Comments Add Comment

किन ३ महिनादेखि एयरपोर्टमै बसिरहेको छ एक जिम्बाबेली परिवार ?

बिमानस्थलमा केही घन्टा ट्रान्जिट पर्‍यो भने पनि मानिसहरुलाई झर्को लाग्छ । तर, बैंककको मुख्य एयरपोर्टमा एक परिवारले करिब तीन महिनादेखि डेरा जमाइरहेको छ ।

थाइ अध्यागमन विभागका अनुसार चार जना ११ वर्षमुनिका बच्चा र ४ वयस्कको परिवार गत मेमा विमानस्थलमा ओर्लिएको थियो । तर, ‘उत्पिडन’का डरले फेरि जिम्बाबे फर्किन अस्वीकार गर्दै आएको छ ।

सुवर्णभूमि एयरपोर्टमा काम गर्ने एक व्यक्तिले फेसबुकमार्फत उक्त परिवारको पीडालाई बाहिर ल्याएका हुन् । उनले एउटी सानी अफ्रिकन केटीलाई क्रिसमस उपहार दिइरहेको तस्वीर फेसबुकमा राखेका थिए ।

अहिले डिलिट गरिएको पोस्टमा कानारुज आर्ट पोर्नसोपितले लेखेका छन् कि आफ्नो देशको संवेदनशील अवस्थाले गर्दा सो परिवार बैंकक एयरपोर्टमा तीन महिनादेखि बसिरहेको छ ।

‘तिमीहरु सबैजना चाँडै आफ्नो प्यारो घरमा फर्किनेछौ भन्ने आशा गर्छु,’ उनले लेखेका छन् ।

अध्यागमन विभागका प्रवक्ता पोल कोल चेर्नग्रोन रिम्फाहदीले बीबीसीलाई बताएअनुसार सो परिवार सुरुमा पर्यटकको रुपमा त्यहाँ आएको हो । गत अक्टोबरमा उनीहरुले बैंककबाट स्पेनको बार्सिलोनातर्फ उड्ने प्रयास गरेको थियो । तर, उनीहरुसँग स्पेनको भिसा नभएकाले उनीहरुले बोर्डिङ पास पाएनन् । उनीहरु अनुमतिभन्दा बढि समय बसेकाले फेरि थाइल्याण्ड फर्किन पनि सक्दैनथे ।

गत नोभेम्बरमा रोबर्ट मुगाबे अपदस्त भएपछिको परिस्थितिमा आफूहरु उत्पिडनमा पर्ने कारण देखाएर सो परिवार जिम्वाबे फर्किन मानिरहेको छैन ।

यद्यपि अहिले जिम्बाबेमा कुनै अप्ठ्यारो परिस्थिति नभएकाले उनीहरुले बहानाबाजी मात्रै गरिरहेको हुन सक्ने कतिपयको आशंका छ ।

रिम्फाहदीले सो परिवारले शरणार्थीका लागि राष्ट्रसंघमा निवेदन दिएको पुष्टि गरे । उनले बीबीसीको थाई सर्भिसलाई बताएअनुसार राष्ट्रसंघीय शरणार्थी एजेन्सी यूएनएचसीआरले उक्त परिवारलाई थाइल्याण्डमा बस्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

अहिले भने बिमानस्थलमै बसिरहेका उनीहरुलाई एयरपोर्टका कर्मचारीहरुले नै हेरचाह गरिरहेका छन् । थाइल्याण्डले शरणार्थीहरु तथा आश्रय खोज्नेहरुलाई कानुनी हैसियत उपलब्ध गराउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment