Comments Add Comment

‘महन्थ’ नेताको सम्धी मोह

४ माघ, काठमाडौं । ‘सरकारले गर्ने काम गरोस्, किन जस-अपजसमा भागी हुने’ भन्दै राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्ने विषयमा संलग्न नहुने समझदारी गरे ।

यो सहमतिपछि अध्यक्ष मण्डलका अधिकांश नेताहरु राजधानी बाहिर लागे । तर, एकाएक पार्टीकै सिफारिसमा उमाकान्त झा प्रमुख बनेको खबर आएपछि नेताहरु आश्चर्यमा परे ।

सरकारले बुधबार राजपाको सिफारिसमा उमाकान्त झालाई प्रदेश ५ को प्रमुख नियुक्त गरेको छ ।

झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । यति भएकै कारण मात्रै उनी प्रदेश प्रमुख भएका भने होइनन् । उनी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन् र, त्यही कारण प्रदेश प्रमुख भएका हुन् ।

राजपाका एक नेता भन्छन्, ‘राजकिशोर यादव र अनिल झाबाहेक चार अध्यक्षका सम्धी सम्धीनी पार्टीमा छन् । तर, हाम्रो पार्टीमा एउटा मात्रै सम्धी हावी छन् ।’

नातावादमा चुकेका महन्थ

राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुर कांग्रेस छाडेर बुढेशकालमा मधेस राजनीतिमा होमिएका नेता हुन् । उनको छवि महन्थ नाम जस्तै त्यागी एवं शालीन नेताका रुपमा थियो ।  तर पछिल्लो समय उनी नातावादका कारण आलोचित बन्दै गएका छन् ।

ठाकुरकी छोरी मीनाक्षीको विवाह केही समय पहिले उमाकान्त-इन्द्रा झाका छोरासँग भएको थियो । त्यसपछि ठाकुरको राजनीतिमा उनीहरु हावी हुन थालेको मानिन्छ ।

तत्कालीन तमलोपाका अध्यक्ष ठाकुरले दोस्रो संविधानसभामा सम्धिनी इन्द्रालाई सभासद बनाएका थिए । अहिले पनि इन्द्रा राजपाबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा छिन् ।

ठाकुरकै पहलमा सम्धी उमाकान्त झा प्रदेश ५ को प्रमुख बन्न सफल भएका छन् । खिलराज रेग्मी सरकारमा मन्त्री बनाउन पनि सम्धी ठाकुरले नै पहल गरेका थिए ।

अरु नेता तैं चुप, मै चुप

परिवादवाद हावी भएको राजपामा ठाकुरमा मात्र होइन, अरु नेताहरुको अवस्थता पनि त्यस्तै छ । अध्यक्ष मण्डलका सदस्य अनिल झाले पत्नी डिम्पलकुमारी झालाई प्रदेश २ मा समानुपातिकबाट प्रदेशसभा सदस्य बनाएका छन् ।

अर्का नेता राजेन्द्र महतो र राजकिशोर यादवले यसअघि संविधानसभामा पत्नीलाई सभासद बनाएका थिए । यसपालि महतो र यादव पछि हटेका छन् । तर आफूले पनि अवसर पाएका बेला परिवारका सदस्यलाई नै अघि सार्ने गरेकाले राजपाका कुनै पनि नेताले ठाकुरविरुद्ध मुख खोलेका छैनन् ।

कतिपयले भने यो प्रवृत्ति कांग्रेस, एमाले र माओवादीमा पनि रहेको भन्दै पन्छिने गरेका छन् । आफूहरुलाई मात्रै आरोप लगाउनु गलत भएको भन्दै अध्यक्ष मण्डलका एक सदस्यले भने, ‘कांग्रेसमा श्रीमान श्रीमती सांसद बन्दैछन्, प्रचण्डले छोरीलाई मेयर बनाए । एमालेमा पनि त्यस्तै छ । तर, यसबारे चर्चा हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment