Comments Add Comment

डिभिजन दुईमा नेपाली क्रिकेटर : को हिट ? को फ्लप ?

४ फागुन, काठमाडौं । नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । फाइनलमा पुगेसँगै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा स्थान बनाएको नेपाल उपाधि भिडन्तमा भने ८ रनले चुक्यो ।

लिग चरणमा नेपालले पाँचमध्ये चार खेल जिथेको थियो । प्रतियोगितामा धेरै नेपाली खेलाडीहरुको प्रदर्शन शानदार रह्यो भने केही यसपटक चल्न सकेनन् । यहाँ नेपाली टोलीबाट खेलेका १२ खेलाडीको प्रदर्शनको संक्षिप्त चर्चा गरिएको छ :

१. सन्दिप लामिछाने

१७ वर्षीय युवा स्पिनर सन्दिप लामिछाने डिभिजन २ प्रतियोगितामा उत्कृष्ट बलिङ गरे । उनी म्यान अफ द सिरिज नै घोषित भए । उनले कुनै पनि टिमका ब्याट्सम्यानहरुलाई खुलेर खेल्न दिएनन् ।

६ म्याचमा १७ विकेट लिएका सन्दिप प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो नम्बरमा छन् ।

ओमानका बिलम खानले समान विकेट लिए पनि राम्रो इकोनोमीका कारण सन्दिप अगाडि छन् । केन्याविरुद्धको महत्वपूर्ण खेलमा उनले केवल २० रन दिएर पाँच विकेट चट्का थिए ।

इन्डियन प्रिमियर लिगको टिम दिल्ली डेयडेभिल्सले खरिद गरेका उनले प्रतियोगिताबाट आफूलाई अन्तर्राष्ट्रिय स्तरको खेलाडी प्रमाणित गरेका छन् ।

सन्दिपको योगदानको कुरा गरिरहँदा उनको ब्याटिङलाई पनि नजरअन्दाज गर्न मिल्दैन । पुछारमा ब्याटिङ गर्न आउने सन्दिपले दुईवटा खेलमा अन्तिम विकेटका लागि म्याच विनिङ पार्टनरसिप गरेका थिए ।

नामिबियाविरुद्ध बसन्त रेग्मीलाई र क्यानाडाविरुद्ध करण केसीलाई उनले साथ नदिएको भए नेपालको सम्भव थिएन ।

२. पारस खड्का

नेपाली टोलीका कप्तान पारस खड्काले डिभिजन २ प्रतियोगितामा ‘लिडिङ फ्रम द फ्रन्ट’ को उदाहरण पेश गरे ।

उनी नेपालका लागि मात्र होइन, प्रतियोगितामै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न सफल भएका छन् । उनले ६ खेलमा ४८ को औसतमा जम्मा २४१ रन बनाए ।

फाइनलमा पारसले आक्रामक शतक प्रहार गर्दै नेपाललाई जितको नजिक पुर्‍याए पनि यूएई ७ रनले विजयी बन्यो । समूह चरणमा यूएईविरुद्ध ‘लो स्कोरिङ’ म्याचमा पारसले ४८ बलमा हानेको अर्द्धशतक निर्णायक बनेको थियो ।

केन्याविरुद्ध उनले ४४ बलमा ४२ रनको महत्वपूर्ण पारी खेले । उनी प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान समेत बनेका छन् ।

अलराउन्डर पारसले २६ ओभर किफायती बलिङ पनि गरे र १२६ रन खर्चेर तीन विकेट लिए ।

३. रोहितकुमार पौडेल

१५ वर्षीय ब्याट्सम्यान रोहितकुमार पौडेलले डिभिजन टूमै नेपालको सिनियर टिममा डेब्यू गरेका हुन् ।

तर, उनले टिमका लागि महत्वपूर्ण योगदान दिए र आफू लामो रेसको घोडा भएको छनक देखाए । रोहित ब्याटिङका लागि क्रिजमा आउँदा नेपाल सँधै संकटग्रस्त अवस्थामा हुन्थ्यो । परिस्थितिको माग अनुसार सुझबुझपूर्ण ब्याटिङ गर्दै उनले तल्लो मध्यक्रमको उपयोगी ब्याट्सम्यान सावित गरे । ६ खेलमा रोहितको ब्याटबाट १४० रन निस्कियो, जून नेपालका ब्याट्सम्यानले बनाएको दोस्रो धेरै रन हो ।

उनीभन्दा धेरै रन पारसले मात्र बनाएका छन् । केन्याविरुद्धको म्याचमा रोहितले महत्वपूर्ण ४७ रन बनाएर रन आउट भएका थिए । सो म्याचमा उनले आरिफ सेखसँग गरेको ८७ रनको साझेदारीले नै नेपालालाई जिततर्फ डोर्‍याएको थियो । घरेलु क्रिकेटमा ठूला सट खेल्ने ब्याट्सम्यानको रुपमा चिनिए पनि अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो यात्रामा उनले संयमित ब्याट्सम्यानको छवि बनाएका छन् । अलराउन्डर रोहितलाई कप्तान पारसले बलिङमा भने प्रयोग गरेनन् ।

४. करण केसी

बाग्लुङे युवक करण केसी नेपालका स्ट्राइक बलर हुन् । तर, उनले आफ्नो ब्याटबाट नेपाललाई फाइनलमा पुर्‍याए । क्यानडाविरुद्धको निर्णायक खेलमा नेपाल हारको संघारमा पुगिसकेको थियो ।

नेपाल ९ विकेट गुमाएर १४४ रनको अवस्थामा रहँदा हारको औपचारिकता मात्र बाँकी रहेको देखिन्थ्यो । तर, करणको दिमागमा अर्कै कुरा खेलिरहेको थियो ।

‘आए आँप, गए झटारो’ भन्ने शैलीमा करणले आफ्नो ब्याट घुमाए र नेपाललाई सनसनीपूर्ण जित दिलाए । १० औं नम्बरमा ब्याटिङ गर्न आएका करणले ३१ बलमा नटआउट ४२ रन हान्दै नेपाललाई जिताएका थिए । उनको यो ब्याटिङ नेपाली क्रिकेट समर्थकले कहिल्यै भूल्ने छैनन् ।

बलिङमा भने करण अपेक्षाकृत सफल रहेनन् । फास्ट बलरलाई हेल्प गर्ने पीच भए पनि उनले त्यसको सदुपयोग गर्न सकेनन् । उनले ६ खेलमा २ विकेट मात्र लिन सफल भए । न त उनले रनको बहाव नै रोक्न सके । नेपाली टिममा आफ्नो स्थान सुरक्षित राख्न उनले बलिङमा निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।

५. शरद भेषावकर

अनुभवी ब्याट्सम्यान शरद भेषावकरको प्रदर्शन यो प्रतियोगितामा सन्तोषजनक नै रह्यो । उनले कुनै म्याचमा पनि ठूलो इनिङ त खेलेनन् तर, कठिन समयमा उपयोगी रन बनाए ।

उनले ब्याटिङमा मात्र नभएर बलिङमा पनि योगदान दिए । शरदले ६ वटा म्याचमा कुल १०४ रन बनाए । यद्यपि, नेपालले उनीबाट योभन्दा बढि आशा गरेको थियो ।

कप्तान पारसले शरदलाई पार्ट टाइम बलिङमा पनि उतारे । उनको बलिङ घातक नभए पनि किफायती रह्यो । उनले प्रतियोगितामा ३ विकेट लिएका छन् ।

६. बसन्त रेग्मी

बसन्त रेग्मी नेपालका सबैभन्दा सफल बलर हुन् । तर, यसपाली उनलाई सन्दिप लामिछानेले छायाँमा पारे । बसन्तले आफ्नो स्तरअनुरुप प्रदर्शन गर्न सकेनन् ।

६ वटा खेलमा उनले ७ विकेट लिएका छन् । क्यानाडाविरुद्ध लिग चरणको अन्तिम खेलमा भने बसन्तले उत्कृष्ट बलिङ गर्दै ३४ रन खर्चेर तीन विकेट हात पारेका थिए ।

प्रतियोगिताको पहिलो खेलमा नै नामिबियाविरुद्ध नेपालले हात पारेको जितको श्रेय भने उनलाई नै जान्छ । नवौं नम्बरमा उनी ब्याटिङमा आएको बेला नेपाल ९३-७ को स्थितिमा थियो र लक्ष्य १३८ रन थियो ।

प्रमुख ब्याट्सम्यानहरु पेभिलियन फर्किसकेको अवस्थामा उनले आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । बसन्तले २४ रनमा २ छक्का र एक चौकाको मद्दतले २४ रन हानेका थिए । बसन्तले लामो समयको अन्तरालमा ब्याटिङबाट टिमलाई योगदान दिएका हुन् ।

७. सोमपाल कामी

प्रतियोगितामा फास्ट बलर सोमपाल कामीबाट नेपालले धेरै आशा गरेको थियो किनकी नामिबियाको पीच उनको बलिङलाई सुहाउँदो थियो । तर, सोमपालको प्रदर्शन औसत मात्र रह्यो ।

लिगचरणमा यूएईविरुद्ध सोमपालले उत्कृष्ट बलिङ गरेका थिए । यो खेलमा उनले ३० रन खर्चेर चार विकेट लिएका थिए । यूएईविरुद्धकै उपाधि भिडन्तमा भने सोमपाल फिक्का बने । फाइनलमा उनले ५६ रन दिएर एक विकेट मात्र हात पार्न सफल भए ।

प्रतियोगिताभरी सोमपालले ४८ ओभर बलिङ गर्दा जम्मा १० विकेट झारेका छन् । उनी सर्वाधिक विकेट लिने बलरहरुको सूचीमा दशौं नम्बरमा छन् ।

सोमपाल तल्लो क्रमका उपयोगी ब्याट्सम्यान समेत हुन् । केन्याविरुद्धको खेलमा अन्तिम बलमा २ रन बनाउने जिम्मेवारी उनको काँधमा आइपुगेको थियो, जसमा उनी सफल भए । त्यसबाहेकका खेलहरुमा उनको ब्याटिङ उल्लेखनीय रहेन ।

८. आरिफ सेख

आरिफ सेखले केही समययता नियमित रुपमा राष्ट्रिय टिममा स्थान बनाउँदै आएका छन् । घरेलु क्रिकेटमा राम्रो ब्याटिङ गर्दै आएका आरिफ अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खासै चल्न सकेका थिएनन् । यो प्रतियोगितामा भने उनले केही प्रभाव पारेका छन् ।

लिग चरणमा केन्याविरुद्ध उनको योगदान महत्वपूर्ण थियो । एक सय ७८ रन पछ्याइरहेको नेपाल ८२-५ को संकटपूर्ण अवस्थामा थियो । आरिफले रोहितकुमार पौडेलसँग ८७ रनको उत्कृष्ट साझेदारी गरे । उनले व्यक्तिगत ४७ रन बनाएका थिए ।

यसबाहेक क्यानाडाविरुद्ध उनले बनाएको २६ रन अन्त्यमा महत्वपूर्ण सावित भएको थियो ।

९. दिलिप नाथ

नेपालले ओपनिङमा ज्ञानेन्द्र मल्लको जोडीका रुपमा विभिन्न ब्याट्सम्यानलाई प्रयोग गरिरहेको छ । पछिल्लो पटक दिलिप नाथ आएका छन् । उनी विकेटकिपर ब्याट्सम्यान हुन् ।

नेपालले खेलेका ६ मध्ये ५ मा दिलिपले मौका पाए, जसमध्ये एउटा खेलमा मात्रै उनको ब्याटिङ उल्लेखनीय रह्यो । क्यानाडाविरुद्ध उनले फुर्तिलो ब्याटिङ गर्दै ४१ रन बनाएका थिए । कुल ५ म्याचमा उनले ७५ रन जोडेका छन् ।

नेपालको ओपनरका रुपमा आफ्नो दिगो स्थान बनाउन उनले अझै निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

१०. दिपेन्द्र सिंह ऐरी

नेपाली टिममा निकै आशा गरिएका युवा खेलाडी हुन् दिपेन्द्र सिंह ऐरी । उनी एक्लो बलबुतामा म्याच जिताउने क्षमता राख्छन् । तर, यो प्रतियोगितामा दिपेन्द्र चम्किन सकेनन् ।

चौंथो नम्बरमा ब्याटिङ गर्न आएका उनी केही उपयोगी पार्टनरसीपमा सहभागी भए तापनि ठूलो व्यक्तिगत स्कोर बनाउन चुके । ६ वटै खेलमा ब्याटिङ गरेका दिपेन्द्रले कुल मिलाएर ८४ रन मात्र बनाएका छन् ।

उनले फाइनल म्याचमा यूएईविरुद्ध सर्वाधिक ३५ रनको योगदान दिएका थिए भने कप्तान पारसँग राम्रो साझेदारी निभाए ।

११. ज्ञानेन्द्र मल्ल

नेपाली ब्याटिङका एक खम्बा उपकप्तान ज्ञानेन्द्र मल्ल प्रतियोगितामा फिक्का भए । भरपर्दा ओपनर मानिँदै आएका उनको ब्याटबाट उल्लेखनीय रन निस्किन सकेन ।

६ वटा इनिङ खेल्दा उनी पाँचपटक सिंगल डिजिट स्कोरमा आउट भएका थिए । फाइनलमा उनले यूएईविरुद्ध राम्रो सुरुवात गरे पनि लामो इनिङ खेल्न सकेनन् ।

मल्लले केन्याविरुद्ध विकेट किपरको समेत भूमिका निर्वाह गरे । त्यतिबेला उनले सुरुमै दुईवटा क्याच छोड्न पुगे । प्रतियोगितामा उनले जम्मा ६९ रन मात्र बटुल्न सफल भए ।

१२. अनिलकुमार शाह

घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेर राष्ट्रिय टिमका लागि छानिएका अनिलकुमार शाहको यो डेब्यू प्रतियोगिता थियो । तर, उनले एउटा खेलमा मात्रै मौका पाए ।

लगातार तीन खेलमा दिलिप नाथ नचलेपछि केन्याविरुद्ध उनलाई ओपनिङमा ल्याइएको थियो । तर, पहिलो बलमै आउट भए । उनले त्यसपछि मौका पाएनन् ।

१४ सदस्यीय नेपाली टोलीका २ सदस्यले भने यो प्रतियोगितामा एक खेल पनि खेलेनन् । उनीहरुमध्ये एक भेट्रान बलर शक्ति गौचन पनि हुन् । उनीसँगै युवा बलर ललित भण्डारी नेपाली टोलीमा त र रहे तर, एक खेल पनि नखेली फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment