२० पुस, काठमाडौं । नेपाल पुलिस क्लव र सुदूरपश्चिम बिकास क्षेत्रको टोली १६औं राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सुपर लिगमा प्रवेश गरेका छन् ।
राखेप च्याम्पियनसिप अन्तर्गत विहीबार भएको समूह ए को खेलमा मध्यामाञ्चलबिरुद्ध १-० गोलको कठिन जित निकाल्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो ।
सुदूरपश्चिमको जितमा खेलको सातौं मिनेटमा किरण चौधरीले गरेको गोल नै निर्णायक बन्यो । मध्यामाञ्चलले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न नसक्दा सुपरलिगमा स्थान बनाउन चुक्यो ।
सुदूरपश्चिम लिगमा २ जित र १ हारसँगै ६ अंकका साथ समूह उपबिजेताको रुपमा सुपर लिगमा पुगेको हो ।
समूह ए कै अर्को खेलमा पश्चिमाञ्चललाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै नेपाल पुलिस क्लव पनि समूह बिजेताको रुपमा सुपर लिगमा पुगेको छ ।
पुलिसको जितमा निर्मला बिकले हृयाटि्रक पूरा गरिन् । उनले खेलको चौथो, १५औं र ४२औं मिनेटमा गोल गर्दै हृयाटि्रक पूरा गरिन् । पुलिसका लागि अर्को दुई गोल निरु थापाले गरिन् । उनले खेलको ७७औं र ९०औं मिनेटमा गोल गरेकी थिइन् ।
यसअघि समूह बी बाट एपीएफ र आर्मी लिगमा एक खेल बाँकी छँदै सुपरलिगमा प्रवेश गरिसकेका छन् । शुक्रबार हुने एपीएफ र आर्मीबीचको खेलले समूह बिजेताको टुंगो लगाउनेछ ।
प्रतिक्रिया 4