Comments Add Comment

‘झापाली गुट’ को किचलोले प्रधानमन्त्रीको सचिवालय प्रभावित

दमक नगरपालिकाका हाकिम सिंहदरबार तानिए

८ फागुन, काठमाडौं । सोमबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा झापाका एमाले नेता देवराज घिमिरे दौरासुरुवालमा सजिएर पुगेका थिए । पार्टीमा केपी ओलीको ‘निजी सचिवालय हेर्ने’ जिम्मेवारी पाएका घिमिरे प्रधानमन्त्रीकाे स्वकीय सचिवको जिम्मेवारी पाउने आशमा बालुवाटार पुगेका हुन् ।

लामो समयसम्म केपी ओलीको सचिवालयमा रहेर काम गरेका र जनसम्पर्क समेत राम्रो बनाएका इन्द्र भण्डारीले पनि प्रधानमन्त्रीको स्वकीय सचिवको जिम्मेवारी पाउने अपेक्षा गरेका छन् ।

तर, आफूनिकट झापाली गुटका नेताहरुको खिचातानीका कारण प्रधानमन्त्री ओलीले स्वकीय सचिवालयको टीम बनाउन सकेका छैनन् । जसको असर प्रधानमन्त्रीको दैनिक कार्यक्रममै पर्न थालेको छ ।

घिमिरे र भण्डारी दुबैको व्यवस्थापन गर्नुपर्ने भाउँतो प्रधानमन्त्रीको काँधमा आइलागेको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवको दाबी गर्ने देवराज झापाका पुराना एमाले नेता हुन् । उनी राष्ट्रियसभाका पूर्वसदस्यसमेत हुन् । ०५४ सालताका एमालेका शंकर पोखरेल, कृष्णगोपाल श्रेष्ठ र विद्या भण्डारीहरु पार्टीको केन्द्रीय नेतृत्वमा आउँदै गर्दा देवराज उनीहरु भन्दा सिनियर थिए । यसअर्थमा उनले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा दाबी गर्नु अस्वाभाविक पनि होइन ।

उता इन्द्र भण्डारी क्षमताको हिसाबले घिमिरेभन्दा अगाडि रहेको एमालेजनको बुझाइ छ । तर, झापाका एमाले नेताहरुको यही विवादका कारण प्रधानमन्त्री ओलीले घिमिरे वा भण्डारीलाई स्वकीय सचिव बनाइहाल्न हतार नगरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार एमालेभित्र केपी ओली निकट झापालीहरुका विभिन्न गुट छन् । एउटा गुटमा अग्नि खरेल र चिन्तन पाठकहरु छन् भने अर्को गुटमा दीपक कार्की र हिक्मत कार्कीहरु छन् । यसपालि सांसद जितेका एलपी साँवाहरुको नयाँ गुट जन्मिएको छ । यी गुटहरुको वीचमा देवराज घिमिरे छन् ।

निजी सचिवालयमा दमक नगरपालिकाका कर्मचारी

प्रधानमन्त्री केपी ओलीले सरकारी कर्मचारी रहने आफ्नो निजी सचिवालयमा आफ्नै गृहनगरे दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाललाई तानेका छन् । अहिले उनै दाहालले सिंहदरबारमा प्रधानमन्त्री कार्यालयको काम सम्हालेको स्रोत बताउँछ । तर, प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ भने नयाँ नियुक्ति हुन सकेको छैन ।

प्रधानमन्त्री हुनुअघिसम्म केपी ओलीको स्वकीय सचिवालयमा राजेश बज्राचार्य, चेतन अधिकारी र अनिष दाहाल खटिएका थिए । अहिलेसम्म उनीहरुले नै स्वकीय सचिलायल धानिरहेका छन् ।

प्रधानमन्त्रीको निकटमा को रहने भन्नेबारे झापाली गुटमा हानाथाप भएकै कारण ओलीले झापाभन्दा बाहिरबाट विकल्प खोज्न लागेको स्रोतले बतायो ।

झापाली गुटभित्रका आफूनिकट केही नेताहरुलाई भने ओलीले व्यवस्थापन गरिसकेका छन् । उनले हिक्मत कार्कीलाई प्रदेश १ को आन्तरिक मामिला मन्त्रीमा व्यवस्थापन गरेका छन् भने पूर्वमन्त्री अग्नि खरेललाई महान्यायाधिवक्ता बनाएका छन् ।

यसैवीच प्रधानमन्त्री ओलीले परराष्ट्र र सुरक्षा दुबै हेर्ने गरी झापा बाहिरका डा. राजन भट्टराईलाई सल्लाहकारमा ल्याउन लागेको एमालेनिकट स्रोतको भनाइ छ । यस्तै राजनीतिक एवं प्रशाशनिक सल्लाहकारका रूपमा नुवाकाेटका विष्णु रिमाललार्इ ल्याउने तयारी छ ।

मुख्यसचिवलाई बाइपास, सचिवबाट ब्रिफिङ

प्रधानमन्त्री केपी ओलीले दैनिक ब्रिफिङमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई बाइपास गरेका छन् । उनले प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईबाट दैनिक बि्रफिङ लिइरहेका छन् ।

मुख्यसचिव रेग्मीले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर अनुचित निर्णयहरुमा साथ दिएको भन्दै प्रधानमन्त्रीले उनलाई नरुचाएको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment