Comments Add Comment

अपाङ्ग दाजुकी सहारा १० वर्षकी बहिनी, सँधै बुई बोकेर लैजान्छिन् स्कुल

७ माघ, गोरखा । पालुङटार नगरपालिका-९ मदनेडाँडा माविमा प्रार्थनाको घण्टी बज्नै लागेको थियो । हातमा दुईवटा झोला र बुईमा अर्का विद्यार्थी बोकेर एक छात्रा विद्यालयको गेटबाट छिरिन् ।

उनी थिइन्, पालुङटार नगरपालिका-९ छेरेककी १० वर्षीया सुस्मिता बराम । उनले बोकेको अर्का विद्यार्थी अरु कोही नभएर उनकै १२ वर्षीय दाजु लक्ष्मण हुन् ।

जन्मजात अपाङ्गता भएका कारण लक्ष्मण सामान्य हिडँडुल गर्न पनि सक्दैनन । घरदेखि विद्यालयसम्म आइपुग्न उनलाई सहारा चाहिन्छ । त्यसैले उनको सहारा बनेकी छन्, एउटै स्कुलमा पढ्ने बहिनी सुस्मिता ।

सुस्मिता दुई कक्षामा पढि्छन् भने दाजु लक्ष्मण तीनमा । ‘दाइ र उसको झोला पनि बोक्नुपर्छ, घरबाट आउँदा आधा घण्टा उकालो पर्छ, पालो दिने कोही नभएका बेला त झन् गाह्रो हुन्छ’ दाजुलाई बोकेर विद्यालय ल्याउँदाको दुखबारे सुस्मिताले अनलाइनखबरसँग भनिन् । लक्ष्मणलाई विद्यालय ल्याउन र लैजान सुस्मितालाई उनकी साथी करुणा पाटाले साथ दिँदै आएकी छिन् ।

विद्यालयमा चार जना अपाङ्ग विद्यार्थी छन् । तर लक्ष्मणको समस्या जटिल रहेको प्रधानाध्यापक रुद्रप्रसाद उप्रेती बताउँछन् । ‘सामान्य हिँडडुल गर्न पनि सक्दैनन्, शौचालय जान पनि अरुले बोकेर लगिदिने गरेका छन्,’ उप्रेतीले भने । विद्यालयमा शौचालय लैजान लक्ष्मणलाई साथीहरुले सहयोग गर्दै आएका छन् ।

‘यिनीहरुलाई छाडेर आमा अर्कैसँग विवाह गरेर गइन्, लक्ष्मणलाई एउटा संस्थाले दिएको ५० हजार नगद पनि लिएर गइछन्,’ प्रधानाध्यापक उप्रेतीले भने ‘आर्थिक अवस्था कमजोर छ कसैले सहयोग गरिदिए धर्मै हुने थियो ।’

बाबु पनि अपाङ्ग

जन्मजात अपाङ्ग लक्ष्मण बरामको बाबु मीनबहादुर पनि अपाङ्ग छन् । उनी जसोतसो मजदुरी गरेर परिवारको जीविकोपार्जन गरिरहेका छन् । उनी हाल भक्तपुरको ऊनी कारखानामा काम गर्छन् । अपाङ्गता भएका लक्ष्मण र उनकी बहिनीलाइ अलपत्र पारेर उनीहरुका आमा अर्काेसँग विवाह गरेर गएकी छिन् । अहिले लक्ष्मण र उनकी बहिनी सुस्मिता हजुरआमा र हजुरबुबाको संरक्षणमा छन् ।

आयआर्जन गर्ने बाटो नहुँदा विहान बेलुकाको छाक टार्न पनि समस्या भएको हजुरआमा सुनमाया बराम बताउँछिन् । ‘यिनीहरुका बाबु पनि अपाङ्ग छ, राम्रोसँग काम गर्न सक्दैन, पोहोर साल आमा चाहिँ अर्कैसँग गई, दुखसुख गरेर हुर्काइरहेको छु,’ सुनमायाले भनिन् । भूकम्पमा घर भत्केकाले उनीहरु टहरोमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment