Comments Add Comment

पुष्पलालका ‘सनब्रेभ’ भन्छन्ः तन्नेरी हुने औषधि पाए खान्थेँ

तन्नेरी जोश अझै छ, सूर्यबहादुर मास्केमा


१ माघ, चितवन । नारायणगढका बासिन्दामाझ चर्चित छ, पुतलीबजारको मास्के पुस्तक पसल । पुस्तक र कापी कलमको व्यापार गर्ने चितवनका मात्र होइन, तनहुँ, लमजुङ र गोरखाका व्यवसायी पनि थोक खरिदका लागि यहीँ आइपुग्छन् ।

पसल रहेको घरको माथिल्लो तलामा एक समयका चर्चित राजनीतिज्ञ सूर्यबहादुर मास्के जीवनको उत्तरार्द्ध बिताइरहेका छन् ।

बुढ्यौली र रोगहरुको आक्रमणबाट शरीर शिथिल देखिन्छ । सुगर, प्रेसर, प्रोस्टेटलगायत समस्याबाट पीडित छन्, उनी । स्मरण शक्ति भने निकै बलियो छ ।

विगतका संघर्षमय दिन उनको मुखारविन्दबाट खरर्र निस्किन्छ । स्वास्थ्यको समेत ख्याल नगरी उनी भेट्न आउनेहरुलाई ८२ वर्षको जीवन कहानी बताउन थाक्दैनन् ।

‘तन्नेरी हुने केही औषधि किनेर खान पाउने भए खान्थेँ,’ एक साँझ उनले आफ्नो मनोबलको दैलो उघारे, ‘तर, के गर्नु बुढ्यौलीले दिग्दार बनायो ।’

गोरखामा कम्युनिस्ट आन्दोलनको बीउ रोप्ने उनै थिए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँगको उठबस उनको मानसपटलमा अझै नाचिरहन्छ ।

उनी सानै उमेरमा घर छाडेर आन्दोलनमा होमिएका थिए । २००८ सालदेखि नै उनको मनमा राजनीतिको नशा पस्यो । त्यतिबेला उनी जम्मा १६ वर्षका थिए ।

विद्यार्थी फेडेरेसनमार्फत् कम्युनिस्ट आन्दोलनमा गाँसिए । फेडेरेसनको केन्द्रीय सदस्यसम्म बने । उनको जुझारु शैलीको भाषणबाट पुष्पलाल पनि प्रभावित बनेका थिए ।

पुष्पलालसँग उनको पहिलो भेट काठमाडौंमा भएको थियो । पुष्पलालकी बहिनी र मास्के एकसाथ विद्यार्थी संगठनमा आवद्ध थिए । शहीद गंगालाल र पुष्पलालका बाबु मालपोत कार्यालयमा हाकिम थिए । मास्केका बाबु डिठ्ठा थिए र भोजपुर उनको दरबन्दी थियो । मास्के भोजपुरमै जन्मेका हुन् ।

पुष्पलालले उनलाई ‘सनब्रेभ’ भनेर बोलाउँथे । सनको अर्थ सूर्य र ब्रेभको बहादुर ।

मास्के माओत्से तुङबाट प्रभावित भएर कम्युनिस्ट बनेका थिए । चिनियाँ जनसंघर्षबाट उनी ज्यादा प्रभावित थिए । गोरखा र तनहुँको बन्दीपुरमा उनी बढी सक्रिय थिए, एक समयमा ।

२०१० सालमा गोरखामा बाढी पहिरोका कारणले भोकमरी चल्यो । मानिसले खानै नपाउने अवस्था आयो । पोखरीथोकमा आमसभा राखियो । र, मास्केले चर्को भाषण गरे ।

तत्कालीन आरुघाट नाकाबाट आउने सबै सामान कब्जा गर्ने घोषणा गरे । साहुहरुका भकारी फोरेर गरिबलाई बाँडिदिने चेतावनी पनि दिए । चर्को भाषण गर्दा प्रहरीले पक्राउ गरे जेलमा दैनिक १५ मुठी रासन दिन्थ्यो, त्यही खाएर पेट भर्ने उनको सोच थियो, खासमा ।

त्यो १५ मुठीमध्ये पनि एक माना घर पठाउने, पाँच मुठी खाएर बस्ने उनले उपाय लगाएका थिए । तर, उनी पक्राउ परेनन् ।

त्यतिबेलाका बडाहाकिम मक्करबहादुर वान्तवाले उनलाई जसरी पनि पक्राउ गर्न आदेश दिएका थिए । तर, उनी आफैं वान्तवाकोमा पुगे र पूर्वमा जन्मेको नाता लगाउँदै फस्ल्याङ फुस्लुङ पारे ।

त्यसबीचमा उनी बन्दीपुर पुगे । र, फर्केपछि पालुङटार ठाँटीपोखरीका साहुहरुको भकारी फोर्ने योजना बनाए । त्यस योजनामा उनी सफल भए र साहुहरुको भकारी फोरेर भोकमरी पीडितलाई बाँडिदिए ।

मास्केका राजनीतिक विद्यार्थी यमुनाप्रसाद न्यौपाने उनलाई लडाकु स्वभावको नेताका रुपमा चिन्छन् । ‘उहाँ सानैदेखि कम्युनिस्ट आन्दोलनमा लागेका निडर हस्ती हुनु हुन्छ,’ मास्केका राजनीतिक सहयात्री जगतबहादुर श्रेष्ठ भन्छन् ।

२०१५ सालको पहिलो आम निर्वाचनमा मास्के गोरखाको पार्टी कमान्डर थिए । त्यस क्रममा पार्टीभित्र कलह भयो । उत्तरी भेगबाट जगतबहादुर श्रेष्ठ र दक्षिणबाट हिक्मतसिंह भण्डारीले टिकट पाए । भण्डारी फुजेलका बासिन्दा थिए ।

मास्के चाहन्थे, उत्तरी क्षेत्रबाट भण्डारी र दक्षिणबाट बैकुण्ठ कट्टेलले टिकट पाऊन् । पुष्पलालसँग यही विषयमा कुरा मिलेन । भच्चेक पुगेका पुष्पलालसँग मास्केको विवाद भयो । तर पनि, भण्डारीलाई जिताउन लागिपरे उनी ।

उत्तरी क्षेत्रबाट कांग्रेस नेता कृष्णप्रसाद भट्टराई उठेका थिए । पुष्पलालसँगको निकटताका कारणले जगतबहादुरले टिकट पाएको मास्केको बुझाइ थियो । पुष्पलाल आफैं जगतबहादुरको निर्वाचनमा चुनावी एजेन्ट बसेका थिए ।

मास्के आफूले भने भोट खसाल्न पाएनन् । किनभने, उनी २१ वर्ष पुगेकै थिएनन् । त्यतिबेला २१ वर्ष नपुगी मतदान गर्न पाइँदैनथ्यो ।

चुनावपछि उनलाई गोरखामा बस्न मन लागेन र चितवन झरे, मास्के । यहाँ आएपछि पुस्तक पसल खोले । चितवन आउँदा पनि पुष्पलालले मास्केलाई भेट्न भने छाडेनन् ।


२०२३ सालमा पुष्पलाल र भण्डारीसँग मास्केको भेट भयो, बनारसमा । उनी निजी काममा त्यहाँ पुगेका थिए । पुष्पलाल र भण्डारी भने पञ्चायतको दमनबाट बच्न भागेर बनारस पुगेका थिए ।

पुष्पलाल र भण्डारी कचौडी गल्लीमा बस्थे । जुत्ताको सिरानी र पराल ओछ्याएर सुत्न बाध्य थिए । पुष्पलालसँगको त्यही भेट अन्तिम बन्यो, मास्केका लागि ।

पहिलो आम निर्वाचनपछि राजनीतिबाट निश्क्रिय बनेका उनले ०३६ सालमा मात्र पुनः पुरानो जोश फर्काए । र, राजनीति गर्ने सुर कसेर गोरखा फर्किए ।

जनमत संग्रहमा भोट खसाल्न गएका उनले फेरि राजनीतिक यात्रा थाले । गोरखा सदरमुकामको टुँडीखेलको महेन्द्रज्योतिमा मतदान केन्द्रमा पञ्चायती नेता राजेश्वर देवकोटा र उनी सँगै लाइन बसेका थिए ।

अन्य मतदाताले दुवैलाई खुबै नियालेर हेरे । राजेश्वरले पहेंलोमा छाप लगाए, मास्केले निलो मतपत्रमा ।

त्यस क्रममा मास्केले गोरखामा विष्णु होटेल खोले । पार्टी नेता/कार्यकर्तासँग भेट गर्ने गतिलो बहाना बन्यो, उक्त होटेल ।

एक पटक केशरजंग रायमाझी गोरखा पुगे । उनी रुसीवादी कम्युनिस्ट र राजा महेन्द्रको १ पुस ०१७ को कदमका समर्थकका रुपमा चिनिन्थे । उनले जिल्लामा पार्टीको अध्यक्ष बन्ने नेतासम्म भेटेनन् । त्यसैले मास्केलाई आग्रह गरे । उनी रायामाझीको पार्टी जिल्ला अध्यक्ष बन्न तयार भए तर अरु सहयोगीहरुले विरोध गरे ।

त्यसपछि उनको परिचय बदलियो, रेडक्रसकर्मी र शिक्षासेवीका रुपमा । मास्केको सम्बन्ध प्रिन्सेप शाहसँग थियो । त्यतिबेला रेडक्रसको नेतृत्वमा राजपरिवार नै हुन्थे ।

रेडक्रसकर्मीका रुपमा उनको परिचय ‘राजाको मान्छे’ भनेर आलोचित बन्यो । मास्के भन्छन्, ‘म रेडक्रसमा लागेकाले धेरैलाई जनमत संग्रहमा पञ्चायतलाई भोट हाल्छ भन्ने थियो । तर, मैले बहुदललाई मत दिएँ ।’

प्रिन्सेप शाहले निर्दलमा लाग्न आग्रह नगरेकी होइनन् । तर, उनले मानेनन् । उनको होटेलमा पञ्चहरु पनि आएर बस्थे । त्यसले मास्केलाई राजावादीका रुपमा आलोचित बन्न अझ ठाउँ दियो ।

‘तर, मेरो मनको राजनीति अरुलाई के थाहा हुन्थ्यो र ? बहुदलका पक्षमा मैले गरेको भाषण पत्रपत्रिकामा आयो । तत्कालीन रानी ऐश्वर्यसम्म त्यो कुरा पुगेछ,’ उनी भन्छन्, ‘पत्रिकामा आएको कुरालाई खण्डन गर भनेर दबाब आयो । तर, मैले मानिनँ । मेरा लागि रेडक्रसभन्दा पार्टी ठूलो थियो ।’

उनी फेरि चितवन झरे । र, जिल्ला शिक्षा कार्यालयमा जागिरसमेत खाए । कहाँ, कति विद्यालय खोल्ने भन्ने विषय उनकै जिम्मामा थियो ।

त्यतिबेला जिल्ला शिक्षा अधिकारी कपिल शर्मा थिए । चितवनका अधिकांश प्राथमिक विद्यालय खोल्न मास्केको योगदान छ । आफ्नो प्रगतिशील विचारलाई उनले शिक्षालय खोल्नमा खर्च गरे । कम्युनिस्ट आन्दोलनमा लागेकाहरुलाई ‘नर्मल’ तालिम दिएर शिक्षक बन्न पनि सघाए उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment