Comments Add Comment

सौराहमा वन्यजन्तु विज्ञको कार्यशाला सुरु

‘वन्यजन्तुमा महामारीजन्य रोग फैलिएमा ठूलो विनाश निम्तिने खतरा’


२३ माघ, चितवन । सौराहामा वन्यजन्तुमा देखिने स्वास्थ्यसम्बन्धी समस्याबारे विज्ञहरुको कार्यशाला सुरु भएको छ ।

विभिन्न देशका विज्ञहरुले ती देशमा वन्यजन्तुको स्वास्थ्यका बारेमा अपनाइएका उपचार विधि, पद्दति, औषधि, स्वास्थ्यसम्बन्धी उपकरणलगायतका विषयमा ज्ञानको आदानप्रदान गर्नेछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मस्त्य विज्ञान संकायको संयुक्त आयोजना भएको कार्यशालामा नेपालसहित अष्ट्रेलिया, चीन, भारत, इण्डोनेसिया, मंगोलिया, म्यानमार, पाकिस्तान, रुस, थाइल्याण्ड, बेलायत, अमेरिका र भियतनामसहित १३ देशका ८७ जना पशु चिकित्सक एवं विज्ञहरुको सहभागिता छ ।

४ दिनसम्म चल्ने कार्यशालामा बाघ, एसियाली गैंडा र हात्तीको स्वास्थ्य समस्या, उपचार जस्ता विषयमा छलफल हुनेछ ।

नेपालमा बिरामी वा घाइते भइसकेपछि मात्रै वन्यजन्तुको उपचार गर्ने परिपाटी भएको भए पनि त्यो पूर्ण नरहेको पशुचिकित्सकहरुले बताए । नेपालमा हालसम्म वन्यजन्तुसम्बन्धी अध्ययन गरेका विज्ञ त छैनन् नै उपचार गर्ने अस्पताल समेत छैन ।

नेपालमा वन्यजन्तुमा महामारीजन्य रोग फैलिएमा यसले ठूलो विनास ल्याउने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरे । वन्यजन्तुमा हुने रोगहरु घरपालुवा जनावर र मानिसमा समेत फैलिने भन्दै यसतर्फ समयमै सचेत हुनुपर्ने सुझाव विज्ञहरुले दिए ।

कार्यशालामा वन्यजन्तुको स्वास्थ्य, वन्यजन्तु जीव विज्ञानसम्बन्धी ३३ वटा कार्यपत्रहरु र आठ वटा पोष्टहरु प्रस्तुत हुनेछन् ।

नेपालमा यसअघि वन्यजन्तुको संरक्षण, वासस्थान, व्यवस्थापन र वन्यजन्तु–मानवबीच द्वन्द्व सम्बन्धी विषयहरुलाई मात्र प्राथमिकता दिँदै आएको बताउँदै कृषि तथा वनविज्ञान विश्वविद्यालयकी डिन प्रा. डा. शारदा थपलियाले पछिल्ला वर्षहरुमा वन्यजन्तु स्वास्थ्यसम्बन्धी विषयको महत्व महसुस भएको बताइन् । उनले विश्वविद्यालय यससम्बन्धी पाठ्यपुस्तक तयार गर्ने तयारीमा विश्वविद्यालय लागेको जानकारी दिइन् । नेपालमा वन्यजन्तुको स्वास्थ्यसम्बन्धी प्रविधि, प्राविधिक र लगानीको अभाव रहेको र यसमा राज्य, दाता र संरक्षणकर्मी सबै लाग्नुपर्नेमा उनको जोड छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक प्राध्यापक डा.हिमाल लुईंटेलले वन्यजन्तुका ६० प्रतिशत रोग मानिसमा सर्ने र ७० प्रतिशत घरपालुवा जनावरमा सर्ने बताउँदै मानव, वन्यजन्तु र घरपालुवा जनावरको स्वास्थ्यलाई एकै ठाउँमा राखेर हेरिनु पर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. कमल गैरेले बाघ, गैंडा, हात्तीजस्ता वन्यजन्तुको स्वास्थ्य, तिनमा लाग्ने रोगको बारेमा विभिन्न देशका विज्ञहरुको अनुभव आदान प्रदानले वन्यजन्तुको स्वास्थ्यका क्षेत्रमा केही सुधार गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment