Comments Add Comment

डिफेन्डिङ च्याम्पियन मनाङ पुलिससँग स्तब्ध

 

१६ माघ, पोखरा । डिफेन्डिङ च्याम्पियन हुण्डाई मनाङमस्र्याङदीलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पाँच पटकको उपाधि बिजेता मनाङलाई ३-१ गोल अन्तरले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । यससँगै सेमिफाइनल समिकरण पुरा भएको छ ।

अब पुलिसले फाइनल प्रवेशका लागि बिहीबार धरान फुटवल क्लव सुनसरीसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टारले उत्तर बरिन्धरा क्लव बंगलादेश प्रतिष्पर्धा गर्नेछ र

पोखरा रंगशालामा पहिलो हाफ गोलरहित खेलेको पुलिसले दोश्रो हाफमा लगातार ३ गोल गर्‍यो भने मनाङले खेल सकिन ८ मिनेट बाँकी छँदा सान्त्वना गोल गर्‍यो ।

पटक/पटकको प्रहार असफल भइरहेका बेला पुलिसका निरकुमार राईले ५३ औं मिनेटमा गोल गर्दै पुलिलाई अग्रता दिलाए ।बिपक्षी डिफेन्डरबाट रिबाउण्ड भएको वललाई डि-बक्स भित्र रहेका उनले सेकेण्ड बार च्याप्दै प्रहार गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको हो । पहिलो गोल गरेको ४ मिनेट पनि नबित्दै पुलिसले दोश्रो गोल थप्यो । ५७ औं मिनेटमा तेज तामाङको पासमा पेनाल्टी एरियामा रहेका दिनेश राजवंशीले हेडर गोल गरे । तेश्रो गोल भने पुलिसले ७२ औं मिनेटमा गर्‍यो । निरकुमारको पासमा सुमन लामालेसुन्दर गोल गरे ।

गोल खाएपछि मनाङ आक्रामक बनेको थियो । तर, उसका एकपछि अर्को प्रहार असफल भयो । ८२ औं मिनेटमा क्याप्टेन अनिल गुरुङले चेस्टले मिलाईदिएको पासलाई पेनाल्टी एरियामा रहेका विशाल राईले सान्त्वना गोल गरे ।

पहिलो हाफमा दुवैले रक्षात्मक पंक्ति बलियो बनाएर काउण्टर अट्याकलाई प्राथमिकता दिए । जसका कारण दुवैतर्फको कयौं प्रहार गोलमा परिणत भएन भने खेलपनि उत्कृष्ट हुन सकेन ।

युवा खेलाडीले भरिएको पुलिसले थप आधा दर्जन गोल गर्ने अवसर खेर फाल्यो । १८ औं मिनेटमा थ्री भर्सेज टु को अवस्थामा पनि पुलिस गोल गर्न चुक्यो । काउण्टर अट्याकमा गएका बेला सुमन लामाको क्रसमा निरकुमार राईले मिलाई दिएको पासमा अभिषेक रिजाल गोल गर्न चुके । पेनाल्टी एरियामा बिपक्षी गोलकिपर दिनेश थापा मगरसँगै रहेका उनले वल नियन्त्रण लिन नसक्दा सेकेण्ड बार हुँदै बाहिरियो ।

४१ औं मिनेटमा रवि पासवानको क्रसमा पेनाल्टी एरियामा रहेका अभिषेक रिजालको प्रहार बिपक्षी गोलकिपर मगरले विफल पारे । ५९ औं मिनेटमा सुमन लामाको प्रहार फष्र्ट बार हुँदै बाहिरियो । ६८ औं मिनेटमा सुमन लामाको पासमा क्याप्टेन हेम तामाङको प्रहार क्रस बारमाथिबाट बाहिरियो । ८१ औं मिनेटमा निरकुमार राईको पासमा सन्तोष लामाको कडा प्रहार बिपक्षी टिम मनाङका सब्ष्टीच्यूट खेलाडी सुवास गुरुङले गोल लाइन नजिकैबाट बचाए ।

चार जना विदेशी खेलाडी बिनानै मैदानमा उत्रिएको मनाङले पनि करीब एक दर्जन गोल गर्ने अवसर खेर फाल्यो ।

दर्शकको साथ पाएको मनाङको फिनिसिङ कमजोर बन्दा बाई पाएर क्वाटरफाइनल आएपनि पहिलो खेलबाटै बाहिरियो । पोखरेली अनिल गुरुङले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने मनाङबाट खेल खेल्नकै लागि जापानबाट आएका सन्तोष साहुखलले पनि कुनै चमत्कार देखाएनन् ।

मनाङले ३० औं मिनेटमा गोल गर्ने पहिलो अवसर पाएको थियो । सुजल श्रेष्ठले मिलाई दिएको ब्याक पासमा सन्तोष साहुखलले प्रहार गरेको लेफटी किक सेकेण्डबार हुँदै बाहिरियो । ३३ औं मिनेटमा अनिल गुरुङको पासमा सुजल श्रेष्ठले करीब ३५ यार्ड टाढाबाट गरेको कडा प्रहार किपरले जम्प गरेर मुश्किलले पञ्च गर्दै बचाए । ३७ औं मिनेटमा करीब २८ यार्ड टाढाबाट विशाल राईले प्रहार गरेको वल क्रस बार भन्दा थोरै माथीबाट बाहिरियो ।

दोश्रो हाफको पहिलो मिनेटमै सुजल श्रेष्ठले दिएको क्रस पासमा पेनाल्टी एरियामा रहेका अनिल गुरुङले गरेको हेडर वल बिपक्षी गोलकिपर चौधरीको हातमै पर्‍यो । ४८ औं मिनेटमा हेमन गुरुङले फष्र्ट बार च्याप्दै गरेको कडा प्रहार बिपक्षी गोलकिपर चौधरीले जम्प गर्दै पञ्च गरेर बचाए । ६२ औं मिनेटमा अनिलको पासमा सन्तोष साहुखलको प्रहारमा पनि गोलकिपर चौधरी नै बाधक बने ।

दोश्रो हाफको ५ मिनेटको ईञ्जुरी समयको पहिलो मिनेटमा सन्तोष साहुखलले करीब ३० यार्ड टाढाबाट प्रहार गरेको वललाई पनि गोलकिपर चौधरीले असफल पारे । ईञ्जुरी समयकै चौथो मिनेटमा हेमन गुरुङको पासमा अनिल गुरुङको हेडर चौधरीले नै विफल पारे ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले योजना अनुरुप नै खेलाडीले खेल खेल्दा जित सहज भएको बताए । ‘ईफोर्ट लगाएर खेल खेले, जसका कारण सोंचेजस्तै परिणाम आयो’-उनले भने ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले चार विदेशी खेलाडी बिना नै मैदानमा उत्रिँदा त्यसको असर खेलमा परेको बताए । पहिलो हाफमा आफ्ना खेलाडीले खेल जितिहालिन्छ भनेर खेलेको तर, दोश्रो हाफमा दवाब झेल्नुपरेको र त्यो थेग्न नसक्दा पराजित हुनुपरेको जिकिर गरे ।

उनका अनुसार मंगलबारको खेलमा विदेशी खेलाडी भिक्टोर, मुसो, सोलोलगायतका खेलाडी खल्न पाएनन् । वर्क परमिट नभएकालाई खेलमा प्रतिबन्ध लगाएपछि उनीहरुले खेल्न नपाएका हुन् ।

तस्वीरः युनिस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment