Comments Add Comment

वादी महिलाको यौन पेशाबारे सरस्वतीले ल्याइन् उपन्यास

२० माघ, काठमाडौं । वादी समुदायको यौन पेशालाई मुख्य विषय बनाएर लेखिएको साहित्यकार सरस्वती प्रतिक्षाको उपन्यास नथिया शनिबार सार्वजनिक भएको छ । यसअघि कविका रुपमा नेपाली साहित्यमा परिचित प्रतीक्षाले वादी समुदायको कथामार्फत उपन्यासमा प्रवेश गरेकी हुन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उक्त उपन्यास वादी महिला अधिकारकर्मी तथा प्रदेश ७ कि प्रदेश सांसद उमा वादीले सार्वजनिक गरिन् । पश्चिम नेपालको दाङ, बाँके, कैलालीलगायतका जिल्लामा बसोबास गर्ने वादी समुदायका महिलाको यौन पेशासँग जोडिएका विभिन्न विषय समेटिएको उपन्यास ९५ प्रतिशत सत्य घटनामा आधारित भएको उपन्यासकार प्रतीक्षाले बताइन् ।

१० वर्षअघि गरेको स्थलगत अध्ययनपछि यस विषयमा उपन्यास लेखन सुरु गरेको उनले जानकारी दिइन् । वादी समुदायमा छोरी रजस्वला भएपछि नाकमा नथिया (नाकमा लगाउने गहना) लगाइदिने गरिन्छ । त्यसपछि जो ग्राहकले धेरै पैसा दिन्छ उसले नै युवतीको नथिया खोल्ने वा कुमारित्व भंग गर्ने प्रचलन रहेको पाएको प्रतीक्षाले सुनाइन् ।

‘स्थलगत अनुसन्धानका क्रममा वादी समुदायको साँस्कृतिक पाटोबारे पनि केही केलाएको थिएँ । सबैभन्दा डरलाग्दो चाहिँ नथिया खोल्ने वा उतार्ने चलन थियो । रजस्वला भएपछि एउटी वादी युवती नाकमा नथिया लगाउँछे । आएका ग्राहकहरुमध्ये जसले धेरै पैसा र उपहार दिन्छ त्यही ग्राहकबाट वादी युवतीको नथिया उतारिन्छ अर्थात कुमारीत्व भंग गरिन्छ’ उनले रचनागर्भ सुनाउँदै भनिन् ‘बढीबढाउमा खुलम्खुल्ला कुमारीत्व लिलामी हुने क्षणलाई वादीहरुले सेलिब्रेट गर्थे भन्ने सुन्दा मेरा नौनाडी गलेका थिए ।’

पाठकले वादी समुदायबारे देखे सुनेका विषयभन्दा उपन्यासमा धेरै डरलाग्दो तथ्यहरु पाउने उनको दावी छ । यद्यपि उनले कतिपय विषय भने आफूले थाहा भएर पनि लेख्न नसकेको बताइन् ।

प्रदेशसभा सांसद उमा वादीले यो उपन्यास वादी महिलाहरुका लागि धार्मिक ग्रन्थजस्तो बनेको उल्लेख गरिन् । ‘किताबमा भएका सबै विषय वास्तविक नै हुन् यसमा वादी महिला र लेखकको आशु मिसिएको छ’ उनले भनिन् ‘यो किताब वादी महिलाका लागि गीता नै हो ।’

पत्रकार नारायण वाग्लेले यो उपन्यासले नेपाली समाजमा रहेका कथा लेख्ने कामको जग बसालेको बताएका छन् । उनले यो उपन्यास उत्कृष्ट बनेको भन्दै यसको संवादपक्ष बलियो रहेको धारणा राखे ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले धेरै समयपछि नेपाली साहित्यमा पाठकको दिमाग हल्लाउने उपन्यास आएको बताइन् । प्रकाशक बुकहिलका भुपेन्द्र खड्काले यो उपन्यास आफूले प्रकाशन गरेको उत्कृष्टमध्येको एउटा पुस्तक भएको बताए ।

पुस्तकमा आधारित फिल्म बन्ने

यो पुस्तकमा आधारित भएर फिल्म निर्माणको समेत घोषणा भएको छ । निर्देशक दीपेन्द्र के खनालले नथिया उपन्यासमा आधारित भएर  फिल्म निर्माण गर्ने बताए । उनले यस विषयमा लेखक र प्रकााशसँग सम्झौता भइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment