Comments Add Comment

मुख्यमन्त्री मात्र होइन, सभामुख पनि भएनन् महिला

२८ माघ, काठमाडौं । मुलुक संघीयता कार्यान्वयनको अन्तिम चरणमा छ । मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन प्रक्रिया चल्दै गर्दा प्रमुख दुई पदमा पुग्ने अवसरबाट महिला नेतृहरु वञ्चित भएका छन् ।

मुलुकले पहिलो मुख्यमन्त्री बनाउने अवसर त गुमाइसकेको छ । सभामुखमा पनि महिला नपुग्ने निश्चित भएको छ । सातै प्रदेशसभाका सभामुखहरु पुरुष नै हुने देखिएको छ ।

प्रदेश ३ मा एमालेका सानु श्रेष्ठ र ७ मा अर्जुनबहादुर थापा सभामुख चयन भइसकेका छन् ।

प्रदेश १ मा बहुमतप्राप्त दल एमालेले प्रदीप भण्डारीलाई सभामुखको उम्मेदवार बनाएको छ । त्यहाँ उषाकला राई पनि सभामुखको दाबेदार थिइन् । तर, एमालेको गुटगत समीकरण मिलाउने क्रममा उनले दौडबाट बाहिरिनु पर्‍यो ।

मुख्यमन्त्री संस्थापन पक्षको भएकाले सभामुख माधवकुमार नेपाल पक्षमा पर्‍यो र भण्डारी छानिए ।

प्रदेश २ मा संघीय फोरम र राजपा गठबन्धनको बहुमत छ । दुई दलको भागबण्डामा सभामुख राजपाको भागमा परेको छ । नेताहरुका अनुसार राजपा महासचिवसमेत रहेका मनिष सुमनलाई सभामुख बनाउने तयारी छ ।

प्रदेश ४ मा वाम गठबन्धनका तर्फबाट माओवादीले नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने निर्णय गरेको छ ।

त्यहाँ पूर्वमन्त्री आशा कोइरालालाई सभामुख उम्मेदवारका रुपमा हेरिएको थियो । तर, माओवादी केन्द्रले नयाँ अनुहारलाई मौका दिने क्रममा अधिकारीलाई अगाडि सारेको छ ।

प्रदेश ५ को सभामुख माओवादीको भागमा परेको छ र त्यहाँ पनि महिला सभामुख बन्ने सम्भावना छैन ।

प्रदेश ६ मा वाम गठबन्धनका तर्फबाट एमालेका राजबहादुर शाही सभामुख उम्मेदवार बनेका छन् ।

मुख्यमन्त्री सबै पुरुष

प्रदेश ३ मा महिला मुख्यमन्त्री हुने सम्भावना थियो । तर, एमालेको गुटगत राजनीतिका कारण अष्टलक्ष्मी शाक्यले प्रदेश संसदीय दलको चुनावमा हार बेहोरिन् ।

प्रदेश १ मा शेरधन राई, २ मा लालबाबु राउत र ३ मा डोरमणि पौडेल मुख्यमन्त्री हुने भएका छन् । ४ मा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङमध्ये एक मुख्यमन्त्री बन्नेछन् ।

प्रदेश ५ मा शंकर पोखरेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नेछन् । प्रदेश २ बाहेक सबैमा वाम गठबन्धनको सरकार गठन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment