Comments Add Comment

सिसडोलमा बाह्रै महिना झाडापखालाको प्रकोप

फोहोर पुर्न फोहोरकै प्रयोग

९ पुस, सिसडोल (नुवाकोट) । काठमाडौं उपत्यकामा संकलित फोहोर अहिले नुवाकोटको सिसडोलमा अव्यवस्थित रुपमा बिसर्जन हुने गरेको छ । फोहोर फालेर नपुर्ने र समयमै औषधिहरु समेत नछर्किने गरिएका कारण स्थानीय बासिन्दा समस्यामा छन् ।

१५ वर्षअघि सिसडोलका बासिन्दाको घरमा जाडो समयमा मात्रै झिंगा देखिन्थे । तर, अहिले जाडो होस् कि गर्मी, बाह्रै महिना झिंगा भन्किन्छन् । प्रायः सुख्खायाममा देखिने झाडापखालाको प्रकोपबाट आक्रान्त छन्, प्रभावित क्षेत्रका बासिन्दा ।

काठमाडौंको फोहोर सिसडोल पुर्‍याएर थुपार्ने मात्रै काम भइरहेको छ । त्यसको सही तरिकाले डिस्पोज गर्ने काम भएको छैन, जसका कारण यत्रतत्र फोहोरै फोहोर देखिन्छ ।

माटोले बेला-बेलामा पुर्ने नगरिएकाले दुर्गन्ध फैलिएको छ । बिर्सजन गरिएको स्थानमा सामान्य ढंगले जानै नसक्ने स्थिति छ । फोहोरको थुप्रोबाट बगेको दुर्गन्धित पानीले प्रभावित क्षेत्रमा बसिनसक्नु छ । स्थानीय कोल्पु खोला प्रदुषित बनाएको छ, काठमाडौंको फोहोरले ।

कवाडी सामान बटुल्नेहरुसँगै चिल, काग र सारौंको भीड लाग्छ । फोहोरलाई बिर्सजन होइन, खन्याउने काम मात्रै गरिन्छ । काठमाडौंबाट अहिले दैनिक सरदर नौ सय टन फोहोर निस्किन्छ । त्यो सबै सिसडोलको ल्यान्डफिल साइटमा फाल्ने गरिएको छ ।

फोहोर पुर्न माटो होइन, फोहोरकै प्रयोग गरेको देखिन्छ ।

स्थानीय ओमनाथ घिमिरेका अनुसार नगरपालिकाहरुले किटनाशक औषधिहरु छर्ने गरेका छ्रैनन् । घिमिरेले भने, ‘समयमै औषधि नहाल्ने अनि माटोले नपुदिर्ने गरेकाले निल्न लागेको गाँस पनि फर्किएलाजस्तो हुन्छ ।’

स्थानीय मिठु ओझाका अनुसार १५ वर्ष अघिसम्म गर्मीमा मात्र फाट्टफुट्ट झिंगा देखिन्थे । तर, अहिले बाह्रै महिना झिंगा भन्किछन् । ओझाले भने, ‘बाह्रैमास झाडापखालाले सताउने कारण पनि त्यही हो ।’

सिसडोलमा फोहोरको पहाड नै बनेेको छ । नयाँ फोहोर फाल्न नयाँ नै खोंच खोज्नुपर्ने अवस्था छ ।

लगानी बोर्डले अगाडि बढाइरहेको एकीकृत फोहरमैला व्यवस्थापन आयोजना अहिलेसम्म शुरु हुन सकेको छैन । अहिले काठमाडौंका १० वटा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि नेपवेस्ट नामक कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) गर्न लागिएको छ ।

लगानी बोर्डले छिट्टै पीडीए हुने जनाएको छ । बन्चरेडाँडामा फोहोर व्यवस्थापन प्लान्ट निर्माण नेपवेस्टले गर्नेछ । यसका लागि अहिले त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माणाधीन छ । सडक निर्माणसँगै कोल्पु खोलामा पुल निर्माणको काम पनि अगाडि बढेको छ ।

बन्चरेडाँडामा प्लान्ट बनेसँगै फोहोर व्यवस्थापन सहज हुने आशा छ । निकट भविष्यमै फोहोरबाट कम्पोस्ट मल, आरडीएफ र ग्यास उत्पादन गरिनेछ ।

स्थानीय बासिन्दा भने जता लगेर फोहोर व्यवस्थापन गरे पनि आफूहरु मारमा पर्ने बताउँछन् । बन्चरेडाँडा र सिसडोलको ल्यान्डफिल साइटबीचमा बस्ती छ । बन्चरेडाँडामा लगेर फोहर फाले पनि आफूहरुले दुर्गन्ध खेप्नुपर्ने भयमा उनीहरु देखिन्छन् ।

फोहोरले उनीहरुको दैनिक गुजारालाई भने सहज बनाएको छ । सरकारले अहिले स्थानीयवासीलाई आफ्नै घरमा बसेवापत घरभाडा दिएको छ । घिमिरेले भने, ‘फोहोरले सहज पनि बनाएको छ, सरकारले दिएको घरभाडाले दैनिक गुजारा चलाउन पुगेको छ ।’

फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको करिब नौ सय मिटर आसपासका बासिन्दालाई सरकारले रकम उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment