Comments Add Comment

सिलवालविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमै अडि्कयो

२ फागुन, काठमाडौं । सांसद एवं पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्ध बुधबार दायर गर्ने भनिएको सरकारी कागजात कीर्ते मुद्दा अदालतमा पेश हुन सकेन ।

सिलवालविरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई दबाव दिए पनि सिलवालविरुद्ध मात्रै दर्ता गर्ने आधार नभएको भन्दै दाहालले अस्वीकार गरेका थिए ।

काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा सिलवालविरुद्धको कीर्ते मुद्दामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख दाहाल भने प्रहरीले बुझाएको रायसहितको मिसिल अध्ययन नसकिएकाले मुद्दा दर्ता नभएको बताउँछन् ।

‘हामीले मिसिलको अध्ययन सुरु गरेका छौं । यस विषयमा थप जानकारी लिएर अघि बढ्छौं’, दाहालले अनलाइनखबरसँग भने, ‘सम्पूर्ण अध्ययनपछि सरकारवादी मुद्दा चलाउने वा नचालउने भन्ने बारेमा महान्याधिवक्तालाई जानकारी पेश गर्छौं । त्यसपछि मुद्दा चल्ने, नचल्ने वा कहिले चल्ने भन्ने निर्णय हुन्छ ।’

तर, महान्यायाधीवक्ता भण्डारीले भने आफैंले भए पनि सिलवालविरुद्ध मुद्दा दर्ता गर्ने बताएका छन् ।

नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा पेश भएका भिन्दाभिन्दै कार्य सम्पादन मूल्यांकन (कासमु) मध्ये कुन चाहिँ कीर्ते हो र यसमा कस-कसको संलग्नता छ भन्ने अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

अहिले सिलवाल फरार छन् । उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले समेत डिफ्यूजन नोटिस जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment