Comments Add Comment

नेपाली क्रिकेट : युवा क्रिकेटरले जोगाएको शाख


३ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टुमा बढी रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन् रोहितकुमार पौडेल । सातौं नम्बरमा ब्याटिङ गर्न आउने उनी १५ वर्षीय किशोर हुन् ।

प्रतियोगितामै सबैभन्दा बढी विकेट लिन सफल नेपाली बलर सन्दिप लामिछाने पनि १७ वर्षका मात्र भएका छन् ।

रोहित सन्दिप मात्र होइनन्, नेपाली टोलीमा २० वर्षसम्मको उमेर समूहका थप ४ खेलाडी छन्, आरिफ शेख (२०), अनिलकुमार शाह (१९), दिलिप नाथ (२०), दिपेन्द्र सिंह ऐरी (१८ वर्ष) ।

आईपीएल टिममा आवद्ध भएर चर्चामा रहेका सन्दिपको बलिङमाथि सबैको ध्यान त हुने नै भयो । अन्य युवा खेलाडीहरुको प्रदर्शनले नेपाललाई ठूलो टेवा दिएको छ ।

नियमित ब्याट्सम्यानहरु सस्तैमा गुमाउँदा पनि युवा टोलीले सुझबुझपूर्ण खेल देखाएर नेपाललाई जितसम्म डोर्‍याएका छन् । नेपालले जितेका ४ वटै खेल एकदमै तनावपूर्ण थिए । तीनवटा खेल अन्तिम ओभरसम्म पुग्यो भने दुईवटा अन्तिम बलसम्म । यस्तोमा युवा खेलाडीहरुले आफूले पाएको अवसरको सक्दो सदुपयोग गरेका छन् ।

दिलिप नाथले क्यानाडाविरुद्ध ४१ रनको महत्वपूर्ण इनिङ खेले ।

आरिफ र रोहितले चरम दबावको स्थितिमा ब्याटिङको काँध थापे । केन्याविरुद्ध उनीहरुले गरेको ८७ रनको साझेदारीले नै खेल नेपालको पक्षमा ढालेको थियो । बुधबार क्यानडाविरुद्ध अघिल्लो पङ्तीका ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा उनीहरुले ४६ रनको पार्टनरसीप गरेर नेपाललाई ब्यूँताएका थिए ।

हारको औपचारिकता मात्र बाँकी रहेको ठानिएको क्यानाडाविरुद्धको म्याचमा करण केसीले जादु देखाए । दीपेन्द्र सिंह ऐरी भने यसपटक चुके । यद्यपि, उनी लामो रेसका घोडा हुन् भन्नेमा शंका छैन ।

समग्रमा हेर्दा नेपाललाई विश्वकप छनोटसम्म पुर्‍याएर टप एशोसिएट टिमको शाख युवा क्रिकेटरले नै जोगाएका छन् । यसमा अरु खेलाडीहरुको योगदान पनि कम छैन ।

नेपाली यू-१९ प्रशिक्षक विनोद दास भन्छन्, ‘युवाहरुले अवसर पाएको बेला राम्रो प्रदर्शन गरेर देखाएका छन् । यसले सिंगो टिमलाई मजबुत बनाउन मदत नै गर्छ ।’

तर, उनीहरुले आगामी दिनमा आफ्नो प्रदर्शनलाई कतिसम्म निखार्दै लैजान्छन् त्यो हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment