Comments Add Comment

पहिलो अभ्यास खेलमा नेपाल विजयी, पारससँगै दिलिप नाथ र रोहित चम्किए

१६ माघ, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूको तयारीमा रहेको नेपालले पहिलो अभ्यास खेलमा यूएईको ‘ए’ टिमलाई २५ रनले हराएको छ ।

नेपालले तीन बल खेल्न बाँकी छँदा सबै विकेट गुमाएर २४६ रन बनाएको थियो । जवाफमा यूएई एले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।

फहाद नवाज र चिराग सुरीले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । तर, नवाज ३६ रनमा आउट भएपछि घरेलु टोलीले लगातार विकेट गुमायो । १११ रन जोड्दा ५ विकेट गुमाएको उसका निल लोबोले ५९ रनको पारी खेले । सुरीले ४५ रन बनाए भने अन्यले २० रन कटाउन सकेनन् ।

नेपालका कप्तान पारस खड्का एक्लैले ९.४ ओभरमा ३६ रन दिएर ५ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा ललित भण्डारी र करण केसीले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालको सुरुवात खासै राम्रो हुन सकेन । पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल १८ रनमा आउट हुँदा टिमको स्कोर ३६ रन थियो । तर, अनिल कुमार साहले दिलिप नाथलाई साथ दिने प्रयास गरे ।

दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका दिलिपनाथ ६१ रनमा आउट भए । अनिलकुमार व्यक्तिगत ३१ रनमा आउट भए । पारस खड्का २० रन बनाउँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले २-२ रनमै आउट भए र कुल स्कोर १३६ रन हुँदा नेपालले ६ विकेट गुमाएको थियो ।

तर, रोहितकुमारले राम्रो पारी खेले । सातौं विकेटका बसन्त रेग्मीसँग ४५ रनको साझेदारी गरेका उनले करण केसीसँग ५५ रनको पार्टरशीप गरे । रोहित ४३ रनमा आउट भए भने करण केसीले ३५ र बसन्त रेग्मीले २१ रन बनाए । अन्तिम विकेटका रुपमा शक्ति गौचन मात्र २ रनमा आउट भएका थिए ।

यूएई एका लक्ष्मण श्रीकुमारले ३ विकेट लिए भने मोहम्मद कासिम र कार्तिक मयप्पनले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment