Comments Add Comment

प्रचण्डलाई भेटेर मोहनविक्रम सिंहले भने– वाम गठबन्धनलाई विस्तार गरौं


२७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

प्रचण्डलाई भेट्न सिंह बिहीबार बिहान उनको निवास खुमलटार पुगेका थिए । दुईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सिंह प्रचण्डका राजनीतिक गुरु हुन् ।

भेटका क्रममा उनीहरुबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्षका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए ।

उनीहरुबीच नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने र जनताको अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment