Comments Add Comment

इलाममा ‘बल्ने ढुङ्गा दिन्छु’ भन्दै ठगी, पेस्तोलसहित पक्राउ परे ५ जना

ठगीका मुख्य याेजनाकार पूर्व माअाेवादी लडाकु

२ पुस, इलाम । बहुमूल्य ‘बल्ने ढुंगा’ दिन्छु भन्दै ठूलो रकम र जग्गा लिएर ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ९० लाख १० हजार रुपैयाँ नगद, ३ थान पेस्तोल र ८ वटा गोली समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ बस्ने ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० बस्ने ३३ वर्षीय भयप्रसाद विक, फालेलुङ्ग गाउँपालिका–८ बस्ने ५४ वर्षीय महेन्द्रकुमार दर्जी, फाल्गुनन्द गाउँपालिका–४ का ४४ वर्षीय रुद्रकुमार नेम्बाङ र सोही गाउँपालिका वडा नं. ६ बस्ने ६० वर्षीय योगेन्द्रप्रसाद आङदेम्बे रहेका छन् ।

उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय, इलामले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे ।

उनीहरूले पाँचथर फिदिम नगरपालिका–१ का तारा भट्टराई, डिल्ली ढुङ्गाना, फिदिम नगरपालिका वडा नं. ६ बस्ने राजेन्द्र रिजालबाट २ करोड ५७ लाख ५९ हजार नगद र ६० लाख रूपैयाँ बराबरको जग्गा हात पारेका थिए ।

उनीहरूले अाफूहरूसँग ‘बल्ने ढुङ्गा छ, अमेरिकामा करोडौंमा विक्री हुन्छ’ भन्दै तीन जनाबाट रकम र जग्गा लिएको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी उपरीक्षक विपिनकुमार कर्माचार्यले बताए ।

ती ठगिएका व्यक्तिहरुलाई उनीहरुले ब्याट्री जडान गरेर बनाइएको बल्ने ढुङ्गासमेत देखाउने गरेका थिए ।

ढुङ्गा किन्न खोज्ने तीनै जना फिदिमका व्यापारीहरु हुन् ।

ठगीका योजनाकार पूर्व लडाकू

प्रहरीका अनुसार बल्ने ढुङ्गा भन्दै ठगी गर्ने कार्यका मुख्य योजनाकार राजबहादुर हुन् । उनी पूर्व माओवादी लडाकु समेत हुन् । बरामद गरिएको तीन पेस्तोल मध्ये दुई वटा उनी लडाकु भएकै बेला ल्याएर गाउँको ओडारमा लुकाएर राखेको अनुसन्धानको क्रममा खुलेको छ ।

अर्काे पेस्तोल बिर्तामोडमा कैलाश राई भन्ने व्यक्तिसँग खरिद गरेको उनले अनुसन्धानको क्रममा प्रहरी समक्ष बयान दिएका छन् । १६ वर्षकै उमेरमा माओवादी लडाकुमा बनेका तामाङ्ग २०५८ सालमा बेलबारीको आक्रमणमा संलग्न भएका थिए ।

कारबाहीमा साथीहरु मारिएपछि उनी भागेर भारत गएका थिए । २०६४ सालमा उनी नेपाल आए । र, चार वर्ष साउदी र मलेसियामा बिताए ।

फर्किएपछि उनले सिन्धुपाल्चोकमा कपडा व्यापार पनि गरे । त्यहीँ बस्दा सुन तस्करहरुको सम्पर्कमा रहेर भाडामा सुन तस्कर गर्न थाले । पछि आफैं लगानी गरेर सुन तस्करी गर्दै आएका थिए ।

पेस्तोल बेच्ने राई पक्राउ

राजबहादुरलाई पेस्ताल विक्री गर्ने कैलाश राई समेत बिर्तामोडबाट पक्राउ परेका छन् । राजबहादुरको बयानका आधारमा उनी पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको मेची प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले बताए ।

पक्राउ गरिएका तामाङ्गसहित पाँचै जनालाई ठगी मुद्दा, हातहतियार खरजना र सार्वजनिक मुद्दा चलाइएको प्रहरीले जनाएको छ । थप रकम र संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment