Comments Add Comment

आईसीपी निर्माणः भारततिर सञ्चालनमा, नेपालमा २० प्रतिशत मात्र काम

नेपाललाई जग्गा उपलब्ध गराउनै १२ वर्ष लाग्यो

१६ पुस, विराटनगर । मुलुकको मुख्यमध्येको भन्सार नाका रानी भन्सारमा भारततर्फ एकीकृत जाँच केन्द्र (आईसीपी) सञ्चालनमा आइसक्दा नेपालतर्फ २० प्रतिशत मात्र निर्माण सकिएको छ ।

५ अगस्ट २००५ मा उक्त आईसीपी निर्माणसम्बन्धि सम्झौता भएको थियो, दुई मुलुकबीच । भारततर्फ जोगवनी र नेपालतिर मोरङको बुधनगरमा भारत सरकारले नै आईसीपी निर्माण गर्ने सम्झौता छ । नेपालतर्फको निर्माणका लागि एक सय ६९ बिघा भारतीय पक्षलाई उपलब्ध गराइएको छ ।

नेपाली पक्षले जग्गा उपलब्ध गराउनै ढिलाइ गरेका कारण निर्माण पनि सुस्त गतिमा रहेको हो । २९ मंसिर ०७३ मा मात्र नेपालले जग्गा उपलब्ध गराएको थियो । माघ ०७३ देखि मात्र शुरु भएको हो, नेपालतर्फको निर्माण ।

भारत सरकारले अहमदावादस्थित ‘दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डट कम’ नामक कम्पनीलाई नेपालतर्फको निर्माण जिम्मा दिएको छ । हालसम्म २० प्रतिशत काम मात्र हुन सकेको कम्पनीका प्रोजेक्ट म्यानेजर अवधेशकुमार साहले बताए । निर्माण सम्पन्न गर्न वर्षदिनको समय मात्र बाँकी छ ।

उनका अनुसार हालसम्म आईसीपीका ११ मध्ये दुई वटा भवनको निर्माण भइरहेको छ । साढे सात किलोमिटर लम्बाइको पर्खालमध्ये हालसम्म तीन किमि मात्र पूरा भएको छ ।

पहुँच मार्ग निर्माण र आईसीपी परिसरका साढे चार किमि भित्री सडकमा ग्राभेलको काम भइरहेको छ । तोकिएको समय सीमामा सक्ने गरी कामलाई तीव्रता दिइएको साहले बताए ।

द्विपक्षीय सम्झौताअनुसार काम भएको भए सन् २०१० भित्रै दुवैतर्फको आईसीपी निर्माण सकिइसक्नुपर्ने थियो । तर, नेपालले जग्गा उपलब्ध गराउनै ढिलो गरेकाले भारततर्फ मात्र काम सकिएको हो ।

बुधनगरमा उपलब्ध गराइएको एक सय ६९ बिघामध्ये एक सय २० बिघामा आईसीपी रहनेछ । बाँकी ४० बिघामा पहुँच मार्ग बन्नेछ ।

विराटनगरस्थित शहरी विकास तथा भवन डिभिजनका अनुसार करिब चार सय परिवारलाई ४१ करोड रुपैयाँ मुआब्जा दिएर उक्त जमिन अधिग्रहण गरिएको हो ।

मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले आईसीपी टाढा पर्ने भएकाले नेपाली व्यवसायीहरुले हैरानी बेहोर्नुपर्ने बताए । हालको भन्सार कार्यालयबाट आईसीपी करिब पाँच किमि टाढा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment