Comments Add Comment

विश्वासको हृयाट्रिकसँगै थ्रीस्टार आहा रारा गोल्डकपको फाइनलमा

१७ माघ, पोखरा । थ्रीस्टार क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारले विश्वास श्रेष्ठको हृयाटि्रकको मद्धतमा बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५-० को फराकिलो अन्तरले हाएृको छ ।

पाचौंपटक फाइनल प्रवेश गरेको थ्रीस्टारले ४ पटक आहा ! रारा गोल्डकपको उपाधि जितिसकेको छ । यसअघि ४ पटक फाइनल खेलेको थ्रीस्टारले चारैपटक उपाधि जितेको ईतिहास छ ।

थ्रीस्टारले अब नेपाल पुलिस र धरान फुटबल क्लब सुनसरीको बिजेतासँग शनिबार उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ र

शनिबार भएको एकतर्फी खेलमा थ्रीस्टारले उत्तर बरिन्धरा क्लबलाई पूर्णतया दबदबा कायम राख्यो । थ्रीस्टारका युवा खेलाडीमाझ उत्तर बरिन्धरा क्लव बंगलादेशी खेलाडी निरिह देखिएका थिए ।

थ्रीस्टारले पहिलो हाफको अन्तिम केही मिनेटमा तीन गोल गरेको थियो । उसले खेलको ४१ औं मिनेटमा विष्णु गुरुङको गोलबाट खाता खोल्यो ।

उनले विश्वास श्रेष्ठको क्रसमा बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई फष्र्ट बार च्याप्दै जाली चुमाएका हुन् । पहिलो गोल भएको ४ मिनेटम पछि थ्रीस्टारले अग्रता दोब्बर पार्‍यो । पहिलो हाफको अन्तिम मिनेटमा विश्वास श्रेष्ठको पासमा डि-बक्स भित्र रहेका निराजन खड्काले गोल पोष्टको दिशा दिए । त्यसको एक मिनेट पनि बित्न नपाउँदै विश्वास श्रेष्ठले गोल गरे ।

पहिलो हाफको ईञ्जुरी समयमा निराजन खड्काले वान भर्सेज वानको अवस्थामा बिपक्षी गोलकिपर ओसमान गोनीलाई बिट गरेर दिएको पासलाई विश्वासले सहजै गोलपोष्टको दिशा दिए ।

दोश्रो हाफमा बंगलादेशको खेलमा सुधार आएन । ६६ औं मिनेटमा विश्वासको व्यक्तिगत दोश्रो गोलको मद्धतमा थ्रीस्टारले चौथो गोल गर्‍यो । बुद्ध चेम्जोङको क्रसमा निराजन खड्काले मिलाई दिएको पासमा विश्वासले फष्र्ट बार च्याप्दै गोल गरे । खेलको ७५ औं मिनेटमा गोल गरेर विश्वासले हृयाट्रिक पूरा गरे । उनले सुनिल वलको पि|mकिकमा फष्र्ट बार च्याप्दै प्रहार गरेको हेडर गोलमा परिणत भएको थियो ।

थ्रीस्टारले आधा दर्जन बढी गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । खेलको सातौं मिनेटमै विश्वासको पासमा सुनिल वलले गरेको प्रहार बिपक्षी गोलकिपर ओसमान गोनीले विफल पारे । ११ औं मिनेटमा रञ्जित धिमालको क्रसमा विश्वास श्रेष्ठको हेडर गोनीले नै विफ पारे ।

१६ औं मिनेटमा रञ्जित धिमालले मध्य भागबाट एक्लै लगेर डि-बक्स नजिकैबाट गरेको कडा प्रहार क्रस बार माथीबाट बाहिरियो । २९ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा बुद्ध चेम्जोङले गरेको कडा प्रहार बिपक्षी गोलकिपर ओसमान गोनीले जम्प गरेर पञ्च गरेपछि कोकल मियाले क्लियर गरे ।

खेलको ५४ औं मिनेटमा बुद्ध चेम्जोङको पासमा विश्वास श्रेष्ठले गरेको प्रहार गोलकिपर गोनीले पञ्च गरेर फाले । ५६ औं मिनेटमा रञ्जित धिमालको पासमा विश्वास श्रेष्ठले बिपक्षी गोलकिपर गोनीलाई बिट गरेर प्रहार गरेको वल सेकेण्ड बार हुँदै बाहिरियो । ६१ औं मिनेटमा विश्वास श्रेष्ठको ब्याक पासमा निराजन खड्काले हानेको कडा प्रहार क्रस बारमा लागेर फर्कियो ।

अघिल्लो खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लव धनगडीसँग खेल्दा २ विदेशी खेलाडीले रातो कार्ड खाएपछि बंगलादेश अतिरिक्त खेलाडी बिना नै मैदानमा उत्रिदा थ्रीस्टार सामु निरिह बनेको थियो । अतिरिक्त खेलाडी नहुँदा घाइते खेलाडी मोहम्मद सकिब चौधरीले खुट्टा खोच्याउँदै खेल्नुपरेको थियो । राम्रा खेलाडी नहुँदा बंगलादेशले आजको खेलमा कुनैपनि गोल गर्ने अवसरसमेत सिर्जना गर्न सकेन ।

बिजयी भएपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिम कमजोर हुँदा राम्रो खेल प्रदर्शन गर्न नसकेको बताए । पहिलो हाफको ४० मिनेटसम्म आफूहरु बिपक्षीको खेल बुझ्नका लागि पर्ख र हेरको रणनीतिमा खेलेको र त्यसपछि रणनीति परिवर्तन गर्दा लगातार गोल निस्केको उनले बताए ।

बंगलादेशी टिमलाई कमजोर प्रतिद्वन्द्वी भन्दै प्रशिक्षक केसीले भने, ‘सेमीफाइनलमा यति कमजोर टिमसँग थ्रीस्टारले यसभन्दा अघि कहिल्यै खेलेको पनि थिएन र अब कहिल्यै खेल्नपनि नपरोस् ।’

उत्तर बरिन्धरा क्लवका बरिष्ठ उपाध्यक्ष मुसिबुर रहमानले ३/४ खेलाडी घाइते भएको र २ जनाले रातो कार्ड खाएर खेल्न नपाउँदा टिम कमजोर बनेको र नतिजा पनि निराशाजनक आएको बताए ।

खेलमा थ्रीस्टारका विश्वास म्यान अफ दी म्याच बने ।

भोलि बिहीबार दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा नेपाल पुलिस क्लव र धरान फुटवल क्लब सुनसरी प्रतिष्पर्धामा हुनेछ । पुलिस ४ पटकको उपाधि बिजेता टिम हो भने धरान दोश्रोपटक सेमिफाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment