Comments Add Comment

रोनाल्डो मेरो हिरो होइन, प्रतिस्पर्धी हुन्ः एमबाप्पे


१३ पुस, काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी)का स्ट्राइकर केलियन एमबाप्पेले क्रिष्टियानो रोनाल्डो अब आफ्नो हिरो नभई प्रतिस्पर्धी भएको बताएका छन् ।

फ्रेन्च क्लब पीएसजीले च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलमा रियल मड्रिड प्रतिद्वन्द्वी पाएको छ र पहिलो लेग १४ फेब्रुअरीमा सान्टिएगो बेर्नाबाउमा हुँदैछ ।

पीएसजीका फ्रान्सेली स्ट्राइकर एमबाप्पेले आफ्नो टिम जितका लागि बेर्नाबाउमा जाने बताएका छन् ।

‘हो, (रोनाल्डो) उनी मेरो बाल्यकालका हिरो हुन् र भाल्डेबेबास भ्रमणमा उनलाई भेट्नु आश्चर्यजनक थियो’ स्पेनिस पत्रिका मार्कालाई दिएको अन्तर्वार्तामा एमबाप्पेले भनेका छन्, ‘तर, अब म प्रतियोगी र प्रतिस्पर्धी व्यक्ति हुँ र म चाहन्छु जित, जित जित ।’

‘हाम्रो अगाडि को छ भन्ने अर्थ छैन । हामी जित्न चाहन्छौं । म किशोर हुँदा उनको प्रशंसक थिए तर, त्यो अन्त्य भयो । अब म बेर्नाबाउमा खेल्न र जित्न जाँदैछु ।’

रियल मड्रिडले यसै सिजन एमबाप्पेलाई भित्र्याउने कोसिस पनि गरेको थियो तर, उनले पीएसजी रोजे । पाँच पटक बालोन डि’ओर जितेका रोनाल्डोबाट आफूले धेरै कुरा सिक्ने तर, उनी जस्तै अरु खेलाडी आफ्नो टिममा रहेको बताए ।

उनले भने, ‘ नेयमार यहाँ छन् र मलाई लाग्छ उनी निकै समान छन् र व्यवहारिक रुपमा रोनाल्डोकै लेभलमा छन् । मैले काभानीबाट पनि गोल गर्न सिकेको छु ।’

एमबाप्पे पनि पीएसजी र रियल मड्रिडको खेल फाइनल सरह भएको स्वीकार्छन् । ‘दुई विश्वका उत्कृष्ट टिम हुन् । रियल मड्रिड उत्कृष्ट टिम हो र उनीहरुले लगातार दुईपटक उपाधि जितेका छन्’ उनले भनेका छन्, ‘मलाई लाग्छ यो ठूलो नकआउट टाइ हो र हामी छनोट हुन बेर्नाबाउ जान्छौं ।’

उनले यो खेल जुन टिमले जित्छ, त्यो नै उपाधिको प्रमुख दावेदार भएको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment