+
+

८ रनले चुक्यो नेपाल, डिभिजन टूको उपविजेतामा सीमित

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते २०:५५

३ फागुन, काठमाडौं । पारस खड्काको शतकका बाबजुद नेपालले यूएईसँग ७ रनले पराजित भएको छ र विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता बनेको छ ।

यूएईले भने उपाधिसँगै समूह चरणमा व्यहोरको हारको बदला पनि दिएको छ ।

२७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पुरा गरेपनि पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए । तर, जितका लागि नेपाललाई मात्र ८ रन पुगेन । १०३ बलको सामना गरेका पारसले ३ चौका र ८ छक्काको मदतमा अविजित ११२ रन बनाए ।

नेपालको सुरुवात मध्यम रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ३८ रनको साझेदारी गरे । नाथ १३ रनमा आउट भए । दुई बलपछि नै ज्ञानेन्द्र पनि व्यक्तिगत २४ रनमा पभेलियन फर्किए ।

पारसले दिपेन्द्र सिंह ऐरीसँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिपेन्द्र ३५ रनमा आउट भए ।

शरद भेषावकरले ६३ रनको साझेदारी गरे । शरद ३० रनमा पभेलियन फर्किए । आरिफ शेख ७ रनमा आउट भए,जतिबेला टिमको स्कोर १८६ रन थियो ।

रोहितकुमार पौडेलले छैटौं विकेटका लागि पारससँग ४२ रनको साझेदारी गरे । उनी २३ रनमा आउट भए । त्यसपछि भने ठूलो साझेदारी हुन सकेन ।

पारसले एउटा एण्डमा बसेर आक्रामक पारी खेलेपनि अरु ब्याट्सम्यान टिक्न सकेनन् । बुधबार नायकी प्रदर्शन गरेका करण केसी मात्र ३ रनमा आउट भए सोमपाल कामीले ६ रन मात्र बनाउन सके ।

बसन्त रेग्मी ५ रनमा अविजित रहे ।

यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो ।

युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?