+
+

दुई महिनामा गर्ने काम देउवाबाट दुई वर्षमा पनि भएनः कांग्रेस नेता सिंह

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १६ गते २२:००

१६ पुस, काठमाडौं । मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । १३ औं महाधिवेशन भएको दुई वर्ष भइसक्दा समेत देउवाले केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको भन्दै सिंहले आलोचना गरेका हुन् ।

राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा नेविसंघ काठमाडौं जिल्ला समितिले आइतबार त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले सभापति देउवाले दुई महिनामा गर्नुपर्ने काम अहिलेसम्म गर्न नसकेको बताए ।

‘१३ औं महाधिवेशन सम्पन्न भएको दुई वर्ष भइसक्यो,’ उनले भने, ‘सभापतिज्यूले उपसभापति र महामन्त्री मनोनित गर्न सक्नु भएन । विभागहरूले पूर्णता पाउन सकेको छैन । उहाँले कांग्रेसलाई फङ्सनमा लैजान सक्नु भएन ।’

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले नेतृत्वले कुनै पनि निर्णय गर्दा राय सुझाव नलिएका कारण पार्टी कमजोर बन्दै गएको बताए । पार्टी कमजोर हुँदा भ्रातृ संस्थाहरु पनि कमजोर हुँदै गएको सिंहको भनाइ छ ।

कांग्रेसमा सुधारको आवश्यकता रहेको उनले बताए नेता सिंहले भने, ‘नेतृत्वको गुणगान गाउँदैमा कांग्रेसमा सुधार हुँदैन । कांग्रेस बिरामी भएको छ । थलिएको छ । सुधारको आवश्यक्ता छ । हामी आफैले कांग्रेसलाई सुधार गर्नुपर्छ ।’

कांग्रेसलाई बलियो बनाउनका लागि विधान र नियमअनुसार पार्टी चलाउन नेता सिंहले सभापति देउवालाई सुझाव दिए ।

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुनेवित्तिकै नयाँ सरकारलाई नेतृत्व हस्तान्तरण गर्ने उनले बताए ।

एमालेले राष्ट्रिय सभाको अध्यादेशलाई लिएर गरेको बखेडाप्रति संकेत गर्दै नेता सिंहले भने, ‘राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश एमालेले आफै रोक्यो । राष्ट्रपतिले ढिलो भए पनि जारी गर्नुभएको छ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुनेवित्तिकै नयाँ सरकारलाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसले सत्ता छाड्छ । त्यसपछि कांग्रेस एक मिनेट पनि सत्तामा बस्दैन ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले राष्ट्रियताको माया गरेर २०३३ सालमा स्वदेश फर्किएका नेताको पार्टीलाई राष्ट्रियताको चर्को नारा लगाएर अरु दलले निर्वाचनमा हराउनु दुःखद कुरा भएको बताए ।

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब कांग्रेसभित्र पुनर्जागरणको खाँचो औंल्याए ।

कार्यक्रममा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, नेता दीपक भट्टराईलगायतले नेतृत्वको कार्यशैलीका कारण पार्टी र नेविसंघ कमजोर हुँदै गएको भन्दै आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?