Comments Add Comment

अख्तियारबाट बस्न्यातको बिदाइ, नवीन घिमिरे कार्यबाहक

२९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात सोमबार बिदाइ भएका छन् । मंगलबारसम्म कार्यकाल रहे पनि सार्वजनिक विदाका कारण आयोगले बस्न्यातलाई सोमबार नै बिदाइ गरेको हो ।

६५ वर्षे उमेरहदका कारण उनी सेवानिवृत्त हुन लागेका हुन् । नेपालको संविधानको धारा २३८ को उपधारा ४ को खण्ड ‘ख’ मा अख्तियारका प्रमुख आयुक्त र आयुक्तको उमेर हद ६५ वर्ष तोकिएको छ ।

आयुक्तको रुपमा बस्न्यातले १९ चैत २०७१ सालमा अख्तियारमा नियुक्ति पाएका थिए ।

तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि ४ कात्तिक २०७३ मा बस्न्यात कार्यबाहक प्रमुख आयुक्त बनेका थिए । उनी गत ८ जेठमामात्रै अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।

बस्न्यातले आयोगमा आयुक्त र प्रमुख आयुक्तको रुपमा २ वर्ष १० महिना १३ दिन बिताए ।

नवीन घिमिरे कार्यबाहक प्रमुख आयुक्त

बस्न्यातको कार्यकाल सकिएसँगै बुधबारदेखि हालका आयुक्त नवीनकुमार घिमिरे स्वतः कार्यबाहक प्रमुख आयुक्त हुनेछन् । आयोगमा कार्यरत आयुक्तहरुमध्ये वरिष्ठ भएकाले उनी प्रमुख आयुक्त बन्ने सम्भावना पनि रहेको घिमिरे निकट स्रोत बताउँछ ।

यद्यपि, प्रमुख आयुक्तको निर्णय संवैधानिक परिषदको सिफारिसका आधारमा हुने व्यवस्था छ । संसद गठन भएपछि न्याय परिषद् गठन हुने भएकाले वर्तमान सरकारले प्रमुख आयुक्त नियुक्त गर्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment