+
+

जबजको औचित्यः नेपालदेखि अमेरिकासम्म

ईश्वरी रिजाल ईश्वरी रिजाल
२०७४ माघ १७ गते १२:०४

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाकालका बेला नेपाली राजनीतिमा एकतन्त्रीय निरंकुशसत्ता हावी थियो । आर्थिक-सामाजिक क्षेत्रमा सामन्ती र पूँजीवादी उत्पादन सम्वन्धका चरम असमानता र विभेद चर्को अवस्थामा थियो ।

राष्ट्रियतामाथि वैदेशिक हस्तक्षेप र थिचोमिचोले सीमा नाघिसकेको थियो । यी कारणबाट मुलुकको आर्थिक-सामाजिक चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको ठहर गर्दै यसलाई परिवर्तन गर्न पूँजीवादी जनवादी क्रान्तितर्फ संघर्ष अगाडि बढाउने निश्कर्ष कम्युनिष्ट पार्टीले निकाल्यो ।

जसअनुसार संघर्षले तिव्रता प्राप्त गर्दै जाँदा ०६२/०६३ सालको शान्तिपूर्ण जनक्रान्तिले विशिष्ट प्रकारको पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेको छ । यसको चरणवद्ध विकास गर्दै समाजवादको आधार तयार गर्ने अवस्थामा आज मुलुक आइपुगेको छ ।

कम्युनिष्ट आन्दोलनका मतभिन्नता र जबजको बिकासः

न्युनतम लक्ष्य जनवादी व्यवस्था स्थापनाको कार्यभार पूरा गरेर अधिकतम लक्ष्य समाजवाद स्थापना गर्ने मान्यतामा नेपालका कम्युनिष्टहरूबीच आधारभूत तहका सैद्धान्तिक मतभेद देखिँदैन । तर, जनवादी व्यवस्थका लागि गरिने क्रान्तिको बाटो र जनवादी व्यवस्थामा अपनाउने राजनीतिक, आर्थिक र सामाजिक स्वरूप एवम् ढाँचाका बारेमा भने मत भिन्नताहरू छन् । यिनै मतभिन्नताको पृष्ठभूमिबाट नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद बिकसित हुन पुग्यो ।

मुख्यगरी जनवादी क्रान्तिको बाटो र क्रान्तिपछि स्थापना हुने व्यवस्थाका राजनीतिक, आर्थिक र सामाजिक स्वरूप एवं ढाँचाका बारेमा नवीन मान्यता आत्मसात गरेको र ती मान्यताहरू व्यवहारतः सिद्ध हुँदै गएकाले जबज यतिखेर नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ ।

जबजले आत्मासात गरेको शान्तिपूर्ण क्रान्तिको बाटोः

जबजले क्रान्तिको बाटो मनोगत हुंदैन बस्तुगत हुन्छ भन्दै कुनै ठाउविशेष सफल भएका प्रयोगहरू जस्ताको तस्तै यान्त्रिक तरिकाले आयात गर्न नसकिने कुरामा बिशेष जोड दिएको छ ।

अन्य मुलुकहरूमा जनवादी क्रान्तिका लागि अप्नाइएको सशस्त्र संघर्षहरू नेपालमा जस्तो शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने परिवेश नभएकाले त्यस्तो बाटो अप्नाउन परेको हो । तर, नेपालमा शान्तिपूर्ण सघर्षको बाटोलाई अप्नाउन सकिने आधारहरू विद्यमान रहेकाले यसैको माध्यमबाट क्रान्तिकारी परिवर्तन सम्वभ छ भन्ने मौलिक निश्कर्ष जबजले आत्मासात गरेको हो । जुन बाटो नेपालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने अन्तिम बाटोसमेत बन्न पुगेकाले यो व्यवहारतः सिद्ध भएको छ ।

लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीतिक मान्यताः

समाजवाद स्थापनाका लागि जबजको मार्गदर्शन नेपालमा मात्र होइन, अन्तराष्ट्रिय तहमा समेत सान्दर्भिक हुँदै गइरहेको देखिन्छ । यस्तोबेला नेपालमा चाहिँ जबजको औचित्य नदेख्नु ठूलो विडम्वना सिवाय अरु केही हुन सक्दैन

राजनीतिमा प्रकट हुने द्वन्द्वसँग निरपेक्ष वल प्रयोगको माध्यमलाई मात्र होइन प्रतिस्पर्धाको माध्यमलाई पनि अप्नाउनु पर्दछ भन्नेमा जबजको विशेष जोड रहेको छ । त्यसैले वर्गीय राजनीतिक अस्तित्वलाई संविधान र कानूनको परिधिभित्र रही राजनीतिक प्रतिष्पर्धा गर्न पाउने लोकतान्त्रिक विधिलाई जबजले अगाडि सारेको छ । यसखालको प्रतिीपर्धामा व्यक्त हुने जनमतद्वारा पार्टीहरूको वर्गीय हैशियत छिनोफानो गर्न सकिने कुरामा जबजको दृढ विश्वास रहेको छ ।

क्रान्तिकारी र वुर्जुवा दुई विपरित शक्तिबीचको प्रतिस्पर्धाधात्मक टक्करबाट क्रान्तिकारी शक्तिका पक्षमा जनमतको मात्रात्मक बिकास बढोत्तरी गर्दै गुणात्मक फड्कोतर्फ अगाडि बढ्ने र बुर्जुवा चिन्तन र प्रवृत्तिलाई निषेधको अवस्थामा पुर्‍याउने जबजको मान्यता द्वन्द्ववादसम्मत रहेको छ ।

साथै, माक्र्सवादी दर्शनको सार्वभौम नियमलाई राजनीतिक क्षेत्रमा कुशलतापूर्वक प्रयोग गरिएको नमूनाको रूपमा यो स्थापित छ । जबजको यो मान्यता नेपाली राजनीतिको हरेक प्रतिस्पर्धामा क्रमशः सत्य सावित हुँदै गइरहेको पनि छ ।

तीनखम्बे सन्तुलित अर्थतन्त्र

अर्थतन्त्रमा जबजले राजकीय, निजी र सहकारी क्षेत्रको भूमिकालाई महत्व दिँदै मिश्रति अर्थात तीनखम्वे अर्थतन्त्रलाई अवलम्वन गरेको छ ।

यसले अर्थतन्त्रको निश्चित क्षेत्रमा राज्यलाई सार्वजनिकरणको भूमिकामा अगाडि बढाउँदै जनताका अत्यावश्यक सेवा आपुर्ति र ठूल्ठूला भौतिक संरचना निर्माणमा केन्दि्रत गराउने छ । साथै निजी क्षेत्रलाई पर्याप्त राष्ट्रिय पूँजी निर्माण र रोजगारी सिर्जनामा योगदान पुर्‍याउन सक्नेगरी उद्यमीकरणतर्फ अगाडि बढाउनेछ ।

त्यसैगरी सहकारी क्षेत्रलाई उत्पादनशील बनाउँदै सामुहिकिकरणको भूमिकातर्फ उद्दत गराउने छ । अर्थात राजकीय क्षेत्रको भूमिकालाई सार्वजानिककरणतर्फ, निजीक्षेत्रलाई उद्यमिकरणतर्फ र सहकारी क्षेत्रलाई सामुहिकिकरणतर्फ बिकास र रूपान्तरण गर्दै लाने छ ।

राज्य, निजी र सहकारी तिन क्षेत्रबाट उत्पादन हुने सेवा र बस्तुमा प्रगतिशिल करको माध्यमबाट सामाजिक सुरक्षा र लोककल्याणकारी कार्यलाई प्रभावकारी बनाइने छ । जबजले अवलम्वन गरेको यस आर्थिक प्रणालीको माध्यमबाट नेपालको आर्थतन्त्रलाई क्रमशः समाजवादी अर्थतन्त्रमा रूपान्तरण गरिने छ ।

सामाजिक वहुलताको पक्षपोषण

जबजले बहुलवादी खुला समाजलाई कार्यक्रमको थप विशेषताका रूपमा अपनाएको छ । यस मान्यता अपनाएका कारण, एमालेले पदार्थ सृष्टिको एकतत्ववादी दार्शनिक मान्यता त्यागेर बहुतत्ववादी अर्थात बहुलवादी मान्यता अंगाल्न पुग्यो भन्ने आरोप लागाइयो ।

नेकपा (एमाले) र यसको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले पदार्थ सृष्टिका बारेमा बहुतत्ववादी मान्यतालाई हैन, माक्र्सवादको एकतत्ववादी दार्शनिक मान्यतालाई नै अंगालिरहेको छ । दर्शनसँंग सम्वन्धित वहुलवाद र समाजसँग सम्वन्धित बहुलवाद फरक-फरक अर्थ दिने अवधारणा हुन् ।

सामाजिक क्षेत्रमा रहेको बहुलताको अवधारणाले समाजमा विध्यमान विभिन्न बिचार, सिद्धान्त, धर्म, दर्शन र संस्कृतिको क्षेत्रमा हुने वहुलतालाई व्यक्त गर्दछ । तिनलाई सम्मानपूर्वक बिकास र संरक्षणका लागि लाग्न पाउने सामाजिक स्वतन्त्रताको कुरा जबजले गरेको छ ।

संक्षेपमा सामाजिक अर्थमा बहुलवाद भनेको अनेकता र विविधताको सम्मान गर्दै तिनिहरूलाई एकताको सूत्रमा संविधानमा समेट्न एमालेले ठूलै राजनीतिक र बैचारिक संघर्ष पनि गरेकोछ ।

जनवादी क्रान्ति र जनवादी व्यवस्थाले एउटै अर्थ बोक्दैनन्

क्रान्ति एक परिवर्तनको पर्यावाची शव्द हो । आर्थिक-सामाजिक रूपमा यसले उत्पादन सम्वन्धको परिवर्तनलाई अभिव्यक्त गर्दछ भने राजनीतिक रूपमा यसले राज्यसत्ताको परिवर्तनलाई अभिव्यक्त गर्दछ ।

त्यसैले जनवादी क्रान्तिलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक पुरानो सामाजिक व्यवस्थालाई हटाएर नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिको रूपमा बुझ्नुपर्दछ ।

यस क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्तको औचित्यलाई पनि यसैको सीमाभित्र रहेर बुझ्नु पर्दछ । कतैकतै हामीमा जनवादी क्रान्ति र जनवादी व्यवस्थालाई एउटै अर्थमा बुझ्ने भ्रमहरू रहने गरेका छन् । यसले जनवादी क्रान्तिको चरण समाप्त भएपछि त्यसलाई मार्गदर्शन गर्ने सिद्धान्तको चरण पनि समाप्त भयो भन्ने गोलमटोल निश्कर्षतिर पुर्‍याउँछ । अहिले ठीक यस्तै गोलमटोल प्रकारका बहसहरू चल्न थालेका छन् ।

सर्वप्रथम जनवादी क्रान्तिले जनवादी व्यवस्थाको साधनका रूपमा अर्थ राख्छ भने जनवादी व्यवस्थाले जनवादी क्रान्तिको साध्यका रूपमा अर्थ राख्छ । अर्थात जनवादी क्रान्ति एक साधन हो भने त्यस साधनद्वारा प्राप्त भएको जनवादी व्यवस्था एक साध्य हो ।

नेकपा (एमाले) ले देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक सामाजिक व्यवस्थालाई हटाउन गरिने क्रान्ति -साधन) लाई पूँजीवादी जनवादी क्रान्ति वा जनताको वहुदलीय जनवादी क्रान्ति भन्यो । त्यस क्रान्ति (साधन) ले अर्धसामन्ती र अर्धऔपनिवेशिक सामाजिक व्यवस्थालाई हटाएपछि जनताको वहुदलीय जनवादी व्यवस्था (साध्य) प्राप्त हुनेछ भनेर पनि स्पष्टताका साथ बतायो ।

यही मान्यताअनुसार ०६२/०६३ को शान्तिपूर्ण क्रान्तिबाट उपरिसंरचनाको रूपमा रहेको निरंकुश राजतन्त्र ढलेर जनताको बहुदलीय जनवादको महत्वपूर्ण राजनीतिक अङ्ग लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । साथै अर्धसामन्ती आर्थिक आधारमा पनि परिवर्तन आएर पूँजीवादको प्रारम्भिक चरणमा मुलुक प्रवेश गरेको छ । त्यसैले नेपालमा विशिष्ट प्रकारको पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो भन्ने निश्कर्ष पार्टीले निकाल्न पुगेको हो ।

यही निश्कर्षका आधारमा अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनताको बहुदलीय जनवादी व्यवस्थाको राजनीतिक अध्याय प्रारम्भ भएको व्यवस्था हो । साथै पुँजीवादको प्रारम्भिक चरण शुरु भएकाले जनवादी स्वरूपको आर्थिक आधार निर्माण गर्न लाग्ने अवस्था पनि हो ।

त्यसैले आज प्रतिस्पर्धा र पहलकदमीद्वारा राजनीतिक सत्तामा पकड लिँदै जाने र त्यसको माध्यमद्वारा आर्थिक-सामाजिक विकास ररूपान्तरण गर्दै जनताको बहुदलीय जनवादी व्यवस्थालाई पूर्णता दिन लाग्ने चरण पनि हो । यस अवस्थामा जनताको बहुदलीय जनवादको मार्गदर्शन झन् टड्कारो बन्न पुगेको छ ।

त्यसैले जबजको औचित्यका बारेमा देखा परेका भ्रमबाट मुक्त हुन यसले आत्मसात गरेका क्रान्तिका चरणमा र क्रान्तिपछि स्थापना हुने व्यवस्थाको चरणमा लागु हुने कार्यभारबारे अध्ययन गर्न जरुरी छ ।

क्रान्तिअघि जबजको राजनीतिक कार्यभार

सामन्तवाद, दलाल-नोकरशाही पूँजीवाद र साम्राज्यवादको हस्क्षेपबाट देशलाई मुक्त गरी प्रतिस्पर्धामा आधारित जनवादी राज्यसत्ता स्थापना गर्नेÙ नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र हासिल गर्नेÙ मानव अधिकार र मौलिक हक अधिकारको प्रत्याभूति दिनेÙ संविधानको सर्वोच्चता, कानूनको शासन र शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर्नेÙ बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष रहने र विकेन्द्रीकरण र स्थानीय स्वशासनको संवैधानिक व्यवस्था गर्ने आदि कुराहरूजबजका क्रान्ति अगाडि गरिनुपर्ने कार्यभारका रूपमा किटान गरिएका छन् ।

आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, नयाँ संविधान निर्माण र त्यसमा समेटएकिा मौलिक हकको व्यवस्था, अधिकार प्राप्त स्थानीय तहको निर्माण र त्यसको निर्वाचन सम्पन्न भई कार्य सञ्चालन प्रारम्भ भएपछि जबजले क्रान्ति अगाडि पूरा गर्नुपर्ने राजनीतिक कार्यभारहरू पूरा भई हाल कार्यान्वयनको चरणमा छन् ।

क्रान्तिपछि जबजको कार्यभार

आर्थिकः सामन्तवाद, दलाल-नोकरशाही पूँजीवाद, वैदेशिक एकाधिकार पूँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडन र प्रभुत्ववादका सबै आधार र अवशेषहरूलाई अन्त्य गरी जनवादी अर्थ व्यवस्थाको निर्माण गर्ने ‘सामन्ती भूस्वामित्वको पूर्ण रूपमा उन्मूलन गरी अर्धसामन्ती शोषणका सम्पूर्ण रूपहरूको अन्त्य गर्ने’ यी क्रान्तिपछि जबजले पूरा गर्नुपर्ने आर्थिक क्षेत्रका महत्वपूर्ण कार्यभारहरू हुन् जस्लाई पूरा गर्ने काम बाँकी नै छ ।

यतिखेर देशको अर्थतन्त्रमा दलाल पूँजीवादको वर्चस्व रहेको कुरा निकै चर्को ढंगले उठाउने गरिन्छ, तर त्यही प्रवृतिलाई समाप्त पार्ने जबजका मान्यताहरूको औचित्य छैन भन्ने निश्कर्षमा पनि पुगिन्छ । यसखालका मान्यताबाट दलाल पूँजीवादका विरुद्ध कसरी लड्न सकिएला र अर्थतन्त्रमा दलाल पूँजीको हस्तक्षेपलाई कसरी अन्त्य गर्न सकिएला ।

औद्योगीकरणः वृहत औद्योगीककरणको योजना बनाउने’ साम्राज्यवाद, वैदेशिक एकाधिकार पूँजीवाद र दलाल नोकरशाही पूँजीवादको प्रभुत्व, नियन्त्रण र शोषणलाई समाप्त पार्ने’ राष्ट्रिय अर्थतन्त्रमा अनुकूल प्रभाव पार्ने सीमा निर्धारण गरी विदेशी पूँजी र प्रविधिलाई देशभित्र ल्याउन अनुमति दिने र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गर्ने । क्रान्तिपछि औद्योगिक क्षेत्रमा जबजले गर्नु पर्ने कार्यभार जस्ताको तस्तै बाँकी छ ।

सामाजिक सांस्कृतिकः समाजिक कुरीती, अन्धविश्वास, रूढीगत धारणाहरूलाई हटाउन सामाजिक सांस्कृतिक सुधार आन्दोलन चलाउने’ समाजमा व्याप्त जातपात, छुवाछुत प्रथाको प्रभावकारी रूपमा अन्त्य गरिने’ असहाय, वृद्ध तथा अपांग, अनाथ वालवालिकाको संरक्षण गर्ने’ सामन्ती तथा साम्राज्यवादी साहित्य सँस्कृतिको कुप्रभाव अन्त्य गरी सामाजिक कुरुती र अन्धविश्वासलाई समाप्त पारी प्रगतिशिल, राष्ट्रिय एवम् जनवादी साहित्य सँस्कृतिको विकास गर्ने र समाजको सबै क्षेत्रमा जनवादी रूपान्तरण गर्नको निम्ति सामाजिक सुधारको कार्यक्रमलाई योजनावद्ध रूपमा अगाडि बढाइने । यिनीहरू क्रान्तिपछि सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन गर्नका लागि जबजले आत्मासात गरेका कार्यभारहरू हुन् जो पूरा भएकै छैनन् ।

त्यसैगरी विदेश नीति, कृषि, व्यापार, उर्जा तथा जलश्रोत, यातायात सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला, सामाजिक सुधार, न्याय व्यवस्था, प्रशासन र खेलकुदका सम्वन्धमा जबजले अवलम्वन गरेका कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने कुरा प्रष्ट्याएकै छैन । यस स्थितिमा जबजको सान्दर्भिकता समाप्त भएको छैन, बरु अझ बढेर गएको छ ।

जबजसम्वन्धी नवौं महाधिवेशनको निश्कर्ष

०६२/०६३ को जनक्रान्ति जबजले अंगालेको शान्तिपूर्ण संघर्षको बाटोद्वारा सम्पन्न भएको नवौंमहाधिवेशको निष्कर्ष छ । त्यसैगरी जबजको वैचारिक नेतृत्वमा सम्पन्न क्रान्तिले समाजवादसम्मको ढोका खोलेको छ ।

यद्यपि आर्थिक-सामाजिक अवस्था र उत्पादक शक्तिको बिकासको स्तर असाध्यपछि परेको हुनाले अहिले नै समाजवादी कार्यभार अप्नाउन सकिन्न भन्ने अर्को निश्कर्ष छ । त्यसका लागि जनवादी व्यवस्थाको सुदृढीकरण अन्तर्गतः
पहिलो- पुराना व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्दि्रत भएर लाग्ने,
दोस्रो- नयाँ उत्पादन सम्वन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र साँस्कृतिक दुबै हिसावले बिकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने

र तेस्रो- समाजवादमा संक्रमणको निम्ति केन्दि्रत भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने कुरा अपनाएर जाने महाधिवेशनको फैसला छ ।

त्यसैले वर्तमान अवस्थामा पनि हाम्रो कार्यक्रम जनताको बहुदलीय जनवादी कार्यक्रम नै हुने छ र मार्गदर्शन पनि जबजले गर्ने छ भनेर महाधिवेशनले स्पष्ट किटान गरेको छ ।

त्यसैगरी जबज समाजको गुणात्मक रूपान्तरण गर्ने कार्यक्रम मात्र नभएर कार्यक्रमको निरूपण, रणनीति तर्जुमा र त्यसलाई कार्यान्वयन गर्ने पार्टीको निर्माण एवम् हाम्रा दैनन्दिनको आचारण र व्यवहारलाई दिशानिर्देश गर्ने सिद्धान्त समेत हो भन्ने महाधिवेशनले अर्को ठहर गरेको छ ।

नवौं महाधिवेशको यिनै निश्कर्षका आधारमा जनताको बहुदलीय जनवादको औचित्य र आवश्यकता लामो कालखण्डसम्म कायम रहने कुरा निर्विवाद रहेकाकाले यसलाई चटक्क छाडेर अर्को सिद्धान्तको खोजीमा भौंतारिनु चाहिँ बरु सान्दर्भिक हुँदैन ।

जबज र थप १४ विशेषताबीचको अन्तर्सम्वन्धः

जनताको बहुदलीय जनवादी सिद्धान्तको मुख्य पक्ष वा सारपक्ष यसका थप १४ विशेषताहरू हुन् र ती अहिले नै लागु भएपछि जबजको च्याप्टर पनि समाप्त भयो भन्ने कोणबाट पनि चर्चा हुने गरेको पाइन्छ ।

पहिलो सवाल जबजले आत्मासात गरेका थप १४ विशेषताहरू जबजका सारपक्ष होइनन्, रूपपक्ष हुन् । यसका सारपक्ष जनताको सामाजिक न्याय र प्रगतिसहितको लोकतान्त्रिक राज्य व्यवस्था हो । त्यस्तो राज्य व्यवस्थामा जबजले अपनाउने थप १४ विशेषताहरूमध्येअहिले प्रयोगमा आइसके भन्ने आधारमा जबजको औचित्य छैन भन्ने निचोडमा पुग्न सकिन्न ।

यदि त्यसो हुन्थ्यो भने पूँजीवादी मुलुक अमेरिकाले पनि जबजका विशेषता जस्तै संविधानको सर्वोच्चता, कानूनी शासन, शक्ति पृथकिकरणको सिद्धान्त, वहुमतको सरकार एवम् अल्पमतको विपक्ष र मानव अधिकारको रक्षा जस्ता विषयहरू अपनाउने कुरा गर्दछ । त्यसैका आधारमा वर्तमान अमेरिकी राज्यव्यवस्था सामाजिक न्याय र प्रगतिसहितको जनताको राज्यव्यवस्था हो भन्ने भ्रममा पर्नुहुुँदैन । त्यसैले जबजका विशेषताहरूको प्रयोगलाई राज्यव्यवस्थाको सारतत्वको सापेक्षतामा हेर्नु र बुझ्नु पर्दछ । त्यसरी मात्रै यसका विशेषताहरूलागु भएको वा नभएको खुट्याउन सकिन्छ र जबज सिद्धान्को अध्याय पनि समाप्त भएको वा नभएको बताउन सकिन्छ ।

अहिले जनताको बहुदलीय जनवादी राज्यव्यवस्थाको उपरिसंरचनामा कायम रहने जबजका रूपपक्षहरू कतिपय संवैधानिक तहमा उल्लेेख भएका छन् तर राज्यसत्ताको आधारका रूपमा रहने यसका सारतत्वहरू कायम हुन बाँकी नै छन् । यो स्थितिमा जबज सिद्धान्तको औचित्य समाप्त भएको निश्कर्ष कसरी निकाल्न सकिन्छ ?

समाजवाद स्थापनाका लागि जबजको मार्गदर्शन नेपालमा मात्र होइन, अन्तराष्ट्रिय तहमा समेत सान्दर्भिक हुँदै गइरहेको देखिन्छ । यस्तोबेला नेपालमा चाहिँ जबजको औचित्य नदेख्नु ठूलो विडम्वना सिवाय अरु केही हुन सक्दैन ।

वर्तमान कार्यदिशा र कार्यनीतिः

अहिले हामीे जबजको शान्तिपूर्ण बाटोको कार्यदिशा र जनवादी व्यवस्थाको सुदृढीकरण गर्ने कार्यनीतिलाई अपनाइरहेका छौं र यसलाई अपनाउने कुरा नवौं महाधिवेशनले निर्णय गरिसकेको छ । यसैका आधारमा शान्तिपूर्ण माध्यमबाट आर्थिक-सामाजिक बिकास र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने कार्यनीति र कार्यदिशा नवौमहाधिवेशनले तय गरेको छ । यी सबै जबजकै चरणभित्र कार्यान्वयन गर्नु पर्ने सवालहरू भएकाले जबजको औचित्य र सान्दर्भिकता कसरी समाप्त हुंन्छ ?

जबसम्म समाजमा वर्ग रहन्छ, तबसम्म वर्गीय चिन्तन र विचार पनि रहन्छ । जवसम्म वर्गीय विचार रहन्छ तवसम्म वर्गीय राजनीति र त्यसका प्रतिनिधि संगठन पनि रहन्छ । जवसम्म वर्गीय राजनीति र संगठन रहन्छ, तबसम्म राजनीतिक द्वन्द्व पनि कायम रहन्छ ।

त्यसैले अब राजनीतिक स्वतन्त्रता र बहुदलीय प्रतिष्पर्धा सहितको समाजवादलाई लक्ष्य बनाएर जानुपर्छ । त्यसमा संविधानको सर्वोच्चता, कानूनी शासन, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, वहुमतको शासन र अल्पमतको विपक्ष, समानुपतिक समावेशिता, स्थिर र सन्तुलित शासकीयस्वरूप जस्ता विशेषताहरू कायम रहनेछन् । त्यसकारण बहुदलीयतासहितको समाजवादी लक्ष्य नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकताको महत्वपूर्ण सैद्धान्तिक आधार समेत बन्न सक्दछ ।

जबजको औचित्यसँग जोडिएका केही सवालः

वुर्जुवा शक्तिले एमालेमाथि थोपरेको कम्युनिष्ट अधिनायकवादको गलत आरोप जबजको सिद्धान्त अप्नाएपछि फिक्का सावित भएकोे थियो । आज बामहरूको चुनावी एकतादेखि यस थोत्रो मुद्दालाई फेरि ब्युँताउन खोजिँदै छ ।

ठीक यही घडीमा जबजको सान्दर्भिकता समाप्त भएको निश्कर्षमा हामी पुग्छौं भने बुर्जुवाहरूलाई अधिनायकवादको भ्रम सावित गराउन सजिलो बाटो बनाइदिए जस्तो हुनेछ । एमालेले जबज मान्दासम्म लोकतान्त्रिक शक्ति थियो, तर जबज नै छाडेपछि लोकतान्त्रिक शक्ति रहन सकेन भनेर वुर्जुवाहरूले राष्ट्रिय अन्तराष्ट्रिय रूपमा भ्रम छिरोल्न सक्छन् । त्यसको जवाफ दिन हामीले धेरै समय खर्चिनु पर्छ ।

त्यसैले मार्क्र्सवादको सन्दर्भमाथि नै प्रश्न उठ्दा त्यसको सैद्धान्तिक, वैचारिक, दार्शनिक र राजनीतिक कोणबाट सटिक जवाफ दिएर मार्क्र्सवादको रक्षा, प्रयोग र बिकासका लागि योगदान पुर्‍याउने जबजको सान्दर्भिकता आज नेपाली क्रान्तिले राजनीतिक अधिकार प्राप्तिको चरण पूरा गर्नसाथ समाप्त हुन सक्दैन ।

(रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी स्कूूल विभागका सचिव हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?