Comments Add Comment

नाकाबन्दीका ‘आर्किटेक्ट’ कालो झोला बोकेर काठमाडौंमा !

भारतीय कूटनीतिज्ञको कालो ब्यागमा के छ ?

१८ माघ, काठमाडौं । विहीबार अपरान्ह दिल्लीबाट भारतीय विदेशमन्त्री सुष्मा स्वराजको टोली काठमाडौंका लागि प्रस्थान गर्दैगर्दा खिचिएको तस्वीरमा सेतो दाह्री पालेका डिप्लोम्याट पनि देखिए, जो नेपालमा नाकाबन्दी लगाउने एक महत्वपूर्ण भारतीय योजनाकार हुन् ।

नेपालीहरुले कहिल्यै नबिर्सिने गरी थोपरिएको नाकाबन्दीको घटनामा भारतीय विदेश मन्त्रालयका तीन व्यक्तिलाई मुख्य दोषी ठान्ने गरिएको छ । तिनीहरु हुन्- तत्कालीन भारतीय राजदूत रञ्जित रे, तत्कालीन भारतीय विदेश सचिव जयशंकर र नेपाल डेस्क हेर्ने विदेश मन्त्रालयका सहसचिव सुधाकर दलेला ।

नेपाल र भारतवीच रही आएको दुई देशको पुरानो सम्बन्धलाई बिगारेर नेपालीहरुलाई गलाउनका लागि नाकाबन्दी लगाउने मध्येका जयशंकर र रञ्जित रे नेपाल मामिलाको जिम्मेवारीबाट मुक्त भइसकेका छन् ।

तर, नाकाबन्दीका असफल सिद्धान्तकार सुधाकर दलेला भने अझैसम्म नेपाल डेस्क नै हेरिरहेका छन् । र, अहिले उनी विदेशमन्त्री सुष्मासँगै कालो ब्याग बोकेर काठमाडौं ओर्लिएका छन् । उनले कालो ब्यागभित्र के ल्याएका छन्, त्यो रहस्यमय छ ।

विहीबार सुष्मा स्वराजको टोलीमा कालो ब्याग बोकेर देखा परेका दाह्रीवाल उनै दलेला हुन्, जसको सकल देख्दा नेपालीहरु नाकाबन्दीका घटना सम्झन्छन् । नेपालीहरुले भारतीय नाकाबन्दीको पीडा अझैसम्म बिर्सेका छैनन् । बिर्सन खोज्दा पनि दलेला मण्डलीको अनुहार जब अगाडि आउँछ, पुनः विगत सम्झन बाध्य हुन्छन् नेपालीहरु ।

ओलीको निम्तो, एमालेको भव्य स्वागत !

नेपालमा निर्वाचन सम्पन्न भएर सरकार गठन भईनसक्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आएकी छिन् । उनी देउवा सरकारले बोलाएको नभई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा आएको परराष्ट्र स्रोतको जवाफ छ ।

सूत्रहरुका अनुसार विदेशमन्त्री सुष्मा नेपाल आउनुपूर्व केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच यसबारे छलफल भएको थियो ।

मोदी र ओलीवीचको छलफलपछि नै यो भ्रमण तय भएका कारण सुष्माले काठमाडौं आएकै साँझ एमाले अध्यक्ष केपी ओलीका तर्फबाट रात्रीभोजको भव्य स्वागत र सम्मान पाएकी छिन् ।

केपी ओली भावी प्रधानमन्त्री हुन् । तर, उनले बहालवाला प्रधानमन्त्रीजस्तै गरी राष्ट्रिय झण्डा समीपमा बसेर सुष्मालाई सोल्टी होटलमा भव्य स्वागत गरेका छन् ।

मोदीको दूत बनेर एक्लै आउँदा पनि हुने अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्ना विदेशसचिव गोखले र नाकाबन्दीका ‘आर्किटेक्ट’ दलेलालाई समेत लिएर आएकी छिन् । र, सोल्टी होटलमा एमाले नेताहरुसँगको भेटघाट निकै तामझामपूर्ण देखिएको छ ।

भारतको चलखेल कहिलेसम्म ?

भारतले अहिलेसम्म नेपालको संविधानको विरोध र आलोचना गर्दै आइरहेको छ । संविधान बनाउने बेलामा तत्कालीन विदेश सचिव जयशश्ंकरले काठमाडौंमा आएर ठाडो दबाव दिएका थिए । त्यसयता भारतले निरन्तररुपमा नेपाललाई सास्ती एवं दबाव दिँदै आइरहेको छ । नाकाबन्दी त्यसैको उत्कर्ष परिघटना थियो ।

भारतीय दबावकै वीचमा नेपालमा संविधान निर्माण भयो र तीनवटा चुनावसमेत सम्पन्न भइसकेका छन् । अब देशमा राजनीतिक संक्रमणकाल सकिएको छ र संविधान पूर्णतः कार्यान्वयनको चरणमा गएको छ ।

तर, यो बेलासम्म पनि भारत सरकारले अझैसम्म जयशंकर, रञ्जित रे र सुधाकर दलेलाहरुकै लाइन छाडेको छैन ।

तथापि, भारतको मानसिकतामा अलिकति परिवर्तन के आएको छ भने एमाले र वाम गठबन्धनलाई अगाडि आउनबाट रोक्न नसकेपछि अब ऊ सीधै केपी ओलीलाई प्रभावमा पार्ने र विगतमा आफूले उचालेका शक्तिलाई लात मार्ने ध्याउन्नमा लाग्न सक्छ ।

भारतले भन्दै आएको छ कि केपी ओली उसका पुराना मित्र हुन् । त्यसैले भारतले अब केपी ओलीबाटै आफ्नो स्वार्थ पूरा हुने देख्यो भने कांग्रेस वा मधेसी दलहरुलाई सहानुभूति देखाउन छाडेर ओलीलाई नै बलियो साथ दिन सक्छ । र, त्यो अवस्थामा उसले माओवादीलाई समेत सरकारबाट बाहिरै राखेर वा नराखी ओलीको नेतृत्वमा मधेसवादी दललाई पनि सरकारमा जाओ भनिदिन सक्छ । उसले नेपालको संविधानलाई स्वागत गर्न सक्छ ।

वा, उसले केपी ओलीबाट आफ्नो स्वार्थ पूरा नहुने देख्यो भने एमालेलाई कमजोर बनाउनका लागि मधेसी, माओवादी र कांग्रेसलाई एकै ठाउँमा उभ्याउने अनि वाम गठबन्धन फुटाउने खेल पनि खेल्न सक्छ । र, त्यो बेलामा उसले संविधान संशोधनको मुद्दामा आफूलाई उभ्याउन सक्छ । किनभने भारतको यो पुरानै दहीचिउरे विदेशनीति हो ।

भारतले अहिलेसम्म नेपालमा संविधानको मामिलामा मात्रै नभएर सरकार गठन-विघटनको आन्तरिक मामिलामा समेत माइक्रो म्यानेजमेन्ट र हस्तक्षेप गर्दै आइरहेको छ । उसले नेपालमा कसलाई प्रधानमन्त्री बन्न नदिने र कसलाई बनाउने भन्नेबारेमा सधैं खेलोफड्को गर्दै आएको छ ।

तर, अब उसले छिमेकी देश नेपालसँग राम्रो सम्बन्ध बनाउन खोजेकै हो भने संविधान र सरकारमा आन्तरिक दबाव दिने हस्तक्षेपकारी नीति फेर्छ या कायमै राख्छ भन्ने विषयले निर्णयक महत्वपूर्ण राख्नेछ ।

तर, योसँगै अर्को प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ कि केपी ओली आफ्नो ‘राष्ट्रवादी’ अडानमै कायम रहन्छन् वा विगतको महाकाली सन्धीका बेलामा जस्तै भारतप्रति नतमस्तक हुन थाल्छन् ।

के यो भ्रमणमा भारतीय विदेशमन्त्री स्वराजले विगतमा उनको देशले नेपालमाथि गरेको व्यवहारप्रति ‘सरी’ भन्लिन् ? त्यसो भन्न आएकी हुन् भने उनको यो आगमनलाई सकारात्मक नै मान्नुपर्ने हुन्छ ।

तर, पुरानै तरिकाले माओवादी, कांग्रेस, एमाले र मधेसवादी दलका वीचमा चलखेल गर्ने ‘दलेला थ्यौरी’ नै कालो झोलामा बोकेर ल्याइएको हो भने यो भ्रमणले केपी ओलीलाई बिटुलो बनाउनेबाहेक भारतलाई खासै उपलब्धि दिने छैन ।

किनभने, भारतका ‘पुराना मित्र’ भनिएका भावी प्रधानमन्त्री केपी ओली रातारात फेरिएर भारतपरस्त हुन सक्लान्, तर भारतले गर्दै आएको आन्तरिक मामिलामाथिको हस्तक्षेप र नाकाबन्दीको घाउ नेपालीहरुले यति चाँडै बिर्सने छैनन् ।

जहाँसम्म मधेस मामिलाको प्रश्न छ, भारतले केपी ओली र वाम गठबन्धनसँग सम्बन्ध नजिक बनाउनासाथ मधेसकेन्दि्रत दलहरुसँग उसको सम्बन्ध चिसो बन्न जानेछ । यदि त्यस्तो भयो भने यसलाई विगतमा भारतले रोपेको मधेस-पहाडको विभाजनको काउछो उसैको काँधमा उछिटि्टएको ठान्नुपर्ने हुन्छ ।

प्रचण्डको घट्दो बार्गेनिङ पावर

जतिबेलादेखि भारतीय प्रधानमन्त्रीले केपी ओलीसँग प्रत्यक्ष सम्वाद गरे, त्यसपछि माओवादी अध्यक्ष प्रचण्डको बार्गेनिङ पावर ह्वात्तै घटेको छ र ओलीभन्दा प्रचण्डलाई कमजोर बनाएको छ ।

किनभने, वाम एकताका सन्दर्भमा प्रचण्डले यो भन्दै आएका थिए कि भारत र मधेससँग केपी ओलीको सम्बन्ध बिग्रेको छ र त्यहाँनेर प्रचण्डको आफ्नो भूमिका एवं महत्ता छ । तर, ओलीले भारतसँग प्रत्यक्ष सम्बन्ध बढाइसकेपछि अब वीचमा प्रचण्डको ‘मध्यस्थता’ आवश्यक नै परेन ।

विगतको इतिहास र वर्तमान सामथ्र्य दुबै हिसाबले भारतका लागि प्रचण्ड भन्दा केपी ओली नै विश्वसनीय एवं भरपर्दो नेता हुन् ।

केपी ओलीले मोदीसँग मात्रै होइन, देशभित्रै संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवसँग पनि भित्री सम्बन्ध बढाएका छन् । र, यो अवस्थामा ओलीलाई माओवादी विनै बहुमतको सरकार बनाउने सम्भावना पनि सुरक्षित छ । भारतलाई विश्वासमा लिने र फोरमबाटै गणित पुर्‍याउने हो भने ओलीले प्रचण्डलाई धोका दिने पो हुन् कि भन्ने डर पनि केही माओवादी नेताहरुमा पलाएको छ ।

तर, वाम एकताबाट पछि हट्ने स्थिति केपी ओलीलाई पनि छैन । यो अवस्थामा माओवादीलाई सरकार बाहिरै राखिएला भन्ने तत्कालै कल्पना गर्न नसकिए पनि भारत र मधेसवादीको साथ पाउँदा केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद आफैंले राख्ने गरी प्रचण्डसँग बार्गेनिङ बढाउने सम्भावना छ र त्यो अवस्थामा प्रचण्डले सहअध्यक्षमै चित्त बुझाउनुपर्ने स्थिति आउन सक्छ ।

यो प्रशंग यहाँ किन उक्काइएको हो भने भारत र केपी ओलीको सम्बन्ध सुमधुर हुँदै जाँदा यसको असर वाम एकतामा समेत पर्न सक्छ । भारत र ओलीको सम्बन्धको असर कमसेकम प्रचण्डको बार्गेनिङ पावरमाथि पर्न सक्छ ।

किनभने, भारतले अब प्रचण्डलाई भन्दा केपी ओलीलाई आफ्नो विश्वासपात्र मान्ने संकेत देखाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment