+
+

रैथाने बीउ तथा बाली लोप हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ७ गते १०:३५

७ माघ, बैतडी । बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् । उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् ।

रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताए । उनले भने, “पहिलापहिला गाउँघरमा पाइने बीउ आजभोलि पाइनै मुस्किल हुने गरेको छ ।”

उन्नत जातका बीउ स्थानीय हावापानीअनुसार मिल्दोजुल्दो नभएकाले पनि उत्पादनमा समस्या आइरहेको कृषि प्राविधिकले बताएका छन् । पुरानो बीउमा रोगकीरासँग लड्ने क्षमतासमेत रहेकाले उत्पादन राम्रो हुने र हावापानीसँग मिल्ने भएकाले उन्नतजातको भन्दा स्थानीय बीउ राम्रो भएको कृषि प्राविधिक सागर भट्टले बताए ।

स्थानीय तथा रैथाने बीउको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले पनि खासै पहल गरेको देखिँदैन । स्थानीय तथा रैथाने बीउको संरक्षणका लागि कसैले ध्यान नदिँदा बीउ नै लोप हुने अवस्थामा पुगेका छन् । आधुनिकतासँगै रैथाने तथा पुरानो धान, गहुँ, मकै, तरकारी लगायतको बीउ लोप हुने अवस्थामा पुगेको हो । उन्नत जातको बीउसँगै रैथाने बीउ आफैँ हराउँदै गएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ । उन्नत जातको बीउमा उब्जनी राम्रो भएकाले रैथाने बीउ लोप हुन लागेको बताइएको छ ।

पुराना जातका धानसमेत लोप हुने अवस्थामा 

पुराना जातका धानको संरक्षण नहुँदा बैतडीमा पुराना जातका धान लोप हुँदै गएका छन् । नाका, थापाचिनी, राइमनुवा, बासमती लगायतका रैथाने जात लोप हुने अवस्थामा पुगेका हुन् । सबैले उन्नत जातका धानको खेती गर्न थालेपछि पुराना तथा रैथाने जात लोप हुन थालेका हुन् ।

पुराना तथा रैथाने जातका धानको भात मीठो हुने भए पनि उत्पादन कम हुने भएकाले किसानको आकर्षण उन्नत जातमा बढेको जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए । उनले भने, “उन्नत जातमा उत्पादन बढी भए पनि पुराना जातको जस्तो खानमा स्वादिलो भने हँुदैन ।”

पुराना जातका धानको बीउसमेत पाउन मुस्किल हुने गरेको पाटनका धर्मबहादुर बिष्टले बताउनुभयो । उनले भने, “पहिला पहिला पुराना धानको खेती गरिने चलन भए पनि हिजोआज उन्नत जातको धानको खेती गर्न थालेपछि पुराना जातका धान लोप भइसकेका छन् ।”

पुराना जात तथा रैथाने बालीको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले समेत ठोस पहल थाल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?