+
+

बराह क्षेत्रलाई प्रदेश १ को राजधानी बनाउनुपर्ने ८ कारण

शिव डाँगी शिव डाँगी
२०७४ पुष ९ गते १९:२०

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै प्रदेश राजधानी कुन स्थानमा रहने भन्ने विषयमा बहस सुरु भएको छ । स्थानीय जनता र निर्वाचित प्रतिनिधिहरूले आफू अनुकूल प्रदेश राजधानीको विषयमा बहस गरिरहेका छन् । ठाउँठाउँमा धर्ना, जुलुस, ‘डेलिगेशन’लगायत दबावका कार्यक्रम अगाडि बढाइएका छन् ।

पहाडका ११ र तराईका ३ जिल्ला मिलेर बनेको १ नं. प्रदेशमा प्रदेश राजधानीको विषयलाई लिएर बहस र विवाद भइरहेका छन् । विराटनगर, धरान, इटहरी, दमक वा धनकुटालगायत प्रदेशका मुख्य शहरहरू राजधानीका लागि बहसको विषय बनेका छन् । आ-आफ्नो ठाउँलाई राजधानी बनाउने सन्दर्भमा स्थानीय जनसमुदाय र सबै राजनीतिक दलमा एकरूपता रहेको देखिन्छ ।

दीर्घकालीन र सामुहिक उपयुक्तताका आधारमा भन्दा बसोबासको आधारमा जबरजस्त राजधानीको प्रस्ताव आउनु मुलुककै लागि दुर्भाग्यको कुरा हो । जनघनत्व र बस्ती विकासका हिसाबले विराटनगर, इटहरी, धरान, धनकुटा, दमक उपयुक्त मान्न सकिन्छ । तर, १ नं. प्रदेश्ामा यीभन्दा उपयुक्त स्थान छन् कि छैनन् ? राजनीतिक पार्टी, निर्वाचित जनप्रतिधि, समुदायका अगुवा व्यक्तित्व र सरोकारवाला निकायले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।

हामीले गरेको निर्णयमा हामीपछिको पुस्ताले गर्व गरोस् कि कति उपयुक्त स्थानमा राजधानी बनाइयो । वर्तमानलाई भन्दा भविश्यलाई हेर्ने र आफूलाई भन्दा सन्ततिका लागि सोच्ने हो भने १ नं. प्रदेशका १४ वटै जिल्लालाई जोड्ने उपयुक्त स्थान चतरा क्षेत्र अर्थात बराह क्षेत्रमा हुन सक्छ । यसका लागि राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, समुदायका अगुवा व्यक्तित्व र सरोकारवाल निकायको सोचमा परिवर्तन आउन जरुरी छ ।

चतरा क्षेत्रमा राजधानी हुनुपर्ने ८ कारण

१. अरुण, तमोर र दूधकोशी नदीमार्फत १ नं. प्रदेशका १४ मध्ये १२ जिल्ला चतरा क्षेत्रमा केन्द्रित भएका छन् । यो क्षेत्रले सगरमाथा, मकालु र कञ्चनजंघालाई जोडेको छ । अरुण नदीको कोरीडोरले भोजपुर, धनकुटा, संखुवासभालाई जोडेको छ ।

तमोर नदीको कोरीडोरले धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई जोडेको छ । दूधकोशीको कोरीडोरले उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक हुँदै केन्द्रीय राजधानीलाई जोड्दछ । यसरी जल तथा स्थलमार्गमार्फत पूर्वका सम्पूर्ण स्थानहरू सरल र सहज ढंगले व्यवस्थित यातायातको पहुँचमा आउने हुँदा चतराक्षेत्र प्रदेश राजधानीका लागि उपयुक्त हुन्छ । यसको अतिरिक्त कोशी नदी हुँदै गंगा नदीसम्म नेपाललाई जलमार्गले जोड्ने उपयुक्त माध्यम र स्थान हुनेछ ।

२. पानी भनेको सुन्दरताको परिचय हो । मानवीय सभ्यताको विकास नदी किनाराबाट हुने गरेका छन् । विश्वका अधिकांश शहरहरू नदी किनारामा अवस्थित छन् । नदी किनारामा अवस्थित शहरहरु सरसफाइ, वातावरण र सुन्दरताका दृष्टिले धेरै अगाडि छन् । हामीले हाम्रो प्रदेश राजधानीलाई चतरा क्षेत्रमा अगाडि बढायौं भने सम्भवतः यो नेपालको सबैभन्दा सुन्दर र व्यवस्थित शहर हुनेछ ।

३. चतरा क्षेत्र सुनसरी, उदयपुर, धनकुटा र भोजपुर जिल्लाको संगमस्थल हुनुको अतिरिक्त मधेश, पहाड र चुरेको त्रिवेणी क्षेत्र हो । प्राकृतिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण यस स्थानमा आधुनिक शहर निर्माणका लागि प्रशस्त जमीन रहेको छ । खेतीयोग्य र उर्वर जमिन मास्नु पर्ने अवस्था छैन । नदीले छोडेको बगर क्षेत्र, उदयपुर र सुनसरीको चुरे क्षेत्र शहर विस्तारका लागि प्रशस्त छ । शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरन्जनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि प्रशस्त जमिन भएकाले यो क्षेत्र प्रदेश राजधानीका लागि उपयुक्त छ ।

४. सांस्कृतिक हिसाबले चतरा क्षेत्र किरातहरूको आदिमकालदेखि बसोबास रहेको क्षेत्र हो । यही क्षेत्रबाट दूध कोशीको किनार हुँदै गएकाहरू वल्लो किराती, तमोरको तिर हुँदै गएकाहरू पल्लो किराती र यत्रतत्र छरिएर रहेकाहरू धिमाल, सन्थाल, झाँगडलगायत तराई जनजातिको रूपमा रहेका छन् । सबैको मनोविज्ञान केन्द्रीकरण हुने हुँदा यो स्थान प्रदेश राजधानीका लागि उपयुक्त हुन्छ ।

५. धार्मिक हिसाबले बराहक्षेत्र हिन्दूहरुको महान पूण्य भूमिको रूपमा चर्चित छ । यस स्थानमा केही वर्षदेखि कुम्भ मेलासमेत लाग्न थाल्नुले यसलाई पुष्टि गर्दछ । यस ठाउँलाई प्रदेश राजधानीको रूपमा विकास गर्दा संसारभरिका हिन्दूहरुको धार्मिक पर्यटकको रुपमा ठूलो केन्द्रीकरण हुनेछ ।

६. पर्यावरण र पर्यटनको हिसाबले यो नेपालको महत्वपूर्ण स्थान हुने छ । पहाड, चुरे पर्वत र तराईको संगमस्थल भएकाले यहाँको हावापानी बसोबासका हिसाबले उपयुक्त रहेको छ ।

७. सगरमाथा, कञ्चनगंघा र मकालुको मुहान भएर आएका दूधकोशी, तमोर र अरुण नदीको त्रिवेणी, पहाड, चुरे र तराईको त्रिवेणी, किरात, लिम्बूवान र कोचिलाको त्रिवेणी, यसरी हेर्दा यो भूभाग ‘जल, जमिन र जाति’को त्रिवेणी पनि हो । अध्ययनकर्ता र पर्यटकहरूको संगमस्थल हो । तसर्थ यस ठाउँमा आधुनिक सहर निर्माण गर्नु उपयुक्त हुन्छ ।

८. राजधानीका लागि स्थानीयस्तरमा प्रस्तावका रूपमा अघि सारिएको चतरा क्षेत्र धनकुटाबाट २० किमी, धरानबाट १५ किमी, इटहरीबाट १८ किमी र विराटनगरबाट ४२ किमीको दूरीमा अवस्थित छ । त्यसैले चतरा क्षेत्र यी सबै ठाउँका लागि केन्द्रीय भाग भएकाले सबैलाई स्वीकार गर्न सहज हुन्छ ।

एक नम्बर प्रदेशको राजधानीका लागि पर्याप्त आधार र सम्भावना यस क्षेत्रमा छ । राज्य पुनःसंरचना समितिले राजधानीका लागि तोकेका आधारलाई हेर्दा पनि सबैभन्दा उत्तम चतरा नै हुन्छ ।

यति हुँदाहुँदै पनि यस क्षेत्रमा रहेको एउटै मात्र जोखिम भनेको नदी नियन्त्रणको हो । सप्तकोशी नदीलाई दीर्घकालीन योजना बनाएर व्यावस्थित ढंगले नदी नियन्त्रण गर्दा जोखिम मुक्त नयाँ शहरको निर्माण हुने निश्चित छ । नदी नियन्त्रणको गुरुयोजनासहित प्राकृतिक वरदानका रूपमा रहेको यो चतरा क्षेत्रलाई हामीले ६ महिनाभित्रमा विस्तृत परियोजना प्रस्ताव बनाएर तीन वर्ष भित्रमा स्थायी संरचना निर्माण गरी प्रदेश राजधानी बनायौं भने आगामि पुस्ता हामीप्रति आभारी हुनेछ ।

यसका लागि हामी सबैको सोचमा परिवर्तन आउन आवश्यक छ । भएका सरकारी र सामुदायिक संरचना प्रयोगमा ल्याउने हिसाबले प्रदेशको अस्थायी राजधानी व्यवस्थित गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?