Comments Add Comment

हिमाली गाउँ राम्चेको रमाइलो (फोटोफिचर)

नुवाकोटको विदुर र त्रिशुली हुँदै धुन्चे पुग्नुअघि सुन्दर बस्ती राम्चे भेटिन्छ । गणेश हिमालको काखमा रहेको यो बस्ती गोसाईंकुण्डको प्रवेशमार्गको रुपमा परिचित छ ।

यस ठाउँको परिवेश र संस्कृतीलाई हिमाली हावाले छोएको छ । हिमाली जिल्ला रसुवाको प्रवेशद्वार समरथली, जिवजिवे, राम्चे र कालिकास्थान वरपर हिमाली शेर्पा संस्कृती भेटिन्छ । शेर्पा पोशाकमा स्तुपाको वरपर युवतीहरु ओम माने पेमे हुँ गाउँदै डुल्छन् ।

तामाङ हेरिटेज ट्रेलको प्रख्यात रसुवाको पदमार्गमा पर्ने राम्चेको जात्रा र पर्वमा अनौठो भेषभुषामा सजिएका तामाङ समुदाय तामाङसेलोसँगै ढ्यांग्रो नाच्दै गाउँ ढुल्छन् । पुस-माघको जाडोमा दक्षिणतर्फको त्रिशुली विदुर उपत्यकामा ढपप्कै ढाकिएको तुवाँलो कपासको रुवाझैं देखिन्छ ।

नजिकैबाट रातो सूर्य उदाउँदै गरेको दृष्यले पदयात्रीलाई रोमाञ्चक बनाउँछ । राम्चेबाट सूर्यास्त पनि मनमोहक लाग्छ ।

हल्का पहेंलो आकाशमा रातो सूर्य उदाइरहेको मनमोहक दृश्यावलोकनका लागि राम्चे नजिकैको कालिकास्थान बजारमा पर्यटकको घुइँचो लाग्छ । गणेश हिमाल र लाङटाङ आधारशिविरसम्म ट्रेकिङमा रमाउन रसुवा पुग्ने पर्यटकका लागि सूर्योदय र सूर्यास्त हेर्न यो ठाउँ उपयुक्त गन्तव्य हो ।

उत्तरतर्फ आँखा अगाडि काला ठूला पहाडबीचमा सेतो गणेश हिमाल टलक्क टल्केको देखिन्छ । हिमालमुन्तिरका स-साना झुपडी छङछङ बग्ने नदीनाला अनि बिहान सूर्यको किरणले रातै बनेको हिमाल यहाँका आकर्षण हुन् ।


यहाँका वनपाखाभर वर्षायाममा जटामसी, पदमचालजस्ता सयभन्दा धेरै प्रजातीका हिमाली फूल फुल्छन् । हिउँदमा रातो, सेतो, फिक्का र गुलाबी रंगका गुराँसले वनै रंगीन देखिन्छ । चखेवा चखेवी, कालिजुरे, खोयाहाँस र दुर्लभ रेडपान्डाजस्ता जीवजन्तुको समेत आक्कलझुक्कल दर्शन पाइन्छ ।

बस्तीपिच्छे स्तुपा बनाइएका छन् भने जताततै बुद्ध संस्कृतीको पर्याय तोरण टाँगिएको देखिन्छ । बस्ती र टोल डुल्दा थाङ्का कलामा कुँदिएका चित्र र मूर्तिसँगै बुद्ध संस्कृतीका जीवन्त अवशेष फेला पर्छन् ।

यहाँको हिमाली कान्लामा कोदो फल्छ । मकै फल्छ अनि आलु पनि । चिनियाँ नाका केरुङअन्र्तगत पासाङल्हामु राजमार्गमा पर्ने राम्चे गाउँ अझै गरिबीको जाँतोमा पिल्सिएको छ । यहाँको भेषभूषा, संस्कृती र चलचलनले सांस्कृतिक रुपमा धेरै धनी रहेको छनक पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment