Comments Add Comment

काठमाडौं पनि पुग्न नसक्ने थोत्रा गाडी मात्र छन् : मुख्यमन्त्री पौडेल

१३ फागुन, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारसामू साधन स्रोतको अभाव रहेको बताएका छन् । मन्त्रीहरुलाई समेत थोत्रा गाडी दिइएको, जुन काठमाडौं पुग्न पनि नसक्ने अवस्थामा रहेको उनले सुनाए ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै अब फास्ट ट्र्याकबाट ऐन कानुन बनाउने प्रस्ताव अघि सारेका छन् । उनले भने, ‘जबसम्म ऐन कानुन निर्माण गर्न सक्दैनौं, त्यसबेलासम्म आफ्ना गतिविधि बढाउन कठिन छ । त्यसैले छिटे ऐन कानुन बनाउन जरुरी छ ।’

एउटै ऐन कानुन बनाउन महिनौं लगाउने हो भने प्रदेश संरचना नै असफल हुने भन्दै मुख्यमन्त्री पौडेलले फास्ट ट्र्याकबाट ऐन कानुन बनाउने बनाउनु पर्नेमा जोड दिएका छन् ।

समृद्धिको नारा दिएर चुनावमा गएको भन्दै उनले यसलाई प्राप्त गर्न विशेष कार्ययोजना बनाउन जरुरी रहेको बताए । उनले अघि भने, ‘हामी बडो संकटमा छौं । ऐन कानुन छैन । सबैभन्दा ठूलो समस्या भनेको कर्मचारी नै छैन ।’

कर्मचारी नहुँदा संसद र मन्त्रालयहरु चलाउन नसक्ने अवस्था आएको उनले बताए । मुख्यमन्त्री पौडेलले भने, ‘बाटामा गुडिरहेको थोत्रा गाडीहरु समाउँदै मन्त्रीलाई दिने काम भएको छ । जुन थोत्रा गाडी काठमाडौं पुग्न पनि नसक्ने अवस्था छ ।’

‘समृद्धिका लागि प्रतिपक्षमा छैनौं’

प्रमुख विपक्षी दलका नेता इन्द्र बानियाँले समृृद्धिका लागि सरकारले गर्ने सकारात्मक कुरामा कांग्रेसको सहयोग रहने बताए ।

उनले भने, ‘राजनीतिमा अनेकता होला तर, समृृद्धिका लागि प्रतिपक्षमा छैनौं, शान्ति सुरक्षामा प्रतिपक्ष छैनौं ।’

राष्ट्रियसभाका तीन सदस्यको सिफारिस अड्काएर राष्ट्रपतिले संविधानलाई चुनौती दिएको आरोप लगाए । बानियाँले अघि भने, ‘राष्ट्रपति पनि संविधानको अधिनमा रहनुपर्छ ।’

बैठकमा प्रदेशसभा नियमावलीको मस्यौदा पेश भएको छ । त्यसमा संशोधन हाल्न १६ घण्टा समय दिइएको छ । प्रदेशसभाको अर्को बैठक भोलि ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment