Comments Add Comment

नेपाली सडकमा अमेरिकाको ‘पेभमेन्ट रिसाइक्लिङ’ प्रविधि

पुरानो कालोपत्रे उप्काएर पुनप्रयोग गर्ने सरकारी तयारी


१० फागुन, काठमाडौं । नेपालले सडक निर्माण र मर्मतमा नयाँ प्रविधि भित्र्याउँदैछ । विश्व बैंकले ल्याएको ओटासिल प्रविधि ‘फेज आउट’ हुँदै गर्दा अमेरिकी अग्रसरतामा ‘पेभमेन्ट रिसाइक्लिङ’ भित्र्याउन लागिएको हो ।

अहिले कुनै सडक र राजमार्गहरुको अवस्था गतिलो छैन । कालोपत्रे गर्नासाथ उप्किने र सडकमा ढिस्को उठ्नेलगायत समस्याको दोष नागरिकले सरकारमाथि लगाउँछन् र सरकारले ठेकेदारमाथि । अनि, ठेकेदार सरकारलाई नै दोष दिएर उम्किन्छन् ।

दोष जसको भए पनि अधिकांश सडक नाजुक अवस्थामा छन् । कालोपत्रे नटिक्ने समस्याले सडकको कन्तविजोग हुँदा दुर्घटना पनि बढ्दो छ । कालोपत्रे गरिएकै सडकहरु सुरक्षाका हिसाबबाट कमजोर छन्, जसले करोडौं लगानी खेर गइरहेको छ ।

यही अवस्थामा अमेरिकाले ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गत्को कम्प्याक्ट कार्यक्रममार्फत् ‘पेभमेन्ट रिसाइक्लिङ’ प्रविधि ल्याउन लागेको हो ।

नयाँ प्रविधिमार्फत् तीन सय पाँच किलोमिटरको मर्मत/सुधार गर्ने सरकारी योजना छ । सडक विभागका इन्जिनियरहरुले पनि उक्त प्रविधि आत्मसात गर्नेछन् ।

त्यसलाई सडक विभागले नयाँ प्रविधिको ‘सिकाइ’का रुपमा ग्रहण गर्नेछ । उपयुक्त ठहर भएमा त्यसलाई प्रयोगमा ल्याइने विभागले जनाएको छ । उक्त प्रविधिलाई शुरुमा हेटौंडा–पथलैया सडकको आठ किमि खण्डमा प्रयोग गरिँदैछ ।

अफिस अफ मिलिनियम च्यालेन्ज कर्पोरेसन नेपाल (ओएमसीएन)का संयोजक तुलसीप्रसाद सिटौलाका अनुसार उक्त प्रविधिको प्रयोगबारे एक परामर्शदाता कम्पनीले अध्ययन गरिरहेको छ । अध्ययन सकिएपछि त्यसलाई पथलैयानजिकको सडकमा प्रारम्भिक परीक्षण गरिनेछ ।

के हो पेभमेन्ट रिसाइक्लिङ ?

सडकको अस्फाल्ट कालोपत्रे निकालेर त्यसमा नयाँ अस्फाल्ट र अन्य रसायनहरू थपी सडकलाई पुनः कालोपत्रे गर्ने प्रविधि हो, ‘अस्फाल्ट पेभमेन्ट रिसाइक्लिङ’ । यो विभिन्न मुलुकले प्रयोगमा ल्याएका छन् ।

तथापि, कालोपत्रेको अस्फाल्ट प्रविधि नै हो यो । कमजोर बनेको कालोपत्रे निकालेर रिसाइक्लिङ गर्दा नयाँ पिच हाल्नुभन्दा सस्तो पर्न जान्छ । तर, त्यसमा थप नयाँ गिटी र बिटुमिनका साथमा रसायनहरु पनि राख्नुपर्छ ।

यस प्रविधिमार्फत् कालोपत्रे हुने सडकको सतह मात्र नभई गहिराइसम्मै पुनर्निर्माण हुन्छ । त्यसैले यसले सडकमा उबडखाबड हुने अहिलेको समस्या हटाउने सरकारी विश्वास देखिन्छ ।

यस्तै, सवारीको बढी चाप पर्ने उकालो/ओरालो र चिसोका कारण दलदल हुने क्षेत्रमा ‘सिमेन्ट स्टाबिलिटी’ प्रविधि पनि अपनाइन्छ । सडकको तल्लो भागमा सिमेन्ट हालेर माटोलाई स्थायी बनाउन यसले मद्दत पु¥याउँछ । त्यसबाट सडकको आयु बढ्ने भएकाले पटक–पटक मर्मत गर्ने झण्झट कम हुन्छ । यसलाई वातावरणीय र आर्थिक दृष्टिकोणबाट पनि उपयुक्त मानिन्छ ।

 चारआली–फिदिम, धरान–वसन्तपुर, लहान–गाईघाट, हेटौंडा–भीमफेदी र अमेलिया–तुलसीपुर सडक नयाँ प्रविधिबाट मर्मत हुने

पुराना सामग्री पनि नयाँजत्तिकै टिकाउ रहन्छन् । अस्फाल्ट जति पुरानो भयो, त्यति नै बलियो हुने दाबी केही विशेषज्ञको छ । यस प्रविधिमा इन्धनको खपत कम हुन्छ । र, हानीकारक हरितगृह ग्यासको उत्सर्जन पनि सीमित रहन्छ ।

पाँच वटा सडकमा नयाँ प्रविधि

नयाँ प्रविधि प्रयोग गर्ने गरी एमसीसीमार्फत् पाँच वटा सडक आयोजना सञ्चालन हुँदैछन्, चारआली–फिदिम, धरान–वसन्तपुर, लहान–गाईघाट, हेटौंडा–भीमफेदी र अमेलिया–तुलसीपुर । ती सबैको मर्मतमा सोही प्रविधि प्रयोग गर्ने सरकारी योजना छ ।

परियोजना शुरु भएको पाँच वर्षसम्म एमसीसीअन्तर्गत् नै सडकहरुको मर्मत गरिनेछ । अहिले भने एमसीसी कार्यक्रम विकासकै क्रममा छ ।

अब नेपालले परियोजना सञ्चालनका लागि छुट्टै बोर्ड ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ (एमसीए) स्थापना, जग्गा प्राप्ति र ठेक्का लगाउनेलगायत काम गर्नुपर्नेछ ।

वर्षदिनभित्र सबै तयारी सकेर निर्माणको चरणमा जाने योजना रहेको सिटौला बताउँछन् । निर्माण शुरु भएको पाँच वर्षसम्म आयोजनाहरु सम्पन्न नभए बाँकी अनुदान अमेरिका नै फर्किनेछ ।

नेपाल एमसीसी कार्यक्रमका लागि यसअघि नै छनोट भएर परियोजनाहरु अगाडि बढाउने चरणमा छ । अमेरिकाको ५१ अर्ब ३८ करोड रुपैयाँ अनुदान लिएर नेपालले ‘हाई भोल्टेज’ प्रसारणलाइन निर्माणसहित सडक सुधारको परियोजना अगाडि बढाउँदैछ । सरकारले थप १३ करोड अमेरिकी डलर अर्थात् १३ अर्ब रुपैयाँ योगदान गर्दैछ ।

अमेरिकाले पहिलो चरणमा एकमुष्ठ कुनै एक मुलुकलाई कम्प्याक्ट कार्यक्रमका लागि दिएको योे रकम एमसीसीकै इतिहासमा सबैभन्दा ठूलो हो । यो कार्यक्रमलाई गति दिन अमेरिकी परामर्शदाताहरुको टोली जनवरीमै नेपाल आएर काम थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment