लोकगायिका सुनिला दुलाल आफै कार ड्राइभ गर्छिन् । कलेज पढ्न थाल्दा टेम्पो र बस चढेकी सुनिताले ब्याचलर तह पुगेपछि आफ्नै स्कुटर हाँक्न थालीन् । अचेल उनको सुजुकी कार छ । बडो सचेत भएर ड्राइभिङ गर्ने सुनिताको सवारी अनुभव, उनकै शब्दमाः
कलेज पढ्दा म भक्तपुरको कौशलटार बस्थेँ । कौशलटारवाट टेम्पु चढेर कलेज जान्थेँं । पिके पढदा चाहिं मिनिबस चढन थालेँ । भक्तपुर रुटको मिनिवस पिके अगाडी रोकिन्थ्यो । भाडा त्योबेला ८ रुपैंया थियो । बस टेम्पु चढ्दा म खुद्रा पैसा बोकेर हिँड्थेँ ।
मलाई बसमा असाध्यै भोमिट (वान्ता) हुन्थ्यो । एक पटक स्कुलवाट लुम्बिनी टुरमा जाँदा मलाई कति धेरै वान्ता भयो भने शरीरमा पानी र लवणको मात्रा नै कम भएछ । जीवनजल खाएर बस्नुपरेको थियो ।
ब्याचलरमा भर्ना भएलगत्तै स्कुटर किनें । स्कुटर चढन थालेपछि वान्ताको समस्या कम भयो । अचेल आफैं ड्राइभ गरेर लङ टुरमा जाँदा पनि केही हुन्न । तर, ठुलो बस चढ्दा अहिले पनि मलाइ वान्ता हुन्छ । अमेरिकाको वाल्टिमोरवाट कोलोराडोसम्म कार जाँदा मलाई कुन हदसम्म वान्ता भयो भने मैले गीत गाउनै सकिनँ ।
स्कुटी सिक्दा हामी ३ जना साथी एउटा ड्राइभिङ सेन्टर गएका थियौं । मैले जम्मा ३ दिन मात्रै सिकेँ । सुरुको दिन गुरुले पछाडी बसेर सिकाउँदा निकै ‘अनकम्फर्टेवल’ भएको थियो । ड्राइभिङ सेन्टरको स्कुटर पनि निकै खटारा थियो । स्कुटर किनेपछि बल्ल आफ्नै परिवारका सदस्यलाई पछाडी राखेर सिकेँ । स्कुटरको लाइसेन्स लिँदा दुई पटक ट्रायल पनि दिनुपरेको थियो । गाडीको त एकै पटकमा पाएकी हुँ ।
एक पटक स्कुटी लडाएको पनि छु । दाईकी छोरीको पास्नी थियो । छोरीलाई पनि पछाडी राखेर चलाएकी थिएँ । एउटा बाइकसँग ठोक्कियो । मेरो घुँडामा निकै ठूलो चोट लागेको थियो । एकपटक वानेश्वरमा निकै ठूलो दुर्घटना भयो । हातमा गम्भीर चोट लाग्यो ।
अर्को घटना । एक पटक साथीको बिहेमा जाँदै थिएँ । मैले त हतारमा गाडीको लाईट अफ गर्नै बिर्सेछु । पछि त ब्याट्री डाउन भएर गाडी नै स्टार्ट भएन । दिदीलाई फोन गरेँ । दिदी भिनाजुले प्राविधिक लिएर आउनु भयो अनि स्टार्ट गरेर हिँडे ।
गाडीको पार्टपुर्जाको वारेमा मलाई त्यति धेरै जानकारी छैन । लङ टुरमा एक्लै गएको छैन । लङ टुरमा जाँदा भाइ वा अरु साथीलाई लिएर जान्छु ।
अहिले मसँग भएको कारण दोस्रो हो । यसअघि मैले हुण्डाइको आइटेन किनेकी थिएँ । अहिले सुजुकीको सेलेरियो चढछु । यो निकै सजिलो छ ।
ट्राफिक जाम त काठमाडौंको सबैभन्दा ठूलो समस्या बनेको छ । दिनमा १० वटा काम गर्छु भनेर योजना बनायो भने पाँचवटा भन्दा बढी काम हुन्न । पाँचवटा काम त ट्राफिक जामले सकिदिन्छ । अहिलेसम्म ट्राफिकको कारर्वाहीमा परेको छैन ।
लिफ्ट चाँही म धेरै दिन्छु । बाटोमा बुढाबुढी हिँडेको देखेँ भने दिइहाल्छु । केटा मान्छेलाई भने लिफ्ट दिन्नँ ।
शहरमा पार्किङको दुःख उत्तिकै छ । न्यरोड जाँदा पार्किङ नपाएर कामै नगरी फर्केका घटना धेरै छन् । कहाँसम्म भने न्यरोडमा गाडी राख्ने ठाउँ नपाएर दरवारमार्गमा गाडी पार्किङ गरेर ट्याक्सि चढेर फेरि न्युरोड गएको छु ।
इन्धनमा धेरै खर्च हुन्छ । साथीभाइले कतै छोड्दे भनेँ भने नाई भन्न सक्दिन । दिनमा एक हजार रुपैयाँ मेरो पेट्रोलमै खर्च हुन्छ । सर्भिसिङ टाइममै गर्छु, त्यसकारण इन्जिनमा खराबी कहिल्यै आएन ।
धुवाँ धुलो हेर्दा गाडी ठिक तर, जाम हेर्दा स्कुटर ठिक लाग्छ । धुलो नहुने हो भने त स्कुटी चढ्दा नै मज्जा आउछ ।
काठमाडौंका सबै ट्याक्सि चालकलाई एउटै दृष्टिले हेर्नुहुन्न । कतिपय सज्जन पनि हुन्छन् । मिटरमा टक्क जानेहरुलाई मैले मिटरमा उठेको भन्दा धेरै पैसा दिने गरेकी छु । मेरो अनुभवमा राम्रा ट्याक्सि चालक थोरै छन्, बद्मासहरु धेरै छन् ।
प्रतिक्रिया 4