Comments Add Comment

बादललाई ‘डेन्जर जोन’मा पर्न नदिन बेदुरामको उम्मेदवारी फिर्ता !

माधव नेपाललाई मनाउन विहानै सिंहदरवारमा गठबन्धनको बैठक

सोमबार बिहान बसेको एमाले र माओवादीको बैठक । तस्वीर: चेतन अधिकारी

१५ माघ, काठमाडौं । सोमवार विहानै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सिंहदरवारमा कार्यदल सहितको वार्ता भन्ने सूचना फैलियो । खासमा त्यो बैठक माधव नेपाललाई मनाउनका लागि ओली र प्रचण्डले डाकेका थिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा ३ नम्बर प्रदेशबाट उम्मेदवार बनेका नेता रामवहादुर थापा बादल ‘डेन्जर जोन’मा पर्न सक्ने आशंका माओवादीले गरेपछि वाम गठबन्धनका शीर्ष नेता एमाले संसदीय दलको कार्यालयमा आकस्मिक रुपमा जम्मा भएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार साना दलले कांग्रेसका राधेश्याम अधिकारीलाई समर्थन गरिसकेको अवस्थामा वाम गठबन्धनका खुलातर्फ दुईमात्र उम्मेदवार जित्ने निश्चित छ । तर गठबन्धनबाट तीनजना उम्मेदवार बनेका कारण यदि एमालेबाट अन्तर्घात भएमा बादल हार्न सक्ने खतरा देखिएपछि माओवादी झस्कियो ।

एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल उम्मेदवार छन् भने माओवादीबाट बादल उम्मेदवार छन् । प्राथमिकता क्रममा एक नम्बरमा बास्कोटा र २ नम्बरमा बादल भए पनि माधव नेपाल पक्षले बेदुराम भुसाललाई पहिलो प्राथमिकताको मत दिएको अवस्थामा गडबडी हुने देखियो ।

एमालेभित्र भुसाल माधव नेपालका सदावहार निकट नेता हुन् भने बास्कोटा बामदेव गौतमका निकटस्थ हुन् । नेपाल पक्षले बेदुरामलाई पहिलो प्राथमिकताको मत दिएको खण्डमा बास्कोटा वा बादल हार्न सक्ने भएकाले उनको उम्मेदवारी फिर्ता लिनुपर्ने प्रस्ताव माओवादीले राखेको छ ।

साना दलसँग आज निर्णायक छलफल गर्ने र उनीहरुको मत नआउने अवस्थामा बेदुराम भुसालको उम्मेदवारी कायम नरहने सहमति बैठकमा भएको छ । बैठकस्थलबाटै नेमकिपाका नेताहरुलाई फोन गर्दा सकारात्मक जवाफ नआएको स्रोतले जनाएको छ । तीनजना उम्मेदवार कायम राखेर जिताउनैपर्ने उम्मेदवार हार्न सक्ने खतरा मोल्न नहुनेमा नेताहरु सहमत भएका छन् ।

साना दलको मत आउने निश्चित नभएको खण्डमा आजै भुसालको उम्मेदवारी फिर्ता हुने बैठकमा सहभागी एक नेताले बताए । ‘एमालेभित्रबाटै गडबडी भएर बादल हारेमा पार्टी एकता नै संकटमा पर्ने देखियो, त्यसैले आज दिउँसो उम्मेदवारी फिर्ता लिने समयभित्र भुसालको उम्मेदवारी फिर्ता हुनेछ,’ ती नेताले भने ।

माधव नेपालले भुसालको उम्मेदवारी कायम रहनुपर्ने पक्षमा शुरुदेखि नै अडान लिए पनि शीर्ष बैठकमा सहमति जनाएका छन् । निर्वाचन आयोगले दिएको समय अनुसार अपरान्ह २ बजेसम्म उम्मेदवारी फिर्ता लिनुपर्नेछ ।

शीर्ष बैठकमा एमालेबाट अध्यक्ष ओली,बरिष्ठ नेता माधव नेपाल र कार्यदल संयोजक सुवास नेम्वाङ सहभागी थिए भने माओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र बादल सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment