Comments Add Comment

कथाः मेक्सिकन मन


‘हामी तेत्तीस बर्ष भयौं’, कोटेश्वरबाट फराकिलो सडक हुँदै गठ्ठाघर पुग्दा गिग्यार्मोले कारको पछिल्लो सीटबाट भन्यो ।

‘होइन’, म बत्तीस बर्ष मात्र भएँ’, एरिकाले सच्याउँदै भनी ।

‘हाम्रा दुई बच्चा छन्’, गिग्यार्मोले एरिकाको कुरा सुनेको नसुन्यै गरी थप्यो ।

‘कान्छी छोरी दुई बर्षकी भई’, एरिकाले थपी ।

‘जेठी झन्डै दश बर्षकी’, गिग्यार्मोले थप्यो ।

गिग्यार्मो अनुहारले नेपालीजस्तै देखिन्थ्यो । घुम्रेको कपाल र हल्का दाह्री उसलाई निकै सुहाएको थियो ।

‘म उसलाई उसको हल्का दाह्रीमा निकै मन पराउँछु । आजकल अमेरिकामा हल्का दाह्री पाल्नु फेसनजस्तै भएको छ’, नगरकोटको भ्यु ग्राउन्ड नपुग्दै मैदाको पीठो जस्ती गोरी एरिकाले भनी ।

त्यसपछि मैले नबुझ्ने भाषामा उनीहरुले एकआपसमा केही कुरा गरे ।

‘तिमीहरु कुन भाषामा कुरा गर्दैछौ ?’, मैले सोधें ।

‘स्पेनिस हाम्रो पहिलो भाषा हो । यो हाम्रो देशको औपचारिक भाषा पनि हो । हामी दुई एकअर्कासँग अहिले पनि स्पेनिस बोल्छौं । घरमा हाम्रा बच्चाहरु पनि स्पेनिस बोल्छन् । यो हाम्रो परिवारको भाषा हो । यदि हामीले यसरी स्पेनिस बोलेनौं भने र बच्चाहरुलाई पनि बोल्न लगाएनौं भने हामी त रहन्छौं तर हाम्रो भाषा रहँदैन । भाषा हराए संस्कृति, परम्परा र हाम्रोपन पनि रहँदैन’, एरिकाले भनी ।

‘मेक्सिकोमा हाम्रो घर थियो । बीस मिनेटको ड्राइभ डिस्टेन्स्मा हाम्रो स्कुल अमेरिकामा थियो । स्कुल जाँदा हामीले प्रत्येक दिन पासपोर्ट देखाउनु पथ्र्यो’, एरिका बाल्यकालतिर फर्किई ।

‘कतिपय गर्भवती महिला सुत्केरी हुन नजिकैको सीमाना काटेर अमेरिका छिर्थे । त्यो एक प्रकारको कल्चर नै थियो । तर, मेरा बाबा र आमाले मलाई हाम्रै माटोमा जन्म दिने निणर्य गर्नुभयो । खासगरी मेरो बाबालाई भुगोलमा होइन, कर्ममा विश्वास थियो । मलाई मेक्सिकोको सीमानभित्रै जन्माएको सन्दर्भलाई उदाहरण दिदै धेरैले मेरो परिवारलाई मूर्ख समेत भने’ गोरी एरिकाले भनी ।

‘तर, मलाई जन्माउने तरखर गर्दै मेरी आमा सीमाना कट्नुभयो । मेरो दोष होइन, म अमेरिकाको अस्पतालमा जन्में र त्यहीँ दिनदेखि अमेरिकी नागरिक पनि भएँ । तर, मेरो बाल्य र किशोरकाल मेक्सिकोमै बित्यो । म मेक्सिकन रगत हुँ’, गिग्यार्मोले भन्यो ।

उनीहरुले बाल्यकाल जहाँ बिताए, देशको हिसाबले त्यो मेक्सिको नै थियो तर त्यो मेक्सिको मात्र थिएन । त्यहाँ अमेरिका पनि सँगै थियो । उताको हावा यता र यताको हावा उता बग्थ्यो । स्कुल उता र घर यता भएकाले उनीहरु मेक्सिको र अमेरिकाको संयुक्त परिवेशमा हुर्के । जति बढ्दै गए उति उनीहरु अमेरिकाको उज्यालोमा नजिकिए । तर, मेक्सिकन हुँ भन्ने भावनाले उनीहरुलाई अझ बढी मेक्सिकन बनाइरहेको थियो । उनीहरुको कुरा गराईको तरिकाबाट मलाई त्यस्तै लाग्दै थियो ।

मेक्सिको देशमात्र नभएर त्यो देशको राजधानीको नाम पनि हो जो विश्वका जनघनत्व बढी भएका शहरहरुमध्ये एउटा हो । तर, उनीहरु राजधानी मेक्सिकोबाट आएका थिएनन् । सुरुमा बताए अनुसार उनीहरु नर्थ मेक्सिकोका थिए, जहाँबाट अमेरिका निकै नजिक थियो ।
‘अहिले हामी अमेरिकाको क्यालफोर्नियास्थित सनफ्रान्सिस्को मा बस्छौं’, गिग्यार्मोले भन्यो । स्कुल, कलेज, संगत र सपना यी सबको समिश्रणबाट उनीहरु एक दिन अमेरिका पुगे ।

‘हामी मेक्सिकन अमेरिकी हौं’, एरिकाले भनी ।

‘इतिहासमा क्यालफोर्निया मेक्सिकोमा पथ्र्यो । हामीले टेक्सस्, क्यालफोर्निया र अन्य थुप्रै भु-भाग गुमायौं’, गुडिरहेको कारबाट परपरतिर हेर्दै गिग्यार्मोले भन्यो ।

‘अमेरिकाको  सनफ्रान्सिस्को  नर्थन मेक्सिकोस्थित हाम्रो जन्मथलो चिह्वाहा आइपुग्न कारमा सत्र घन्टा लाग्छ’, नगरकोट नजिकिदै गर्दा उसले फेरि थप्यो, ‘हामीले धेरै घुम्यौं । विभिन्न संस्कृति, धर्म, देश र महादेशका मानिसलाई भेट्यौं ।

उनीहरु फरक देखिन्छन् तर भित्रबाट समान छन् । मैले एकजना मुस्लिम साथीलाई भेटें । उसले कुरानका कथा सुनायो । हिन्दु साथी भेटें । उसले वेद, उपनिषद्, रामायण र महाभारतका कथा सुनायो । हामीले अनेक धर्मका अनेक मानिसलाई भेट्यौं । उनीहरुसँग कुरा गर्‍यौं । सन्देश एकै भए पनि प्रत्येकका कथाहरु फरक थिए ।’

उनीहरुको पनि कथा पनि फरक छ ।

‘सन् २००२ तिरको कुरा हो । हामी भर्खरका थियौं’, केटाले कथा सुरु गर्‍यो ।

‘म सत्र बर्षकी थिएँ’, केटीले कथालाई निरन्तरता दिई ।

‘मैले उसलाई उसलेभन्दा पहिले देखें’, केटाले भन्यो ।

‘त्यति बेला मेरो अर्कै ब्वाइफ्रेन्ड  थियो’, केटीले भनी ।

‘मसँग कार थियो । मेरो कार नै हाम्रो भेटको कारण हो । कार नभएको साथी गर्लफ्रेन्डलाई भेट्न उसको घर जाँदै थियो । साथीले मलाई मेरो कारको कारणले संगै जान भन्यो । मैले उसलाई उसकी गर्लफ्रेन्डको घर पुर्‍याएँ । र, नजिकैको अर्को घरअगाडिको सडकमा कार रोकेर साथीलाई कुर्दै थिएँ । एक्कासी मैले त्यही घरको आँगनमा एउटी टिनएजकी केटी देखें । म त्यसपछि नचलिरहेको कारभित्र अझ अचल भएँ । मेरो शरीरमात्र होइन, आत्मा नै अचल भएको थियो । सायद मैले सास फेर्न पनि बिर्सें । आँखाहरु त्यही केटीतिर पुरै टोलाए । जीवनमा मैले पहिलो पटक मनभित्र त्यति मीठो अनुभुति गरें’, केटाले प्रेमपूर्वक सुनायो ।

त्यो टीनएजवाली केटी एरिका थिई ।

‘हो, त्यसअघि पनि मेरा गर्लफ्रेन्डहरु थिए । तर, एरिका पहिलो थिई जोसँग म साँच्चै सिरियस भएँ’, गिग्यार्मोले भन्यो ।

‘एरिका ठीक केटी होइन । ऊ तिम्रो लागि बनेकी होइन । खासै राम्री पनि छैन । उसको चरित्र पनि ठिक छैन । त्यसैले उसलाई छोड्नुमै तिम्रो भलाई छ’, त्यसताकाको आफ्नो ब्वाइफ्रेन्डलाई गिग्यार्मोले त्यसो भनेको एरिकाले सम्झदै मलाई सुनाई । एरिकाको ब्वाईफ्रेन्ड गिग्यार्मोको पनि एक प्रकारको साथी नै थियो ।

‘मेरो ब्वाईफ्रेन्डले मलाई भन्दा छट्टु गिग्यार्मोलाई विश्वास गर्‍यो । त्यसपछि हाम्रो ब्रेकअप भयो’, उसले एउटा प्रेमकहानीको अन्त्य सुनाई ।
‘प्रेमका लागि मैले खेल खेलें’, विजेताले झैं गिग्यार्मो बोल्यो ।

‘गिग्यार्मो ! तिमीले सही खेल खेलेछौ । तिमी, एरिका र एरिकाको पूर्व ब्वाईफ्रेन्ड सबैको हितको खेल थियो त्यो । किनभने, ब्वाईफ्रेन्ड आफ्नी गर्लफ्रेन्डलार्इ नभई अरुलाई विश्वास गर्‍यो । त्यसैले तिम्रो खेल आफैमा नकारात्मक भए पनि त्यसको परिणाम सकारात्मक भयो । र, त्यो खेल यदि सन् २००२ को सट्टामा २०१२ मा भएको भए निकै ढिला हुन्थ्यो । त्यो ठिक समयमा भएको खेल थियो । अन्यथा तिमीहरुको जीवनमा कस्तो खालको घटना वा दुर्घटना हुन्थ्यो भन्न सकिन्थेन’, कारको अघिल्लो सीटबाट पछाडि बटारिएर मैले भनें ।

‘त्यसैले झन्डै सत्र बर्ष तिमीहरुले संगसँगै जीवन बितायौ । तर, अझै पनि तिमीहरु नयाँ जोडीजस्तै देखिन्छौ’, मैले थपें ।

हामी नगरकोट पुग्यौं । नगरकोटबाट उत्तरी हिमश्रृंखला हेर्ने उनीहरुको चाहनालाई मौसमले साथ दिएन । बादल र बादलका थुप्राहरुबीच एकाध हिमालका स-साना टुक्राहरु मात्र देख्यौं । त्यो पनि केही सेकेन्डमात्र ।

त्यसअघि कमलविनायक कटेपछि सडक पनि बादलले छोपेको हिमालजस्तै थियो । सडक साँघुरोमात्र थिएन, खाल्डाखुल्डी र धुलोको संगम नै थियो । सडकको दुरावस्थापटि्ट ध्यान नजाओस् भनेर मैले उनीहरुलाई नेपालका अनेक रोचक विषयहरुबारे ठुल्ठुलो स्वरमा जानकारी दिदै गरेको थिएँ । उनीहरुले पनि बहुसाँस्कृतिक मेक्सिकोबारे बताएका थिए । उनीहरुले हिमाल देखेनन् तर त्यति बेलासम्म उनीहरुमा यात्राको उत्साह मैले देखिरहेको थिएँ ।

नगरकोटको भ्यु टावरसम्म पुगेर त्यहाँबाट बसपार्क हुँदै फर्केर पुलिस मोडमा कारलाई छोडेर आइटेनरीलाई पछ्याउँदै हामीले नगरकोट-तेलकोट-चाँगुनारायण हाइकिङ सुरु गर्‍यौं । पुलिसमोडबाट कच्ची सडक हुँदै सुरु भएको हाम्रो हाइकिङ पहिलो गाँसमा नै झिँगा भनेजस्तो भयो । कच्ची सडक धुलाम्मेमात्र थिएन, यत्रतत्र चाउचाउ, चकलेट, चुइगम, चुरोट, विस्कुट आदिका फोहोरले ढकमक्क थिए ।

उनीहरु जोडी भएकोले उनीहरुलाई झन्डै पचास मिटरको दुरी बनाएर अघिअघि हिंडिरहेको थिएँ । हिंडिरहेको थिएँ के भन्नु ? घिसि्ररहेको थिएँ । म आफैलाई पनि त्यहाँ हिंड्नुको कुनै मजा आइरहेको थिएन । मलाई नेपाली गाइड हुनुको लज्जाको अनुभुति भइरहेको थियो ।

हिमालसमेत हिनताले छोपिएको नगरकोटको वातावरण त्यो दिन निकै उदास थियो । म लक्रखलक्रख हिंडिरहेको थिएँ । बेलाबेला केही छिन रोकिएर विभिन्न बोटविरुवा र घरपालुवा जनावरहरुबारे केही भन्दै थिएँ तर उनीहरुले मैले भनेका कुराहरु औपचिारिकताका लागि मात्र सुनेजस्तो गरे ।

नगरकोट-तेलकोट-चाँगुनारायण हाइकिङमा बीचमा पर्ने तेलकोट र तेलकोटअघि गरी दुई ठाउँमा मुख्य सडक भेटिन्छ भनेर उनीहरुलाई पहिल्यै भनिसकेको थिएँ । उनीहरुले सुरुमा नगरकोट-तेलकोट-चाँगुनारायण पुरै हाइक गर्ने बताएका थिए । बरु मैले नै टुक्र्याएर पनि हाइकिङ गर्न सकिने अप्सन दिएको थिएँ ।

‘तेलकोट पुग्न अब कति समय लाग्छ ?’, हिंडेको आधा घन्टा पनि नहुँदै एरिकाले सोधी ?

‘हाइकिङको समय दुरीले होइन, कसरी हिंडिन्छ भन्ने कुराले निर्धारण गर्छ । तर, फटाफट हिँड्ने हो भने आधा घन्टा लाग्छ’, त्यति भन्दै मैले एरिकालाई इंगित गर्दै भनें, ‘आर यु टायर्ड् ?’

‘आइ एम नट् टायर्ड् बट बोर्‍ड’, मेक्सिकोबाट अमेरिका सिफ्ट भएकी एरिकाले स्वर टाठो पारेर भनी ।

यात्राको त्यो सबभन्दा झुर मोड थियो । मलाई नरमाइलो लाग्यो । नरमाइलो मात्र होइन, दुख पनि लाग्यो । मैले त्यो कुरा उनीहरुलाई भनें पनि ।

‘यो तिमीहरुले रोजेको हाइकिङ हो’, मैले भनें ।

‘हो, हामीले इन्टरनेटबाट यो हाइकिङ रुटबारे जानकारी लिएका हौं । र, तिम्रो दोष केही छैन । तिमीले आफ्नो काम राम्ररी गरेका छौ । हाम्रो छनोट नै गलत भयो । यो ठाउँ जहाँ हामी हिंड्यौं, नराम्रो होइन तर फरक छ । र, सबै ठाउँ सबै मानिसलाई मन पर्छ भन्ने छैन । यत्ति हो, यहाँ हामी रमाउन सकेनौं’, एरिकाले त्यसो भनिरहँदा गिग्यार्मोले पनि सहमति जनायो ।

‘२०१७, २८ नोभेम्बरको यो क्षण म दुखी छु’, मैले फेरि भनें ।

उनीहरु दुवैले मलाई अंगालो हाले । मलाई सम्झाउने प्रयत्न गरे । तर, मलाई निकै खल्लो लागिरह्यो । मैले तेलकाटमा पुगिसकेको कारलाई पहिलो सडक-जक्सनमा बोलाएँ । ड्राइभर नमीठो मानेर अघि भर्खर कटेको बाटो फक्र्यो । हामी त्यसपछि चाँगुनारायण पुग्यौं । नेपालकै सबभन्दा पुरानो मानिने त्यो मन्दिर पुग्दा उनीहरु अघिजस्ता अध्याँरा देखिएनन् ।

म भने निकै मलिनो थिएँ । कुनै उत्साह थिएन । उनीहरुले मलाई उत्साहित बनाउन हो वा साँच्चै खुशी भएर हो, चाँगुनारायण निकै मोहक लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment