११ माघ, काठमाडौं । देउवा सरकारका काम कारबाहीको विरोध गर्न आयोजित पत्रकार सम्मेलनमा उपस्थित एमाले अध्यक्ष केपी ओलीले फरक प्रश्नको सामना गर्नुपर्यो । त्यो फरक प्रश्न नवराज सिलवाल र दीपक मनाङ्गेका विषयमा थिए ।
नवराज सिलवालको प्रश्न ओलीका लागि अपेक्षित नै थियो तर, अर्को प्रश्न भने उनले शायदै अपेक्षा गरेका थिए ।
ओलीलाई पत्रकारको अपेक्षित प्रश्न थियो- एमालेबाट ललितपुर १ मा सांसद विजयी पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्ने प्रहरी प्रयास र सुरक्षा मागबारे पार्टीको धारणा के हो ? यसमा ओलीले आफू असुरक्षित रहेको सिलवालको वयान स्वाभाविक माने ।
सिलवाल काण्डबारे अब बन्ने नयाँ सरकारले छानविन गर्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘सपथ लिन त आउलान् नि । देशलाई ठूलो नोक्सान पुर्याएर भागेको पनि होइन । किन १६५ प्रहरी कुदाएर तामासा गर्दैछ ?’
सिलवाल काण्डपछि ओलीलाई दीपक मनाङ्गेबारे प्रश्न आयो, जुन अनपेक्षित मानिएको छ ।
मनाङ्गेलाई अदालतको सुनाएको सजायँ पनि नयाँ सरकारले रद्द गर्छ ? यो प्रश्नमा ओलीले ‘स्वतन्त्र सभासद, नाम के रे ?’ भन्दै जवाफ दिए ।
मनाङ्गेलाई के मुद्दा थियो र के फैसला गर्यो थाहा नभएको भन्दै ओलीले भने, ‘अदालतले फैसला गरेको छ, मैले गरेको होइन । उहाँ उठ्नुभयो, जित्नुभयो, मुद्दा थियो, छ, यो उहाँको कुरा हो । हाम्रो सरोकारको विषय होइन ।’
प्रतिक्रिया 4