Comments Add Comment

प्रेस रिभ्यूः प्रचण्डको अर्थपूर्ण अलमल, बाबुराम पनि बालकोटमा

'सरकार गठनमा फोरम निर्णायक'

११ पुस, काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित दैनिक पत्रिकाहरुले राजनीतिक गतिविधिलाई नै प्रमुख समाचार बनाएर छापेका छन् । एमाले-माओवादी एकताको अलमल, सरकार गठनमा ढिलाई र प्रदेश प्रमुख अझैसम्म नतोकिएको समाचारले प्राथमिकता पाएका छन् ।

त्यससँगै भूकम्पमा सहयोग गर्ने प्रतिवद्धता गरे पनि दाता राष्ट्रहरुले सहयोग नगरेको, भारत-चीन सहयोगका आयोजना अघि बढेका लगायतका समाचारले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् ।

‘प्रचण्डको अर्थपूर्ण अलमल’

कान्तिपुर दैनिकले राष्ट्रियसभा गठन विवाद मिलाउनुपर्नेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवनमै अलमल गर्दा राष्ट्रियसभा गठनको विवाद र एमालेसँग पार्टीएकीकरण लगायतका महत्वपूर्ण राजनीतिक मुद्दाले निकास नपाएको समाचार छापेको छ ।

‘दाहालको अर्थपूर्ण अलमल’ शीर्षकमा समाचारमा लेखिएको छ- उनको गृहजिल्ला अलमलले दुई पार्टीको औपचारिक बैठक समेत हुन सकेको छैन । राष्ट्रियसभा गठन विवादले गतिरोध चुलिइरहेको छ । विशेषगरी एमाले र कांग्रेसबीच राष्ट्रियसभाको निर्वाचन प्रणालीका विषयलाई लिएर रस्साकसी छ । नयाँ सरकार गठन र दुई पार्टीबीच एकता प्रक्रिया कसरी अघि बढाउने स्पष्ट खाका आएको छैन, त्यसलाई छिटो टुंग्याउनुपर्ने जिम्मेवारी पनि उत्तिकै छ । यस्ता महत्वपूर्ण राष्ट्रिय मुद्दा सल्टाउन छाडेर दाहाल किन चार दिनदेखि काठमाडौं बाहिर स-साना कार्यक्रममा अल्झिएका छन् ? यसले अड्कलबाजीको बजारमा नयाँ-नयाँ आशंका गर्नेलाई बल मिलेको छ ।

चितवनबाट निर्वाचित सांसद भएकाले उनको जिल्ला गमनलाई अन्यथा भन्न नमिल्ला । तर कुन समयमा, उनी कस्ता कार्यक्रममा समय व्यतित गर्दैछन्, त्यसले भने महत्व राख्छ ।

ओलीसँग बाबुरामको भेटवार्ता

अन्नपूर्ण पोष्ट दैनिकले नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

सोमबार बिहान ओलीलाई भेट्न बाबुराम बालकोट निवास पुगेको र ४५ मिनेट कुराकानी भएको समाचारमा उल्लेख छ । एमाले-माओवादी एकता र सत्तारोहणमा संशय बढ्दै जाँदा भट्टराईको बालकोट यात्रालाई अर्थपूर्ण ठानिएको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ, ‘नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खडि्कए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको अन्नपूर्णसँग दाबी गरे ।’

‘बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गर्दै गर्दा भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन्,’ समाचारमा लेखिएको छ, ‘एमाले-माओवादी एकता र सत्तारोहणमा संशय बढ्दै जाँदा भट्टराईको बालकोट यात्रालाई अर्थपूर्ण ठानिएको छ ।’

असोज १७ गते वाम गठबन्धन घोषणा हुँदा ओली-दाहालसँगै उभिएका उनी केही दिनमै कांग्रेससँग मोर्चाबन्दी गरेर गृहजिल्ला गोर्खाको क्षेत्रनम्बर २ बाट चुनाव लड्ने निर्णयमा पुगेका थिए । नयाँशक्तिबाट चुनाव जित्ने उनी मात्रै हुन् ।

‘सरकार गठनमा फोरम निर्णायक’

अन्नपूर्ण पोष्टले नै वाम गठबन्धनले दुईतिहाइ नजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको समाचारलाई मुख्य समाचार बनाएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ सांसद रहेको यही पार्टी देखाउँदै एकअर्कालाई दबावमा राख्न खोजिरहेका छन् ।

ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणवद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे । ओली निकट नेताहरुले भने संसदमा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली-यादव भेटको बचाउ गरे ।

स्रोतलाई उद्धृत गर्दै अन्नपूर्ण लेख्छ- ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ । सरकार त एमाले-माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’

निगम फर्कन खड्काको लबिङ, ओलीलाई भेटे

इन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारबाहीमा परेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले पुनः निगममै फर्किन लबिङ थालेका छन् ।

नागरिक दैनिकले भावी प्रधानमन्त्रीका रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किने वातावरण निर्माण गरिदिन आग्रह गरेको समाचार आज छापेको छ ।

‘ओलीलाई भेटेर निगम फर्किन खड्काको लबिङ’ शीर्षकमा समाचार लेखिएको छ- खड्का केही दिनअघि ओलीलाई भेट्न निजी निवास बालकोट पुगेका थिए । खड्का ओलीलाई बधाई दिने बहानामा बालकोट पुगेर आफूलाई निगममै फर्केर काम गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको स्रोतको दाबी छ ।’

खड्काले विगतदेखि नै ओलीनिकट दलाल समूहसँग मिलेर काम गर्दै आएको समाचारमा उल्लेख छ । ‘निगमको इन्धन भण्डारण जग्गा खरिदमा पनि उक्त समूहको संलग्नता छ, जसले मुलुकका विभिन्न व्यवसाय र क्षेत्रमा आफ्नो पहुँच बढाउँदै गएको छ ।’

अधिकांश दातृ राष्ट्रले ढाँटे

नयाँ पत्रिका दैनिकले आज भूकम्पपछिको पुनर्निर्माणका निम्ति आएको प्रतिवद्धता, सम्झौता र प्राप्तिलाई केलाएको छ । भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका अधिकांश दातृ राष्ट्रले वचन पूरा नगरेको समाचारलार्इ नयाँ पत्रिकाले  प्रमुख स्थान दिएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि ४ खर्ब १० अर्ब सहयोगको घोषणा विभिन्न दातृ राष्ट्रबाट भएको थियो । यसमध्ये ३ खर्ब १० अर्ब सम्झौता भएकोमा हालसम्म २६ अर्ब मात्रै प्राप्त भएको छ ।

समाचार अनुसार, सहयोग गर्ने वचन दिएर भारतले ढाँटेको छ भने चीनलगायतका दातृ राष्ट्रहरुले सम्झौता गरेअनुसारको रकम अझै उपलब्ध गराएका छैनन् । भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४० अर्ब सहयोग घोषणा गरेको भारतले एक खर्बको सम्झौता गरेको थियो । तर, उसले अहिलेसम्म १ रुपैयाँ पनि दिएको छैन ।

७६ अर्ब ६९ करोड सहयोग सम्झौता गरेको चीनले पनि प्रतिबद्धता पूरा  गरेको छैन । समाचार अनुसार, चीनले १ अर्ब रुपैयाँ मात्रै उपलब्ध गराएको छ ।

६० अर्ब सहयोग घोषणा गरेको एसियाली विकास बैंकले २१ अर्बको सम्झौता गर्यो । तर त्यसमध्ये ५८ करोड रुपैयाँ मात्रै निकासा भएको छ । ५० अर्ब सहयोग घोषणा गरेको विश्व बैंकले पनि ६ अर्ब ६१ करोड रुपैयाँ मात्र नेपाल सरकारलाई प्रदान गरेको छ ।

सहयोगको प्रतिबद्धता जनाएका यीबाहेकका देशहरुले पनि वचन पूरा गरेका छैनन् । नयाँ पत्रिका दैनिकले दाताले प्रतिबद्धता गरेको पैसा ल्याउन नसक्नुमा नेपाल सरकार पनि उत्तिकै दोषी छ ।

हराए ९ अन्तर्राष्ट्रिय दाता

पुनर्निर्माणमा ठूलो सहयोगको प्रतिबद्धता गरेका पाँचवटा दाता हराएका छन् । तीन अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता गरेको साउदी फन्डसँग अहिलेसम्म सम्झौता हुन सकेको छैन ।

नयाँ पत्रिका दैनिकका अनुसार दुई अर्ब ६० करोड रुपैयाँ सहयोगको प्रतिबद्धता गरेको नेदरल्यान्ड्स पनि हराएको छ । त्यसैगरी स्वीडेनसँग पनि अहिलेसम्म सम्झौता हुन सकेको छैन । स्वीडेनले एक अर्ब सहयोग गर्ने घोषणा गरेको थियो । अस्टि्रया, टर्की, श्रीलंका, पाकिस्तान र बंगलादेशले सहयोग घोषणा गरे पनि सम्झौता गरेका छैनन् ।

प्रदेश प्रमुख कहिले ?

कान्तिपुर दैनिकले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको परिणाम दिन संवैधानिक र कानुनी जटिलतामा अलमलिइरहेको निर्वाचन आयोगलाई प्रदेशसभाको अन्तिम परिणाम दिन पनि कानुनी अप्ठ्यारो आउने देखिएको समाचार पनि छापेको छ ।

आयोगले प्रदेशसभाको अन्तिम परिणाम सम्बन्धित प्रदेश प्रमुखलाई बुझाउने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेशसभाको समानुपातिक परिणाम दिन र प्रदेशसभाका सदस्यको सपथग्रहणसमेत रोकिने अवस्था छ ।

प्रदेश प्रमुखको नियुक्तिमा दलहरुबीच मतभेद छ । निर्वाचन सम्पन्न भएलगत्तै सरकारले प्रदेश प्रमुख नियुक्तिको सुरसार गरेको थियो । तर, निर्वाचन परिणाम आफ्नो पक्षमा आएपछि हौसिएका वाम गठबन्धनका नेताहरुले प्रदेश प्रमुख नियुक्त नगर्न दबाव बढाएपछि कांग्रेस नेतृत्वको सरकार त्यसबाट पछि हटेको समाचारमा उल्लेख छ ।

प्रचण्डको सचिवालयमा को-को ?

अन्नपूर्ण पोष्टले प्रचण्डको सचिवालयमा को-को छन् भन्ने विषयलाई पनि समाचार बनाएर भित्री पृष्ठमा छापेको छ । छोरा प्रकाश दाहालको निधनपछि सचिवालय सम्हाल्ने भरपर्दो व्यक्तिको अभाव भएको छ प्रचण्डलाई । त्यसैले उनले अहिले नै आफ्नो सचिवालय हेर्ने गरी नयाँ व्यक्तिलाई नियुक्ति गर्ने सोचे पनि टुंगो लागिनसकेको समाचारमा उल्लेख छ ।

समाचारअनुसार अहिले प्रचण्डको सचिवालयलाई व्यवस्थित बनाउन दुई घेरामा नेताहरुलाई राखिएको छ । पहिलो घेरामा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, वर्षमान पुन, जोखबहादुर महरा र छोरी रेणु दाहाल छिन् ।

दोस्रो घेरामा भने अग्नि सापकोटा, प्रवक्ता पम्फा भुसाल, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेत र चक्रपाणी खनाललाई राखेका छन् ।

दाहालको प्रमुख स्वकीय सचिवको रुपमा जोखबहादुर महरा ‘प्रताप’ले काम गरिरहेका छन् भने सुरक्षा सहयोगीको रुपमा सन्तु दराईले साथ दिइरहेका छन् ।

उच्च रक्तचाप पहाडभन्दा तराईमा कम

नागरिक दैनिकले नै उच्च रक्तचाप पहाडमा भन्दा तराईमा कम हुने गरेको समाचारलाई मुख्य समाचार बनाएर पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

समाचार अनुसार, अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली र वंशाणुगतजस्ता कारणले हुने उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दाको तुलनामा तराईका बासिन्दामा कम देखिएको छ ।

विभिन्न प्रकारका जोखिम वृद्धिसँगै नेपालमा उच्च रक्तचापको समस्या बढ्दै जाँदा क्षेत्र र भूगोलमा बसोबास गर्ने जनसंख्याको आधारमा समेत भिन्नता देखिएको हो ।

सरकारी भ्रमणमा मनपरी, ६ करोड सकियो, उपलब्धि शून्य

नयाँ पत्रिका दैनिकले विदेश भ्रमण विकृति खोतल्ने प्रयास पनि गरेको छ । आर्थिक वर्षको पहिलो चार महिनामा प्रधानमन्त्री र कर्मचारीको विदेश भ्रमणमा राज्यकोषको पाँच करोड ९३ लाख रूपैयाँ सकिएको अर्थ मन्त्रालयलार्इ उद्धृत गर्दै समाचार लेखिएको छ ।

समाचार अनुसार, गत आवमा विदेश भ्रमणमा एक अर्बभन्दा बढी खर्च भएको थियो । विदेश भ्रमणमा अस्वाभाविक खर्च बढेपछि सरकारको आलोचना भएको थियो । अर्थ मन्त्रालयले चालू आव ०७४-७५ मा विदेश भ्रमणमा कडाइ गर्ने बताए पनि खर्च गर्ने क्रम रोकिएको छैन ।

निर्वाचन आयोगले आचारसंहिता जारी गरी अत्यावश्यकबाहेकका विदेश भ्रमणमा रोक लगाएकै समयमा ६ करोड सकिएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयले यो खर्चमा प्रधानमन्त्री शेरबहादुर देउवाको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदाको खर्च जोडे पनि उनले ७ भदौमा गरेको भारत भ्रमणको खर्च समावेश नगरेको जनाएको छ । विदेश भ्रमण शीर्षकमा भएका खर्चमा दैनिक भ्रमण भत्ता र हवाई टिकट मात्र जोडिएको छ, अन्य शीर्षकमा भएको खर्च भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

 

अघि बढे भारत–चीन सहयोगका विकास योजना

राजधानी दैनिक
ले आज भारत–चीन सहयोगका विकास योजना अघि बढेको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास जोड्ने रेल परियोजनाअन्तर्गत लिक बिछ्याउने कार्य तीव्र गतिमा अघि बढेको हो ।

आगामी चैत मसान्तभित्र जनकपुरसम्म रेल ल्याउने योजनाका साथ निर्माण कार्यलाई तीव्रता दिइएको समाचारमा उल्लेख छ ।

भारतको जनयनरदेखि जनकपुर हुँदै बर्दिबाससम्म कम्तीमा ७ हजार यात्रु दैनिक आवतजावत गर्न सक्ने सो रेलमार्गको जयनगरदेखि परवाहा स्टेसनसम्म रेलको लिक बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

परवाहा स्टेसनबाट जनकपुर १० किलोमिटर दूरीमा छ । यस क्षेत्रमा पनि लिक बिछ्याउने कार्य तीव्र गतिमा अघि बढेको छ । हाल धनुषाको महिनाथपुरमा तीनवटा फलामको टुक्रा जोडेर सडकमा लिक र स्लिपर राख्ने काम भइरहेको छ ।

३५ किलोमिटर लामो उक्त मार्गमा रेल सञ्चालनका लागि आवश्यक झन्डै ४१ हजार टन पटरी (रेलको लिक) भारतबाट ल्याउन सुरु गरिएको छ । केही पटरी जयनगर हँुदै ल्याइएको छ भने केही वीरगन्ज भएर ल्याउन लागिएको हो । रेलका पटरी ओछ्याउनुभन्दा पहिला त्यसमा स्लिपर तथा ढुंगा ओछ्याइन्छ । स्लिपर र ढुंगा पनि भारतबाटै ल्याइएको जनकपुर रेल्वेका इन्जिनियर विनोद ओझाले बताए । लिकमा सिमेन्टको स्लिपर ओछ्याइने गरिन्छ ।

जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९ दशमलव २ किलोमिटरमध्ये धनुषा कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा लिक बिछ्याउन लागिएको समाचारमा उल्लेख छ ।

जँड्याहालाई जरिवाना, वृद्धवृद्धालाई मुस्कान !

कान्तिपुर दैनिकमै जँड्याहालाई जरिवाना, वृद्धवृद्धालाई मुस्कान शीर्षकको समाचार छ । मदिराकै कारण गाउँबस्ती नै बदनाम हुन थालेपछि त्यसलाई रोक्न केसम्म गर्न सकिएला ? बझाङको खप्तड छान्ना गाउँपालिकाले हदैसम्मको पहल गरेको छ । यहाँ मदिरा पिउन र बेच्न प्रतिवन्धमात्र छैन, अटेर गरे जरिवानासमेत तिराइन्छ । जरिवानाको रकमले वृद्धवृद्धाका झरको दाँत हाल्ने गाउँपालिकाको योजना छ ।

मदिरा बेच्नेलाई २० हजार र खाएर हल्ला गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने गरिएको छ ।

तीन महिनायता मदिरा बेच्ने र खानेबाट डेढ लाख रुपैयाँ जरिवाना उठेको छ र त्यो रकमबाट ६० वर्षमाथिका दाँत झरेका वृद्धवृद्धाको दाँत बनाउने तयारी गरिएको गाउँपालिका प्रमुख बर्क रोकायाले बताएका छन् । त्यसका लागि फागुन चैततिर दन्तशिविर चलाउने योजना बनाइएको छ ।

कर्जा रोक्ने तयारी

अन्नपूर्ण पोष्टले अर्थतन्त्र पृष्ठमा बैंकमा तरलता अभाव भएकाले कर्जा रोक्ने तयारी भएको समाचारलाई मुख्य समाचार बनाएको छ ।

तरलता अभाव थप चर्किन नदिन कर्जा प्रवाह रोक्नुपर्ने अवस्था आएको बैंकरहरुले बताएका छन् । नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले तत्कालका लागि कर्जा रोक्नुको विकल्प नभएको बताए ।

बैंकले कर्जा प्रवाहमा रोक लगाए गतिविधिमा संकचुन आउनेछ ।  लगानी गर्न पुँजी नभएपछि सानिमा बैंकले पनि कर्जा रोक्न तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिएको समाचारमा उल्लेख छ ।

भारतीय पर्यटकको उत्साहजनक वृद्धि

भारतीय पर्यटकको नेपालप्रतिको आकर्षण बढ्न थालेको छ । पछिल्ला वर्षहरुमा नेपालमा भारतीय पर्यटकको आगमन दर घट्दै गए पनि २०१७ मा ह्वात्तै बढेको छ ।

आजको कारोबार दैनिकले भारतीय पर्यटकको आवागमनमा उत्साहजनक वृद्धिलाई मुख्य समाचार बनाएको छ ।

‘भारतीय पर्यटकहरु नेपाल आउने क्रम पछिल्लो समय केही घटे पनि सन् २०१७ मा भारतीय पर्यटकको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हुने अनुमान गरिएको छ’, कारोबारको समाचारमा लेखिएको छ, ‘यसअघि सन् २०१३ मा १ लाख ८० हजार ९ सय ७४ भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । चार वर्षदेखि निरन्तर घट्दै आएको भारतीय पर्यटकको आगमन २०१७ को १० महिनामा १ लाख ३३ हजार २ सय ९ पुगेको छ ।

कारोबर दैनिकमै सरकारले सहकारी संस्थामा पनि १० लाख रुपैयाँभन्दा बढी कारोबार गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्न लागको समाचार छ । बैंक तथा वित्तीय संस्थामा केही वर्ष अघिदेखि नै लागू भइसकेको यो व्यवस्था बचत तथा ऋण कारोबार गर्ने सहकारीमा पनि लागू गर्न लागिएको हो ।

र यो पनि- नेपाली विद्यार्थीले बनाए ‘मोतिका’

गोरखापत्र दैनिकले नेपाली इन्जिनियरिङ अध्ययनका विद्यार्थीले नयाँ प्रविधिको सवारीसाधन निर्माण गरेर त्यसको सफल परीक्षण गरेको समाचार छापेको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका स्नातक तहमा अध्ययनरत मेकानिकल तर्फका चार जना विद्यार्थीले मौलिक प्रविधिको यस्तो गाडी तयार पारेका हुन् ।

वि.सं. २०७० को ब्याचका अमित पण्डित, वसन्त आले, दिपेश बुढाथोकी र रविकान्त चौधरीले चौथो वर्षको परियोजना कार्यका रूपमा थोत्रा गाडी र मोटरसाइकलका सामग्रीको संयोजन गरी नितान्त नयाँ प्रविधिको सवारी साधन निर्माण गरेका हुन् । उनीहरूलाई सोही क्याम्पसका सहप्राध्यापक डा. नवराज भट्टराईले निर्देशन गरेका थिए । गाडीको गति पेट्रोल इन्धनमा प्रतिघन्टा ७० किलोमिटर र ब्याट्रीमा प्रतिघन्टा १७ किलोमिटर रहेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment