमा जाडोको त्रास, जाडो कटाउन भत्ताकै भर

सुरेश बिडारी सुरेश बिडारी
२०७४ पुष २ गते १६:०४

२ पुस,वीरगञ्ज । हरपतगञ्जकी ६० वर्षीया एकल महिला जैनु खातुन हरेक हिउँद सरकारी भत्ताकै भरमा कटाउँछिन ।

सरकारले सामाजिक सुरक्षा भत्ताको रुपमा एकल महिलालाई दिने भत्ताले नै आफ्नो गुजारा चलाउने गरेकी उनलाई न्यानो कपडा किन्न पनि भत्ताकै भर पर्नु पर्छ ।

‘सन्तान भएर मात्रै हुँदैन रहेछ बाबु, तीन जना छोरा छन्, तीन जना छोरी छन् ।’ उनले दुखेसो गर्दै भनिन् ‘१९ बर्षअघि श्रीमान बिते, २ छोरीको भारतमा र एउटाको परवानीपुरमा विवाह भइसकेको छ । दशै अघि नै बुहारीले पनि छोडेर गईसकिन, त्यही सरकारले दिने भत्ताको भर छ ।’

खातुन जस्तै यहाँको विपन्न परिवारलाई जाडोको त्रास नै छ । आफ्नो ल्याकतले जाडोबाट जोगिन नसक्ने भएकोले उनीहरु राहत र भत्तामा भर पर्ने गरेका छन् ।

कम्बलको न्यानोः विपन्न परिवारको खुसी

वीरगञ्ज महानगरपालिका वडा नं २० हरपतगञ्जका विगा महरा शनिबार निकै खुशी देखिए ।

कठ्याङ्ग्रीदो चिसो मौसममा उनी खुशी हुनुको कारण थियो, उनले ओढ्नका लागि न्यानो कम्बल पाएका थिए ।

गुदरी -पुराना कपडा हालेर बनाएको ओढ्ने’ ओढेर जाडो कटाउँदै आएका महराले कम्बल पाएपछि खुशी हुँदै भोजपुरीमा भने ‘ निमन लागता’ (खुशी लाग्यो) ।

खेती गृहस्थी गरेर ४ छोरी र २ छोराको लालनपालन गर्दै आएका विगाले यसअघि आफ्नो घरमा कम्बल समेत नभएको दुःखेशो सुनाए ।

ग्रीन सिटी सामुदायिक संस्था र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी मेरो साथी अभियानले हरपतगञ्ज २० मा १० घर दलित विपन्नलाई कम्बल र न्यानो कपडा वितरण गर्‍यो ।

तराईमा बढ्दै गएको चिसोमा विशेष गरेर बालबालिका र जेष्ठ नागरिकहरु चिसोबाट बढी प्रभावित हुने भएकोले उनीहरुलाई लक्षित गरेर न्यानो कपडा वितरण गरिएको ग्रीन सिटी सामुदायिक संस्थाले जनाएको छ ।

विपन्न समुदायलाई कम्बल वितरण गर्दै पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डा गणेश रेग्मीले हुनेले नहुनेलाई सहायोग गर्नु प्रशंसनीय काम भएको बताए ।

चिसोका कारण स्वास्थ्य समस्या बढ्दै

बढ्दो चिसोका कारण जेष्ठ नागरिक र बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ ।

केहीदिनदेखि तराईमा अत्याधिक चिसो बढेपछि सचेतनाको अभावमा स्वास्थ्यमा ध्यान नदिएका कारण सर्वसाधरणमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेको हो ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज हाडजोर्नी रोग विशेषज्ञ डा. सरोज सिंहले चिसोले गर्दा वृद्धवृद्धामा ढाड दुख्ने, घुडा दुख्ने समस्या देखिन थालेको बताए । ‘चिसो बढ्न सुरु गरेपछि न्यानो कपडा नलगाएका कारण वृद्धवृद्धाहरुमा ढाड तथा घुँडा दुख्ने समस्या देखिएको छ ।’ उनले भने । ‘ कपडा तताएर सेक्ने, न्यानो कपडा लगाउने र शरीरलाई चिसोबाट बचाउने गर्नुपर्छ ।’
हरपतगञ्जमै शनिबार आयोजित शिविरमा विरामीहरुको स्वास्थ्य जाँच समेत गरेका डा. सिंहले वृद्धवृद्धाहरुमा हड्डी खिईने समस्या देखिएको जानकारी गराए । शिविरमा हाडजोर्नीका ६७ जना विरामीले उपचार गराएका थिए ।

महिलाहरुमा रगतको कमी

वीरगञ्ज महानगरपालिका २० हरपतगञ्ज क्षेत्रका महिलाहरुमा रगतको कमी देखिएको छ ।

शिविरमा ५३ जना महिलाको स्वास्थ्य जाँच गर्दा उनीहरु अत्याधिक मात्रामा रगतको मात्रा कम देखिएको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा मोनिका सिंहले बताइन् ।

६२ जनामा मोतिया विन्दु

दृष्टि आँखा अस्पतालसँगको सहकार्यमा आयोजित आँखा शिविरमा १ सय ३३ जनाको आँखा जाँच गरिएकोमा ६२ जनामा मोतिया विन्दु फेला परेको दृष्टि आँखा अस्पतालले जनाएको छ ।

त्यस्तै नाक कान घाँटी सम्बन्धी ७८ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

विशेषगरी बालबालिकाहरुको हेरचाह गर्ने तरिकाको बारेमा जानकारी नभएका कारण कानबाट पानी बग्ने समस्या बढी देखिएको नाक, कान, घाँटीका डाक्टर अशोक आर्यन यादवले बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?