Comments Add Comment

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

११ फागुन, नुवाकोट । एक जना नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

पञ्चकन्या गाउँपालिका-५ साविक भदुरटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएका छन् ।

चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी मुद्दामा विसं २०१८ साल चैत ६ गते जन्मिएका तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतको विसं २०१५ साल जेठ १८ को फैसलाले छ (६) महिना कैद र दुई हजार ४२३.५० जरिवाना सुनाएको भन्दै फैसला कार्यान्वयनको क्रममा उनलाई बुधबार जेल चलान गरिएको छ ।

अदालतको फैसलाले दोषी ठहर भएका व्यक्ति खोजी गर्ने क्रममा तामाङलाई बुधबार प्रहरीले भदु्रटारस्थित घरबाट पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएको थियो । उनीसँग जरिवानाबापतको रकम असुल गरी कैद भुक्तानीका लागि नुवाकोट कारागार चलान गरेको अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।

‘दोषी ठहर भएका व्यक्ति यहीँ हो भनेर प्रहरीले उपस्थित गरायो’ विष्टले भने , ‘उनले पनि गल्ती स्वीकार गरेकाले कारागार पठाएका हौं ।’

जन्मनु भन्दा तीन वर्ष अघिको मुद्दामा दोषी ठहरिएर जेल गएका सानुवीरेका छोरा प्रेमबहादुर तामाङले निर्दोष बुबालाई जेल पठाएको भन्दै प्रहरी र अदालतमा पुगे पनि न्यायिक प्रक्रियबाट अघि बढ्न सुझाव दिएका छन् ।

‘राउतबेशी गाविस–८ मा जन्मिएका बुबाले विसं २०४४ मा गाउँखर्क गाविस-३ बाट नागरिकता बनाउनुभएको छ ।’ प्रेमबहादुरले भने, ‘२०४६ देखि भदु्रटार आएर बसेका हौं । यता नयाँ मान्छे देखेर ‘नौले’ भन्ने गरेका थिए, अहिले नाम मिल्यो भनेर प्रहरीले जेल पठायो ।’

निर्दोष व्यक्ति जेलमा जानु परेको भन्दै परिवारले रिहा गर्न आग्रह गरेपनि प्रहरी र अदालतले बन्दीप्रत्यक्षीकरण रिटमार्फत उच्च अदालतमा जान सुझाव दिएका छन् । कमजोर आर्थिक अवस्था र शिक्षाको ज्ञान नभएको तामाङ परिवार अहिले अन्यौलमा परेका छन् ।

न्यायिक निकायबाट दोषी ठहर भएका तथा अभियुक्त रहेर फरार भएकालाई पक्राउ गर्न नुवाकोट प्रहरीले माघ २८ देखि ‘विशेष अभियान’ चलाइरहेको छ । जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले फरार दोषी तथा अभियुक्तले समातिएपछि बच्न विभिन्न हर्कत अपनाउने गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment