+
+
Shares

कर्मचारीले सहयोग गरे संघीयता सफल हुन्छ : सभामुख अधिकारी

अमृत सुवेदी अमृत सुवेदी
२०७४ फागुन ७ गते १२:५०

७ फागुन, पोखरा । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले संघीयता सफल हुने र नहुने जिम्मा कर्मचारीहरुको हातमा रहेको बताएका छन् ।

संघीयता कार्यान्वयनकै चरणमा प्रदेश सरकार गठन भइरहेकाले कर्मचारीको सहयोगबिना संघीयता सफल हुन नसक्ने उनको भनाइ छ ।

प्रदेश सभा सचिवालयका कर्मचारीका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा सभामुख अधिकारीले सिकाइ र अनुभवका हिसाबले सुरुवाती चरण भएकाले संघीयतछा कार्यान्वयन चुनौतीपूर्ण रहेको बताइ ।

‘संघीयता कार्यान्वयनमा हामी सिक्दै छौं,’ अधिकारीले भने, ‘कर्मचारीले सहयोग गरे हामी सिकेर सन्देेश दिन सक्छौं ।’

कर्मचारीले ठीक ढंगबाट प्रदेश सरकार सञ्चालनका लागि सहयोग गरे आफू सफल हुनेमा ढुक्क रहेको अधिकारीको भनाइ छ । प्रदेश सरकार संघीयताको जग बसाल्ने क्रममा रहेको बताउँदै अधिकारीले समाजवाद उन्मुख समृद्ध प्रदेशका लागि आफ्नो भूमिका रहने प्रस्ट्याए ।

प्रदेशको विकास र संघीयताको कार्यान्वयनका लागि सकारात्मक कुराको बढी प्रचार गरिदिने र जनतामा सकारात्मक सन्देश प्रवाह गरिदिन अधिकारीले आग्रह गरे ।

संसदबारे कर्मचारी र पत्रकारलाई तालिम

प्रदेशसभा तथा मन्त्रालय सञ्चालनका लगि सरकारले खटाएका सबै कर्मचारी आइसकेका छैनन् । आएका कर्मचारीमा पनि संसद कसरी सञ्चालन गर्ने भन्ने अन्योल उत्तिकै छ ।

संसद के हो र संसद सञ्चालन कसरी गर्ने ? यसमा केके कुरा हुन्छन् र यहाँका प्रक्रिया केके हुन्छन् भन्ने बुझाउन संघीय संसद सचिवालयले सोमबारदेखि अभिमुखीकरण कार्यक्रम राखेको छ ।

‘हामी अभ्यासकै चरणमा छौं । यो बेला हामीले प्रदेश सञ्चालनसम्बन्धी कर्मचारीलाईमात्रै होइन यसको सूचना प्रवाह गर्ने पत्रकारलाई पनि बुझाउनुपर्नेछ,’ प्रदेश सभा सञ्चालन गर्न सरकारले खटाएको कर्मचारी टोलीका संयोजक प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने, ‘प्रदेशसभा सचिवालयका कर्मचारीलाई प्रदेश सभा सञ्चालन गर्न सक्ने बनाएर हामी फर्कनेछौं ।’

संसदीय विज्ञ कर्मचारीको टोलीले संसदीय गतिविधिका विषयमा कर्मचारी र पत्रकारलाई बुझाउन कार्यक्रम गरिएको हो ।

संसदमा विधि व्यवस्थापन र संसदीय प्रक्रियामा सञ्चार जगतको भूमिका विषयमा सहसचिव बुढाथोकीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरे । प्रदेशसभा सचिवालय र संसदीय प्रक्रियाबारे आधारभूत जानकारी बुढाथोकीले कर्मचारीलाई दिँदैछन् ।

सांसद सुविधाका विषयमा संसदीय विज्ञ कर्मचारी टोलीका सदस्य तथा उपसचिव गोपाल सिग्देलले सहजीकरण गरे । संसदीय समिति, काम कारबाही र प्रक्रिया बारे संसदीय विज्ञ कर्मचारी टोलीका सदस्य अनन्त कोइरालाले प्रदेश सचिवालयका कर्मचारीलाई सामान्य तरिकाले बुझाउन लागेको बताए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?