Comments Add Comment

प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक-फरक व्यक्ति हुन्छन्: महरा

'राजनीतिमा हारेको छैन, दाङ राजधानी बनाएर फेरि विजय हुन्छु'

९ पुस, घोराही । माओवादी नेता कृष्णबहादुर महराले माओवादी र एमालेबीच सम्मानजनक पार्टी एकता हुने बताएका छन् ।

दाङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महराले आइतबार बिहान मतदाता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । एकता पछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक-फरक व्यक्ति हुने पनि स्पष्ट पारे ।

एमाले महासचिव इश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने अभिव्यक्ति दिएको बेला महराले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक हुने बताएका हुन् ।

उनले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने पनि बताए । महराले भने, ‘अहिलेसम्म मैले राजनीतिमा हार व्यहोर्नु परेको छैन । यसपटक पनि दाङलाई राजधानी बनाउने कुरामा विजयी हुनेछु ।’

भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको महराको भनाइ छ । बुटवललाई पर्यटकीय शहर र नेपालगञ्जलाई औद्योगिक शहर बनाइने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment