Comments Add Comment

मध्यपहाडी लोकमार्गमा नवलपुरमा सुनकोशी नदीमाथि पक्की पुलको शिलान्यास 

२२ पुस, चम्पादेवी, ओखलढुंगा । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकालाई मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको फिक्कल गाउँपालिकासँग यातायातले जोड्न सुनकोशी नदीमाथि पक्की पुल बन्ने भएको छ ।

पुलको राज्यमन्त्री चौधरीले शुक्रबार नै शिलान्यास गर्नुभयो । यो पुल निर्माण भएपछि जिल्लाको पश्चिमी भेगका मानिस घुर्मी हुँदै ओखलढुंगा घुमेर जानुपर्ने समस्या नहुने चम्मादेवी गाउँपालिका–२ का अध्यक्ष विष्णु पुलामीले बताए ।

यो पुल निर्माण सम्पन्न भएपछि जिल्ला सदरमुकाम जानसमेत छोटो दूरी पर्नेछ । पुल निर्माणका लागि गत वर्ष नै ठेक्का भए पनि निर्माण कम्पनी टुण्डी/शर्मा जेभीले नक्सा बनाउन ढिलाइ गर्दा शिलान्यास गर्न समय लागेको सो अवसरमा जानकारी गराइयो ।

सुनकोशी नदीमाथि दुई लेनको २०० मिटर लम्बाइको पुल निर्माण हुनेछ । पुल निर्माणपछि ओखलढुंगा पश्चिमी र रामेछापको पूर्वी भेगका बासिन्दा लाभान्वित हुनेछन् । विसं २०७६ असारसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने पुलको लागत रु २१ करोड ९३ लाख रहेको पुल निर्माणमा खटिनुभएका सडक विभागका इञ्जिनियर रमेश सुवेदीले बताए ।

पुलको शिलान्यास गर्दै राज्यमन्त्री चौधरीले अबको राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिए । “आर्थिक समृद्धिका लागि मुलुक स्थिर बाटोमा अघि बढ्नुपर्छ, अन्नको भण्डार तराई, जडीबुटी, जल र ऊर्जाको स्रोत हिमाल एवं पहाडको समन्वयात्मक विकासले मात्र समग्र देशको विकास हुन्छ”– उनले भने ।

पूर्वसांसद खतिवडाले हाल रामेछाप सदरमुकाम मन्थली जान ७० किमी घुम्नुपर्ने बाध्यता रहेकामा पुल सम्पन्न भएपछि १६ किमीमै पुगिने सुनाए । पुल बन्नुअगावै नवलपुर–कोशभञ्ज्याङ–ओखलढुंगा सडक कालोपत्र गर्न आफू लाग्ने वाचासमेत उनले गरे ।

चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले सुनकोशी नदीमाथि पक्की पुल नहुँदा भूकम्पपछिको पुनःनिर्माणमा निर्माण सामग्री लैजान, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या भइरहेको बताए ।

कार्यक्रममा डोलिडारका महानिर्देशक श्रेष्ठ, नेपाली काँग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवार, महासमिति सदस्य डिल्लीराम खनाललगायतले तोकिएकै समयमा पुल निर्माण सम्पन्न गराउन निर्माण कम्पनीको ध्यानाकर्षण गराए ।

निर्माण कम्पनीबाट पुल हेर्न खटिनुभएका उपप्रमुख व्यवस्थापक मञ्जिल मिश्रले समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment