Comments Add Comment

प्युठाने चेलीको भाग्य : होस्टेल वार्डेनदेखि उपसभामुखसम्म !

मसाल छाडेर एमाले, एमाले छाडेर भूमिगत राजनीति

२ फागुन, विराटनगर । सुदूर पूर्वमा अवस्थित प्रदेश १ को उपसभामुखमा निर्विरोध उम्मेदवार बनेकी छिन् सरस्वती पोखरेल । प्रदेश ५ मा पर्ने प्युठानकी चेली पूर्वकी बुहारी बनिन् र अहिले भाग्यवस प्रदेश १ उपसभामुख बन्न लागेकी छिन् ।

माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य रहेकी पोखरेलको एकल उम्मेदवारी परेको छ । वाम गठबन्धनबीच भएको भागबण्डा अनुसार उपसभामुख पदका लागि पोखरेलले विराटनगरस्थित प्रदेश संसद सचिवालयमा बुधबार मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्तासँगै उनी विहीबार निर्विरोध उपसभामुख हुनेछिन् ।

सरस्वतीको जन्म प्युठानको मच्छीमा ०३२ सालमा भएको हो । विद्यालय शिक्षा उनले त्यहीँको ओखरकोट माविबाट पूरा गरिन् ।

विद्यालयमा पढ्दा उनी नेकपा मसाल समर्थित अखिल छैठौंमा आवद्ध थिइन् । पछि ०५१ सालतिर उनी एमाले अखिलमा प्रवेश गरिन् ।

विद्यालयको पढाइ सकिएपछि उनी अध्ययनका लागि राजधानी आइन् । काठमाडौं आएर सुरुमा उनले पाटन क्याम्पसमा पढिन् । स्नातकोत्तरको पढाइ उनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट पूरा गरेकी हुन् । यसक्रममा उनी एमाले अखिलमा सक्रिय थिइन् ।

कीर्तिपुरमा पढ्दै गर्दा सरस्वतीले केहीसमय त्यहाँ होस्टेलको वार्डेनका रुपमा जागिरसमेत खाएकी थिइन् ।

पोखरेलले समाजशास्त्रमा एमए अध्ययन गरेकी छिन् ।

कलेज पढ्ने क्रममा प्युठानकी सरस्वती र संखुवासभाका शिव डाँगीबीच प्रेम सम्बन्ध झाँगियो । र, पूर्वेली युवकसँगको त्यही प्रेम अनि वैवाहिक सम्बन्धका कारण उनले प्रदेश १ को उपसभामुख बन्ने सौभाग्य पाएकी हुन् ।

एमाले हुँदै माले अखिलमा कार्यरत कृष्ण केसीलगायतका नेताहरु ०५८ सालतिर माओवादीमा सामुहिक प्रवेश गरे । त्यही समूहमा मिसिएर सरस्वती पोखरेल र शिव डाँगी पनि माओवादी भने ।

माओवादीमा लागेपछि डागी र पोखरेल दुबै ०५८ सालको चैततिर पक्राऊ परे । पछि माओवादी र सरकारबीच वार्ता हुँदा उनीहरु छुटे । त्यसपछि पूर्वी नेपालमा आएर श्रीमान-श्रीमती नै भूमिगत राजनीतिमा होमिए ।

सरस्वती हाल इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा दुई छोरा र श्रीमानका साथ बसोबास गर्दै आएकी छिन् । कान्छा छोरा निकै सानै छन् ।

डाँगी परिवारले संखुवासभाको पैत्रिक सम्पत्ति बेचेर इटहरीमा घर बनाएको सरस्वतीका श्रीमान एवं माओवादी नेता शिव डाँगीले अनलाइनखबरलाई बताए ।

प्रदेश ५ मा जन्मेर प्रदेश १ मा उपसभामुख बन्न सफल सरस्वती हाल माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यका साथै सुनसरी इञ्चार्ज समेत हुन् । उनी ०५८ सालदेखि माओवादीकी पूर्णकालीन कार्यकर्ता हुन् ।

वाम गठबन्धनमा भएको सहमतिअनुसार २९ माघमा एमालेका प्रदीपकुमार भण्डारी प्रदेश १ को सभामुखमा निर्विरोध चयन भैसकेका छन् ।

सभामुख र उपसभामुख दुवै पुरुष र महिला भए पनि खस आर्य समुदायबाट छानिएका छन् । तर, मुख्यमन्त्री भने जनजाति समुदायले पाएको हुनाले सन्तुलन मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment