+
+
प्रदेश २, ५, ६ र ७ को पहिलो बैठक :

अाज जनकपुर, बुटवल, सुर्खेत र धनगढीमा प्रदेशसभा बैठक

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १०:२५


२१ माघ, काठमाडौं । प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश २ को जनकपुरधाम, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो ।

प्रदेश १ र ४ को बैठक सोमबार तय भएको छ । प्रदेश ३ को बैठक भने १८ माघमै सम्पन्न भइसकेको छ ।

बैठकका लागि सबैजसो प्रदेश सांसदहरु अस्थायी राजधानी पुगिसकेका छन् । चारवटै प्रदेशको बैठकको कार्यसूची पनि निर्धारण गरिसकिएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गर्ने कार्यसूची छ । त्यसपछि अन्तरिम प्रदेशसभा सञ्चालक कार्यविधि पारित गर्ने र सभामुखको निर्वाचनको मिति तोक्ने बैठकको मुख्य कार्यसूची छ ।

प्रदेश २ मा दौरासुरुवाल निषेध !

प्रदेश २ को प्रदेशसभा बैठकको अध्यक्ष जेष्ठ सांसद लगनलाल चौधरीले गर्ने छन् । सभामुख चयन नभएसम्म जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधानअनुसार ७५ वर्षीय चौधरीले आइतबारको बैठकको अध्यक्षता गर्ने भएका हुन् ।

प्रदेशसभाले नयाँ सभामुख चयन नगरेसम्म प्रदेशसभा चलाउने जिम्मा उनैको हुनेछ ।

मधेस केन्द्रित दलको बाहुल्य रहेको प्रदेश २ मा मर्यादापालकलाई दौरा सुरुवाल निषेध गरिएको छ । सांसदहरुले सुविधाअनुसारको पोशाक लगाउने छन् ।

१९ माघमा भएको सपथ ग्रहण कार्यक्रममा ४७ जनाले मैथिली, २५ जनाले भोजपुरी, २४ जनाले नेपाली र ११ जनाले हिन्दीमा शपथ लिएका थिए ।

प्रदेश ५ का सांसदलाई खाना र आवासमा २० प्रतिशत छुट

प्रदेश ५ को प्रदेश सभा बैठकको अध्यक्षता ७९ वर्षीय बलदेव शर्मा पोखरेलले गर्नेछन् । प्रदेश ५ को सभामुख चयनका लागि २८ माघमा निर्वाचन गर्ने मिति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

उद्योग वाणिज्य संघको भवनलाई प्रदेश सभा भवनको रुपमा प्रयोग गरिएको छ । रातभर पनि कर्मचारीहरु बैठकको व्यवस्थापन मिलाउन खटिएका थिए ।

प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, पूर्वी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, रुपन्देही र पश्चिम नवलपरासी पर्दछन् । ति जिल्लाका अधिकांश सांसद अघिल्लो दिन नै बुटवल आइसकेका छन् । पहिलो बैठकमा आएका सांसदहरुका लागि स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले खाना र आवासमा २० प्रतिशत छुट दिएका छन् ।

प्रदेश ६ को बैठक दिउँसो १ बजे

प्रदेश ६ को बैठकको लागि सुर्खेतमा पनि तयारी पूरा भएको छ । प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन् । बैठक आइतबार दिउँसो १ बजे बोलाइएको छ ।

बैठकको सुरुमा राष्ट्रियगान बजाउने, शहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गर्ने र प्रदेश प्रमुखले पठाएको बैठक आह्वान सम्वन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

जेष्ठ सदस्य शाहीले लिखित मन्तव्य राख्ने तयारी गरेका छन् । त्यसपछि प्रदेश सांसदहरुले संक्षिप्त मन्तव्य राख्नेछन् । प्रदेश ६ मा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

प्रदेश ७: रातभर खटिएर तयार पारियो बैठक कक्ष


प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठक जेष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्ने छ ।

सभाहल तयार पार्न कर्मचारी र कामदारहरु रातभरी खटिएका थिए ।

बैठकस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक कक्षभित्र पनि ३० जना मर्यादापालकलाई खटाउने तयारी गरिएको छ । बैठकको दृष्य प्रदेशसभा हल बाहिर टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत् देखाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?