Comments Add Comment

साथीले लोला हान्यो, मैले पिटाई खाएँ: जितु नेपाल

सानो छँदा म बासँगभन्दा आमासँग नजिक थिएँ । बासँग चाहिँ ठ्याक मिल्थेन ।

बा बिहानै उठेर गीता पाठ गर्नु हुन्थ्यो । उहाँको चाहना थियो, छोराले रुद्री, चण्डी पढोस्, स्कुलमा फस्र्ट होस र ठुलो भएपछि मास्टर वा सरकारी कर्मचारी बनोस् । मलाई भने पढ्न सार्‍है अल्छि लाग्थ्यो ।

बिहान एक भारी घाँस काट्नु पथ्र्यो । घाँस काटेर आउँदा नै थकाईले लोथ भएको हुन्थेँ । घर सिन्धुपाल्चोकको ज्यामिरे डाँडामा थियो ।  स्कुल जानुपथ्र्यो सुनकोशी किनार । स्कुल जानै एक घण्टा लाग्थ्यो । जाँदा त ओरालो थियो दौडेर गइन्थ्यो । आउँदा उकालो बाटो सार्‍है थकाइ लाग्थ्यो ।

निर्मल पौडेल, उमाकान्त नेपाल, ताराप्रसाद नेपाल, लक्ष्मणलगायतको हाम्रो छुट्टै ग्याङ थियो । स्कुल जाँदा हामी कहिल्यै सोझो बाटो हिँडेनौ । जता जता अप्ठ्यारो बाटो थियो त्यतैबाट हिँड्थ्यौ ।

हामी स्कुल जाने बाटोमा आलुबखडा, आरु, अम्बाहरु भेटिन्थे । चिचिला लागेदेखि नै हामी चोर्ने विषयमा सल्लाह गथ्र्यौं । हाम्रो चोर्ने स्टाइल फरक थियो । दिदीहरुलाई पानी खान घरमा पठाउथ्यौ । हामीले फल चोरुन्जेल दिदीहरु पानी खाने बहानामा अल्मल्याउथे । हामी रुखवाट झरेपछि उनीहरु पनि आउथे । अनि हामी बाँडेर खान्थ्यौं ।

हामीले पहिलो पिरियड कहिल्यै पढेनौ । स्कुल पुग्दा जहिले एक पिरियड सकिएको हुन्थ्यो । दोस्रो पिरियड पढेपछि पनि हाइ-हाइ आउँथ्यो । कहिले हाफटाइम होला र बाहिर जान पाइन्छ जस्तो लाग्थ्यो । हाफ टाइममा निस्केपछि सिधै कोठे बजारमा क्यारेमबोर्ड खेल्न पुगिन्थ्यो । कतिपटक त क्यारेमबोर्ड खेलेर सिधै घर आउथ्यौ । स्कुलमा त मात्रै बाको लागि पढ्देका थियौं ।

हाम्रो स्कुलमा एउटा भलिवल थियो । नौ, दश कक्षाकाले खेल्थे । हामी पनि खेल्न पाउनुपर्छ भनेर भन्थ्यौं तर, हाम्रो कुरा कसैले सुने पो । ठुलाहरुले भलिबल खेल्न थालेपछि हामी छेउमा बस्थ्यौं । कतिवेल भलिबल र्झछ र टिप्न पाइन्छ भनेर । बल झरेपछि टिप्न कुद्ने १५ जना जति हुन्थ्यौं । बल भेट्या दिनमा त राजा नै भए जस्तो लाग्थ्यो ।

बा आमा खेतीपाती गर्नुहुन्थ्यो । हाम्रो घरमा कुखुरा पाल्ने चलन थियो । कुखुराले अण्डा पार्दैछ भन्ने थाहा पाएपछि हामी खोर रुँघेर बस्थ्यौं र अण्डा लुकाएर कोठी बजारमा लगेर बेच्थ्यौ । एउटा अण्डाको एक रुपैया दिन्थे । त्यतिवेला एक मोहोरको भटमासले अघाउथ्यौं । खाने कुराहरु पनि अहिले जस्तो थिएन । चकलेट, बिस्कुट थोरै थियो । मालागेडी, केराउगेडी पिपलमेठ पाइन्थ्यो ।

लुगा वर्षमा एकजोर स्कुलको डे्रस हाल्दिने चलन हुन्थ्यो । आइरन साइरन लगाउने चलन थिएन । यताउती कतै जाँदा पनि ड्रेसले चलाइन्थ्यो ।

पढ्न छ भन्दै साथीको घरमा जान्थेँ पढ्न त के खाएर पढ्नु । मेरो राती उठेर हिँड्ने वानी रहेछ । साथीसँग सुत्दा चाँही सर्ट बाँधेर सुत्ने गरेको थिएँ ।

पछि-पछि कोठी बजारमा भाडामा साइकल चढ्ने चलन आएको थियो । एक रुपैंयामा १ घण्टा चलाउन पाइन्थ्यो । दुई तीन जनाले पैसा जम्मा गरेर लान्थे । मेरो पालै आउदैन थियो । जो साइकलमा चढ्यो उ वेपत्ता हुन्थ्यो साइकल लिएर ।

एक दिन साईंला दाई साइकल लिएर जाँदा जाँदै भिरवाट लडेछन् । निकै घाइते भए । त्यसपछि घरमा थाहा भयो । साइकल चढिस् भने हात खुट्टा भाँचिदिन्छु भन्ने आदेश आयो । त्यसपछि साइकल चढ्न छाडेँ ।

दशैंमा सबै घरमा टिका लगाउँदा १२/१३ रुपैंया जम्मा हुन्थ्यो । एक रुपैंया भन्दा धेरै कसैले पनि दिएनन् । त्यो पैसा कापी, कलम र मसी किनेर सकिन्थ्यो । दशैपछि कापी किन्न पर्‍यो भने आमाले ‘तेरै पैसाले किन भन्नुहुन्थ्यो ।’

फागु पुणिर्मा आउन लागेपछि लोला हान्ने चलन सुरु भएको थियो । हामीसँग बेलुन किन्ने पैसा हुन्नथ्यो । हामी अरुले हानेको हेथ्र्यौ मात्रै । एकदिन एउटा केटाले अर्को कक्षामा लोला हान्यो । त्यहाँ सरले पढाइरहनु भएको रहेछ । लोला हान्नेवाला टेबलमुनी छिरिहाल्यो । म हाँसिरहेको थिएँ सरले मलाई सार्‍है नमज्जाले कुट्नु भयो । गल्ति नगर्ने मान्छेलाई किन कुटेको भनेर भनेँ । मेरो कुरा कसले सुन्ने ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment