Comments Add Comment

किष्ट अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

७ पुस, काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा एक सातादेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । अखिल नेपाल स्वास्थ्यकर्मी संघ, कर्मचारी युनियन र अखिल नेपाल स्वास्थ्य श्रमिक संघले संयुक्त रुपमा १५ सुत्रिय माग राख्दै आन्दोलन सुरु गरेपछि अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प भएको हो ।

आन्दोलनरत पक्षले तलव वृद्धि गरिनुपर्ने, कर्मचारीको सेवा सुविधा बढाउनु पर्ने, रात्रीकालीन ड्युटीमा खटिनेलाई भत्ताको व्यवस्था गरिनुपर्ने, अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नुपर्ने तथा उक्त फार्मेसीमा अस्पतालका कर्मचारीलाई २५ प्रतिशतसम्म छुट दिनुपर्ने लगायतका माग राखेको छ ।

करिब छ महिना अगाडि नै अस्पताल प्रशासनलाई माग पत्र बुझाएपनि बेवास्ता भएपछि बाध्य भएर शान्तिपूर्ण धर्नामा उत्रिएको वार्ता कमिटी संयोजक उमेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार अस्पतालले आन्दोलनरत पक्षले श्रम कार्यालय तथा अस्पताल व्यवस्थापकलाई उक्त माग बुझाउँदा समेत सुुवाई नभएपछि अस्पतालका कर्मचारीहरुले गत मंसिर २८ गतेदेखि काम छोड्ने भन्दै घरमा बसेका थिए । लगत्तै अस्पताल प्रशासनले यही मंसिर २९ गते विना जानकारी एकतर्फीरुपमा हाजिर कटौती गरेपछि आन्दोेलन सुरु गरेको बर्तौलाले बताए ।

उनले अनलाइनखबरसित भने, ‘मागका सन्दर्भमा हामीले अस्पताललाई वार्तामा बसेर यसबारे छलफल गरौं भनेको आज ९ दिन वितिसक्दा पनि सुनुवाई भएको छैन ।’ उनले आफ्ना माग सुनुवाई नभएसम्म अस्पतालका इमर्जेन्सी बाहेकका अन्य सबै विभागमा कर्मचारी नफर्कने समेत स्पष्ट पारे ।

सेवा बन्द गरेर वार्ता गर्न सकिँदैनः अस्पताल प्रशासन

यता अस्पताल प्रशासनले भने सेवा बन्द गरेर वार्ता गर्न नसकिने भन्दै सबै कर्मचारीलाई यथाशिघ्र काममा फर्कन आग्रह गरेको छ  ।

‘अस्पतालमा कर्मचारीले साथ नदिएको भन्ने होइन । तर कर्मचारीको मागलाई पूर्ती गर्ने अवस्था अस्पतालको नरहेकै कारणसमस्या निम्तिएको हो,’ अस्पतालका वरिष्ठ प्रशासक अक्षय गौतमले भने, ‘तर पनि अस्पतालले कर्मचारीसित वार्ता नगर्ने भनेको छैन । यत्ति हो कि वार्ताको लागि वार्ता गर्ने भन्दा पनि सेवा सुरु गरेर गर्दा उपयुक्त हुन्छ भन्ने व्यवस्थापन पक्षको भनाइ हो ‘ ।

उनका अनुसार अस्पतालमा हाल आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प हुँदा अस्पताल आउने बहिंरग सेवा तर्फका दैनिक ६०० तथा आन्तरिक सेवा मार्फत झण्डै डेढ सय विरामी अन्तै जान बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment