Comments Add Comment

पूर्वकमलरी बनिन् उपसभामुख, भन्छिन्ः मान्छेको दर्जा नै पाइन्नथ्यो


६ फागुन, दाङ । जब प्रदेश ५ को उपसभामुखमा कृष्णी थारु विजयी भएको घोषणा गरे, प्रदेशसभा सदस्यहरुले ताली बजाए । लगतै थारुलाई खादा लगाई दिए ।

कृष्णीको भने गहभरी आँसु आइसकेको थियो ।

यो आँसु हर्षको थियो । साथसाथै विगतको पीडा सम्झेर उनी भक्कानिएकी थिइन् ।

बर्दियाकी थारु पूर्वकमलरी हुन् । उनले १८ वर्ष लामो कमलरी जीवन बिताउनुपर्‍यो । ‘सात वर्ष पुगेपछि म कमलहरी बने’ उनले भनिन्, ‘मेरो बुबाआमा त जीवनभर कमैया कमलहरीको रुपमा अरुको घरमा नै जीन्दगी बिताउनुभयो ।’

बर्दिया स्थित राजापुर ४ संघर्षनगर निवासी कृष्णीका श्रीमान पनि जीवनको धेरै समय कमैया बसेका थिए । ‘हाम्रो आफ्नो सम्पत्ति भन्ने केही थिएन’ नवनिर्वाचित उपसभामुखले विगत सम्झँदै भनिन्, ‘हामीले अरुका दास भएर बस्नुपर्ने बाध्यता थियो ।’

कृष्णीको १५ वर्षमा बिहे भयो । विहेपछि पनि उनी अरुकै घरमा कमलरीको रुपमा बस्नुपर्‍यो । ‘विहेपछि श्रीमानसँगै अरुको घरमा काम गर्न बसेँ’ उनले भनिन्, ‘मेरो कामको ज्याला हुँदैथ्यो, श्रीमानको साथै मैले पनि त्यही घरमा दिन बिताएँ ।’ त्यतिबेला श्रीमानको साथमा कमलरी बस्ने महिलालाई बुक्रही भनिन्थ्यो ।

विहेपछि १२ वर्ष उनी श्रीमानको साथमा अरुकै घरमा बुक्रही बसिन् । २०५७ सालमा सरकारले कमैया मुक्ति घोषणा गरेपछि मात्र कृष्णीको परिवारले साहुको घरबाट मुक्त भएको थियो । विगतका दुःख सम्झदै कृष्णी भन्छिन्, ‘कमलरी बस्दा मैले कैयौं दिन भोकै सुत्नुपर्‍यो, जाडोको समयमा पनि न्यानो कपडा पाइदैथ्यो ।’

‘मैले अवसर पाउनु ठूलो कुरा होइन । म जस्तै दासी जीवन बिताएकाहरुको पक्षमा के काम गर्न सक्छु, त्यो महत्वपूर्ण कुरा हो ।’

कृष्णीका दुई सन्तान छन् । छोरी १२ कक्षामा पढ्छिन् भने छोरा कक्षा १० मा पढ्छन् । उपसभामुख कृष्णीले अनलाइनखबरसँग भनिन्, ‘अहिले श्रीमानले सानो किराना पसल गरिरहनुभएको छ, मैले राजनीति, समाजसेवाका साथै घरमा काम गर्छु ।’

अहिले पनि कृष्णीको परिवारसँग साढे दुई कट्ठा जग्गा मात्र छ, जहाँ खेती गरेर खान पुग्दैन ।

तर, एमालेबाट प्रदेशसभा सदस्यसँगै उपसभामुख हुने अवसर पाएपछि उनी खुसी छन् । भन्छिन्, ‘पार्टीले मेरो उचित मूल्यांकन गरेको अनुभूति भएको छ । हामी जस्ता अरुको दास बनेकाहरु पनि राज्य सञ्चालन तहमा आउँदा रहेछौं भनेर खुशी लागेको छ ।’

कृष्णीले उपसभामुख भएपछि अवसर मात्र नभएर आफ्ना लागि चुनौती पनि थपिएको अनुभव गरेकी छन् । ‘म अनुभवविहीन छु तर, मसँग प्रशस्त आत्मविश्वास छ’ उनले भनिन्, ‘म पदको मर्यादा राखेर उदाहरणीय काम गर्न चाहन्छु ।’

उपसभामुख कृष्णीका अनुसार अहिले पनि धेरै मुक्त कमैयाले लालपूर्जा पाउन सकेका छैनन् । ‘कमलरी क्षेत्रको प्रतिनिधित्व गर्दै मैले मेरो पदमा रहेर धेरै काम गर्नुपर्ने छ’ कृष्णीले भनिन्, ‘मैले अवसर पाउनु ठूलो कुरा होइन । म जस्तै दासी जीवन बिताएकाहरुको पक्षमा के काम गर्न सक्छु, त्यो महत्वपूर्ण कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment