Comments Add Comment

प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा विजयी

६ फागुन, पोखरा । नेकपा एमालेकी सांसद सिर्जना शर्मा प्रदेश नम्बर ४ को उपसभामुख बनेकी छन् । आइतबार नदीपुरस्थित प्रदेशसभा बैठकमा भएको मतदानमा सिर्जनाले ३८ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

शर्मा एमाले प्रदेश कमिटीको सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन् । शर्मा राष्ट्रपतिका प्रेस सल्लाहकार पाका पत्रकार माधव शर्माकी पत्नी हुन् । शर्मालाई एमालेका मायानाथ अधिकारीले प्रस्ताव र माओवादी प्रदेश ४ प्रमुख सचेतक गायत्री गुरुङले समर्थन गरेका थिए ।

सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् । सभामुख र उपसभामुख फरक पार्टी र फरक लैंगिक हुनुपर्ने संविधानिक प्रावधानअनुसार शर्माले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् ।

निर्वाचित उपसभामुख शर्माले पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रदेशको समृद्धि र यहाँका जनताको अधिकार प्राप्तिका लागि भूमिका खेल्ने बताइन् । ‘म एमालेबाट उपसभामुखमा निर्वाचित भए पनि अब मेरो भूमिका प्रदेश र यहाँका जनताका पक्षमा हुनेछ,’ शर्माले अनलाइनखबरसँग भनिन् ।

संघीयता कार्यान्वयनकै चरणमा प्रदेश सरकार निर्माण भएकाले नीति निर्माणदेखि यसको जग बसाल्ने वातावरण बनाउन आफ्नो भूमिका रहने शर्माले बताइन् ।

शर्मासँगै एमाले सांसद मित्रकुमारी सुवेदी गुरुङ र नरदेवी पुनको पनि उपसभामुखमा आकांक्षा थियो । शर्मालाई आज बिहानको एमाले संसदीय दलको बैठकले उपसभामुखमा सिफारिस गरेको हो ।

सिर्जनाको विपक्षमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी गोरखाकी सांसद मनकुमारी गुरुङले १८ मत प्राप्त गरिन् । नेपाल महिला संघ गोरखा जिल्ला सभापति मनकुमारीले सांसद विन्दुकुमार थापाको प्रस्ताव र ओमकला गौतमको समर्थनमा उम्मेदवारी दिएकी थिइन् ।

वाम गठबन्धनको बहुमत हुने अवस्थामा एउटा लोकतान्त्रिक विधिअनुसार आफूले उम्मेदवारी दिएको मनकुमारीले बताइन् । आफूहरुले प्रदेशको विकास र सकारात्मक कामका लागि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताइन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेको सबैभन्दा बढी २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जनाको प्रतिनिधित्व छ । एमालेको समर्थनमा मनाङबाट प्रदेश सभा सदस्य बनेका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ भने ज्यान मुद्धामा दोषी ठहर भइ फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment