१४ माघ, रौतहट । रौतहटका मुस्लिम महिला दाइजो प्रथालाई उन्मुलन गर्न सक्रिय बनेका छन् ।
वृन्दावन नगरपालिका ७ सखुअबा धमौराको मुस्लिम टोलका महिलाहरुले समूहनै गठन गरेर दाइजोविरोधी अभियान शुरु गरेका छन् ।
दाइजोका कारण आर्थिक अवस्था धराशायी हुने र गरीब परिवारका छोरीहरुको विवाह नै हुन नसक्ने अवस्था आएपछि महिलाहरु दाइजोविरोधी अभियानमा सक्रिय भएका हुन् ।
‘हामी महिलाहरु मिलेर चाँद सितारा महिला स्वाबलम्बन समूह गठन गरेका छौं । यो समूहको सक्रियतामा गाउँका ४ जनाको विहे दाइजो नदिएरै भएको छ’ स्थानीय जनदिबिया खातुनले भनिन् ‘इस्लाम धर्मले दाइजोको लेनदेनलाई गुनाह (पाप) भनेको छ । त्यसैले हामीले विहे गराउने मोलवी धर्मगुरुहरुलाई समेत दाइजो लिनेको विहे नै नगराउन भनेका छौं ।’
महिला समूहकै सक्रियतामा आफ्नो छोरीको उमेर पुगेपछि मात्र विवाह गर्न श्रीमानलाई राजी गराउन सकेको उनले बताइन् । ‘मेरो छोरी आसमुन खातुनको गत २०७२ माघ महिनामा विवाहका लागि श्रीमानले कटहरियाको केटासँग कुरा चलाउनु भएको थियो’ जनदिबियाले भनिन् ‘उमेर नै नपुगेको छोरीको विवाह अहिले नगराउनु भन्दा श्रीमान मान्नुभएको थिएन तर समूहका सदस्यहरुले छोरीलाई सीप सिकाउनुस र बेला भएपछि मात्र बिहे गर्नु भनेपछि उहाँ पनि राजी हुनुभयो ।’
पछि छोरीले ३ महिनासम्म सिलाइ कटाइको तालिम लिएको र यस वर्ष १९ वर्ष पूरा भएपछि मंसिरमा विवाह गरेको उनले बताइन् ।
महिलाहरु समूहमा दाइजो प्रथा, बालविवाह, बहुविवाह, महिला हिंसा, चर्पी, सरसफाइ, बचत, आयआर्जन, गरीबी, शिक्षा आदि विषयमा छलफल गर्ने गर्छन् ।
छोरीको विवाहका लागि केटा पक्षलाई दिएको ५० हजार रुपैयाँ पनि उनीहरुले फिर्ता गरेका जनदिबियाले बताइन् । ‘श्रीमानले ऋण काढेर दिएको पैसा फिर्ता पाएपछि खुशी लाग्यो’ उनले भनिन् ‘छोरीले अहिले सुखद दाम्पत्य जीवन बिताइरहेकी छिन् । मेरो छोराको बिहे गर्दा म पनि दाइजो लिन्न ।’
प्रतिक्रिया 4