Comments Add Comment

किन कमजोर बन्दैछ नेपाली फुटबलको ‘बाघ’ ?

२१ माघ, पोखरा । कुनै बेला फुटबलको ‘बाघ’ भनेर चिनिने मनाङ मर्स्याङ्दी क्लबले पछिल्लो समय आफ्नो लय गुमाएको छ । राष्ट्रिय लिग नभए पनि एकअर्का अर्को नकआउट प्रतियोगिता भइरहेका छन् तर, मनाङ आफ्ना समर्थकहरुको अपेक्षामा खरो रुपमा उत्रन सकेको छैन ।

मनाङको टोलीमा अधिकांश खेलाडी राष्ट्रिय टिमका सदस्य छन् । राष्ट्रिय टिमका कप्तान बिराज महर्जनदेखि भेट्रान स्ट्राइकर अनिल गुरुङ मात्र होइन, सुजल श्रेष्ठ, विशाल राई, सन्तोष साहुखल र हेमन गुरुङ पनि छन् । अपि|mकन खेलाडी ओलावाले लगायतका तीन विदेशी खेलाडी पनि छन् ।

तर, टिम अनुसार रिजल्ट आएको छैन । आहा ! रारा गोल्डकपमा खराब प्रदर्शन गरेको डिफेन्डिङ च्याम्पियन मनाङ पुलिस क्लबसँग ३-१ को पराजित भयो र पहिलो चरणबाटै प्रतियोगिताबाट बाहिरियो ।

लगत्तै बुढासुब्बा गोल्डकपमा पनि संकटासँग १-० को हार व्यहोर्दै पहिलो चरणबाट विदा भएको छ ।

सुनसरीको इटहरीमा भएको मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपमा १५ महिनापछि फुटबलमा फर्किएको थ्रीस्टारसँग १-० ले पराजित हुँदै उपाधि सुम्पियो । हारको श्रृङ्खला अन्तर्गत मनाङले सुदूर पश्चिमको कैलालीमा भएको सुदूर पश्चिम खप्तड गोल्डकपमा पनि त्रिभूवन आर्मीसँग स्तब्ध हुनुपर्‍यो । त्यसबेला आर्मीसँग डिफेन्डिङ च्याम्पियन मनाङ ३-१ ले पराजित भयो ।

आर्थिक रुपमा पनि बलियो भएकाले चाहेको अवस्थामा राम्रा खेलाडी भित्राउने क्षमता पनि छ । तर, पनि किन खस्किँदै छ मनाङको खेल ?

यसै सिजन झापाको काँकडभिट्टामा भएको काँकडभिट्टा गोल्डकपमा मनाङ त्रिभुवन आर्मीसँग हार्‍यो । उसले उपाधिका लागि भएको फाइनल भिडन्तमा पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले नतिजा सुम्पियो । झापाकै शिवसताक्षी गोल्डकपमा पनि आर्मीसँग २-१ गोल अन्तरले नै मनाङ स्तब्ध भएको थियो ।

मनाङसँग नेपाली फुटवलका एकसे एक खेलाडी छन् । आर्थिक रुपमा पनि बलियो भएकाले चाहेको अवस्थामा राम्रा खेलाडी भित्राउने क्षमता पनि छ । तर, पनि किन खस्किँदै छ मनाङको खेल ?

पछिल्लो समयको खेल हेर्दा मनाङ पाँच कुरामा चुकेको देखिन्छ । राष्ट्रिय लिग नभएका कारण उसले हरेक प्रतियोगिता छोटो तयारीमा खेल्ने गरेको छ र खेलाडीहरुमा नियमित अभ्यास पनि हुन छाडेको छ । क्लबसँग न कुनै दिर्घाकालीन योजना छ न खेलाडी तिर्खान टेक्निकल डाइरेक्टर नै छन् ।

यस्तै कारण मनाङ एकपछि अर्को खेलमा चुकेको देखिन्छ ।

१. दीर्घकालीन योजना अभाव 

फुटवलको बाघ भएपनि मनाङले दीर्घकालीन योजना बनाएको देखिँदैन । उसले एक/दुई टुर्नामेन्ट वा कुनै एक सिजनको लागि मात्र योजना बनाउँछ त्यो पनि छोटो समयमा ।

अल्पकालीन योजना बनाएर खेल्दा अहिले त्यसको असर देखिएको बताउँछन् मनाङका पूर्व प्रशिक्षक प्रशिक्षक कृष्ण थापा । उनले भने,’मनाङजस्तो टिमले अल्पकालीन हैन, दीर्घकालीन योजना बनाएर अघि बढ्यो भनेमात्रै सँधै एउटै स्तरमा खेल्न सक्छ, दीर्घकालीन योजना नहुँदा कमजोर बन्दैछ ।’

विश्वका ठूलठूला फुटवल क्लवहरु बार्सिलोना, रियल मड्रिड, आर्सनललगायतका क्लबहरुले जस्तै मनाङले पनि दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी छ भन्छन् उनी । जस्तै ४/५ वर्षको योजना बनाउने, कति समयमा केके गर्ने ? त्यसको लिस्टिङ गर्ने र कार्यान्वयन गर्दै समीक्षा पनि गर्ने ।

२. नियमित प्रशिक्षणको अभाव

राम्रा खेलाडीहरु भएर पनि पछिल्ला खेलहरुमा नतिजा राम्रो ननिकाल्नुमा नियमित प्रशिक्षण नहुनु पनि एक प्रमुख कारण हो । कुनै एक सिजन वा एकदुई वटा प्रतियोगिताका लागि मात्र प्रशिक्षक राखेर प्रशिक्षण गराउने मनाङको अल्पकालीन योजनाले उसैलाई कमजोर बनाउँदैछ ।

राम्रो प्रशिक्षकलाई अनुबन्ध गरेर ४/५ वर्षको दीर्घकालीन योजना बनाएर त्यसको कार्यान्वयन गर्न दिने हो भने राम्रो नतिजा निकाल्न सक्छ । त्यस्तै, खेलाडीलाई क्लोज क्याम्पमा राखेर मनाङले प्रशिक्षण गराउन जरुरी छ । खेलाडीलाई क्लोज क्याम्पमा नराखी घरबाटै प्रशिक्षणमा जानेआउने सुविधा दिदा खेलप्रतिको लगाव र ध्यान पुग्दैन । साथै घरमा हुने आहार विहारले खेलाडीको डाइट, क्यालोरी नपुगेको हुनसक्छ । त्यसमा ध्यान नदिँदा त्यसको असर खेलमा परिरहेको हुन्छ ।

३. बलियो छैन बेञ्च

मनाङमा राष्ट्रिय टिमका ६ जना खेलाडी छन् । ३ जना विदेशी खेलाडी नै छन् । खासमा भन्ने हो भने मनाङ नेपाली फुटबलका स्टार खेलाडीले भरिएको टिम हो ।

त्यसैले मनाङलाई बलियो टिमका रुपमा बुझ्नु स्वाभाविक हो तर, उसको बेञ्च कमजोर बन्दै गएको छ । टिम बलियो हुन प्लेइङ सेट राम्रो भएर मात्र पुग्दैन, बेञ्च पनि बलियो हुन आवश्यक छ । पूर्वप्रशिक्षक कृष्ण थापा भन्छन्,’मनाङले सेट टिम राम्रो दिन्छ तर बेञ्च भने कमजोर ।’

खेलाडी घाइते (इञ्जुरी) नै हुँदैन भन्ने मानसिकता मनाङका अफिसियलमा रहेको उनको बुझाइ छ । हो, मनाङ यसमा पनि चुकेको देखिन्छ । खेलाडी छनौट गर्दा पनि एउटा म्याच हेरेकै भरमा निर्णय लिने मनाङको अर्को कमजोरी हो । विदेशमा एउटा खेलाडी अनुबन्धन गर्न ६ महिना वा त्यो भन्दा अघिदेखि अध्ययन -वाच) गरिन्छ । तर, मनाङले त्यस्तो कहिल्यै त्यस्तो गर्दैन ।

४. विदेशी खेलाडीमा निर्भर 

मनाङको अर्को कमजोरी भनेको विदेशी खेलाडीमा निर्भर रहनु पनि हो । विदेशी खेलाडी सिमित समयको लागि हुन्छ । उनीहरु कुनैपनि बेला घर र्फकन सक्छ । त्यतिमात्र हैन, वर्क परमिट नहुँदा कुनै पनि बेला खेल गुमाउनुपर्ने अवस्था आउन सक्छ ।

तर, मनाङ विदेशी खेलाडीमै बढी भर परेको छ । आफ्ना नयाँ खेलाडी उत्पादनमा ध्यान दिएको छैन । आफैंले एकेडेमी सञ्चालन गर्ने कि नगर्ने ? पूर्व प्रशिक्षक थापा भन्छन्,’मनाङ जस्तो विरासत बोकेको टिमले एकेडेमी खोल्ने हैसियत राख्नुपर्छ, त्यहीँबाट नयाँ खेलाडी उत्पादन गर्नुपर्छ ।’ त्यसो गर्‍यो भनेमात्र मनाङ सँधै मनाङजस्तो भईराख्ने उनको बुझाइ छ ।

५. छैन टेक्निकल डाइरेक्टर

कुनै पनि राम्रो क्लबमा टेक्निकल डाइरेक्टर आवश्यक पर्छ, फिजियो चाहिन्छ । तर, मनाङसँग दुबै छैन । टेक्निकल डाइरेक्टर नहुँदा मनाङका खेलाडीको अवस्था भद्रगोल छ ।

यसको असर पनि खेलमा देखिएको सहजै अनुमान गर्न सकिन्छ ।

समग्रमा भन्दा मनाङले आफूलाई पुरानै छविमा फर्काउन असम्भव छैन तर, अहिले जसरी त्यो सजिलो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment